हाम्रो पालिकामा तिव्र विकास हुँदै गएकोले युवाहरु पलायन हुन छाडेका छन् – अध्यक्ष मल्ल
ताँजाकोट गाउँपालिका कर्णाली प्रदेश हुम्ला जिल्लाको दक्षिण पश्चिम दिशामा अवस्थित छ । यो गाउँपालिका मुगु र बाजुरा जिल्लाको सिमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटबाट ४८ कोष टाढा छ । प्राकृतिक रूपमा सुन्दर रहेको यस गाउँपालिकामा ५ ओटा वडा छन् । यस गाउँपालिका अध्यक्ष हुन् बाग्दाल मल्ल । स्वास्थ्य, शिक्षा, सडक र कानुन निर्माण लगायतका क्षेत्रलाई प्राथमिकता दिएर गाउँपालिकाले काम गरेको अध्यक्ष मल्ल बताउँछन् । उनै अध्यक्ष मल्लसँग गाउँपालिकाले हालसम्म गरेका उपलब्धि, विकास निर्माणको काम र भावी योजनाबारे विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् : अब कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नु भयो कि भएन ? हामी निर्वाचित भएपछि पालिकामा जति विकास निर्माणको काम गर्छौं भनेका थियौं त्यो अनुसार काम हुन सकेन । स्थानीय तहको नयाँ संरचना, कर्मचारीको व्यवस्थापन, ऐन कानुन बनाउन केही समय लाग्यो । यस पश्चात हामीले पालिकामा विकास निर्माणको कामलाई तीव्रता दियौं । हामीले गरेका कामबाट नागरिकहरू पनि सन्तुष्ट भएको पाएको छु । निर्वाचित भएर आएपछि पालिकामा शून्य अवस्थाबाट विकास काम सुरु गरेका थियौं । कर्णाली प्रदेशको हुम्ला जिल्ला सबैभन्दा दुर्गम मानिन्छ । सोचेको लक्ष्य अनुसार काम नभएका कारण असफल भइयोकि भन्ने महसुश हुन्छ । तपाईंहरू निर्वाचित भएर आएको ४ वर्षभन्दा बढी भएको छ, यसबिचमा ताँजाकोट जनताले विकासमा कस्तो अनुभूति गरे ? संघियता आइसकेपछि मुलुकमा विकास निर्माणको कामले असाध्यै तीव्रता लिन्छ भन्ने हामी सबैको आशा तथा अपेक्षा थियो । र, लामो समयसम्म जनप्रतिनिधिको अभावले कर्मचारी तन्त्रबाट र राज्य सत्ताबाट चलिरहेको थियो । स्वाभाविक ढंगले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि विकासले एउटा गति लिएको छ । र, जनताको अपेक्षा पनि धेरै बढेको छ । जनताहरू पनि खुसी नै हुनुहुन्छ तर पनि मान्छे तृप्त भन्ने हुँदैन । जनताको आवश्यकता गुनासोलाई संवोदन गर्दै अगाडि बढेका छौं । क्रमिक रूपमा पालिकामा हिजो भन्दा आज परिवर्तन र विकास हुँदै गएको छ । तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् नी ? हामीले पूर्वाधार विकासमा धेरै राम्रो काम गरेका छौं । पालिकाको प्रत्येक वडामा स्वास्थ्य संस्थाको स्थापना गरी नागरिकहरूलाई सहज रूपमा स्वास्थ्यको पहुँच पुर्याएका छौं । यहाँका धेरै युवाहरू रोजगारीको लागि अन्य मुलुक गएका छन् । विकास निर्माणको काम तिव्र गतिमा पालिकामा नै हुन थालेपछि पलायन हुने क्रम पनि धेरै रोकिएको छ । कामको धेरै प्रतिफल नआए पनि कृषि क्षेत्रमा धेरै काम गरेका छौं । बिजुली विस्तार काम भएको छ र जनताको घरमा खानेपानीको पुर्याउने काम भएको छ । हामीले पालिकाको प्रत्येक वडामा सडकको सञ्जाल पुर्याएका छौं । बिजुली नपुगेको नागरिकको घरमा पालिकाले सोलर खरिद गरी अनुदान स्वरुप वितरण गरेको छ । हाम्रो कार्यकालको अन्तिमसम्ममा पालिकाको प्रत्येक नागरिकहको घरमा बिजुली पुर्याउने लक्ष्य राखेका छौं । आउँदो निर्वाचनमा नागरिकको घरमा बिजुली नपुर्याई भोट माग्न आउँदिन भनेको छु । तपाईंको पालिका पर्यटकीयस्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । पालिकामा पर्यटन मार्गको सुरुवात गरेका छौं । सबै ठाउँमा सडक नपुगेको कारण पर्यटकिय क्षेत्रमा पनि केही समस्या देखिएको छ । यस क्षेत्रतर्फ राम्रो कामको सुरुवात गरेका छौं । हालसम्म कति ऐन–कानुन बनाउनुभयो ? पालिकाको आवश्यकता अनुसार ऐन–कानुनको निर्माण गरेका छौं । हालसम्म पालिकामा २० ओटा ऐनको निर्माण भएको छ । गाउँपालिकालाई आवश्यक पर्ने सबै ऐन, कानुन बनाएका छौं । कार्यविधि बनाएर अगाडि बढिरहेका छौं । कार्यविधि त आवश्यकताअनुसार बनाउँदै जाने कुरा पनि हो । प्रदेश र संघ सरकारसँगको सहकार्य कस्तो रह्यो ? संघी सरकारसँगको समन्वय राम्रो छ । संघबाट आएको बजेटले पालिकाको विकासको गतिलाई तिव्रता दिएका छौं । प्रदेश सरकारसँग पालिकाको धेरै राम्रो समन्वय हुन सकेन । गत आर्थिक वर्षमा कति योजना तर्जुमा गर्नु भएको थियो, कति योजनाहरू सम्पन्न गर्नुभयो ? गत आर्थिक वर्षमा हामीले करिव ९७ ओटा योजनाको तर्जुमा गरेका थियौं । उक्त योजनामध्ये धेरै काम पुरा भएका छन् भने केही पुरा हुने क्रममा छन् । टेन्डरका कामहरू चलिरहेका छन् भने धेरैजसो योजनाहरू सम्पन्न भइसकेको अवस्था छ । कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ? कोभिड हाम्रो पालिकामा पनि भयावह रूपमा फैलिएको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमत पनि भएका छन् । पहिलो वर्ष ७५ लाख रुपैयाँ खर्च भएको छ । संक्रमितको उपचार खाने, बस्ने, औषधी, राहत, क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनको लागि दोस्रो लहरमा ९० लाख रुपैयाँ जति खर्च भएको छ । स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ? स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । पालिकामा युवा लक्ष्ति गर्दै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । उक्त रोजगार कार्यक्रम अन्तर्गत यहाँका धेरै युवाहरुले रोजगार पाएका छन् । युवा उद्यमशीलता वृद्धि गर्ने पशु र कृषिमा आकर्षण वृद्धि गर्ने लक्ष्यका साथ गाउँपालिका अगाडी बढेको छ । पालिकामा विस्तरै साना तथा मझौला उद्योग स्थापना हुँदै छन् । उक्त उद्योग मार्फत पनि धेरै युवाहरुले रोजगारी पाउने आशा छ । पालिकाले विभिन्न स्वरोजगारका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । स्वरोजगार बन चाहने युवाहरूलाई हामीले ऋणको पनि व्यवस्थापन मिलाएका छौं । व्यवसायकीक बन्न चाहने युवाहरूको लागि सुलब ब्याजदरमा ६ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउन सक्छौं । अन्त्यमा, पालिकावासीलाई के भन्न चाहनुहुन्छ ? स्थानीय सरकार सञ्चालन भइसकेपछि हामीले पारदर्शीको कुरालाई एकदमै ख्याल गरेका छौं । गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले सरसल्लाह सुझाव पनि दिन अनुरोध गर्छु । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि अनुरोध गर्छु । अनि नेपालीहरूको महान् चाड वडा दशैं, शुभ–दीपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा देशविदेशमा बसोबास गर्नुहुने सम्पूर्ण गाउँबासी दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
‘हाम्रो पालिकाका सबै वडामा कार्यालय सहयोगीले नै सचिवको काम गर्छन्’
पुथा उत्तरगंगा गाउँपालिका लुम्बिनी प्रदेशअन्तर्गत पूर्वी रुकुम जिल्लामा पर्छ । यस गाउँपालिकाका अध्यक्ष हुन् ओम प्रकाश घर्ती । उनी निर्वाचित भएर आइसकेपछि शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरिरहेका छन् । तर, कुनै पनि वडामा सचिव नभएका कारण कार्यालय सहयोगीले सचिवको काम गरी सेवा प्रवाह गरेको अध्यक्ष घर्ती बताउँछन् । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो बिचमा उनको लक्ष्यअनुसार काम नभएको भन्दै असन्तुष्टी व्यक्त गर्छन् । यसैक्रममा गाउँपालिकाले अघि सारेका विकास निर्माणका काम, सम्भावना, चुनौती, कर्मचारी व्यवस्थापन लगायत विषयमा केन्द्रित रहेर उनै अध्यक्ष घर्तीसँग विकासन्युजका लागि राजिव न्यौपानेले कुराकानी गरेका छन् । गाउँपालिकाको अध्यक्ष भएपछिको सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ? स्थानीय तहको संरचना बनिसकेपछि गाउँपालिकाको प्रमुखको रूपमा निर्वाचित भएँ । त्यो बेला गाउँपालिकाको अवस्था निक्कै जीर्ण थियो । संघीयताको पहिलो पहिचान, कर्मचारीको व्यवस्थापन, प्रशासनिक भवन नभएको कारणले गर्दा धेरै चुनौती र समस्या भएको मलाई अनुभव छ । हामी त्यो बेला अन्योलताको साथ नै अगाडि बढ्यौं । कतिपय असहज परिस्थितिका बाबजुद हामी निर्वाचित भएको पनि चार वर्ष पूरा भएको छ । गाउँपालिकाको अध्यक्ष भएर काम गर्दा के–कस्ता कठिनाइहरू आइ परे ? काम गर्दा हरेक पाइलापाइलामा कठिनाइ हुने रहेछ । हाम्रो गाउँपालिका भौगोलिक हिसाबले पनि दुर्गम छ । यहाँ सिटामोल पाउन समेत गाह्रो छ । अशिक्षित, गरिबीका कारण अझै पालिकाको मुहार फेरिन सकेको छैन । राम्रो काम मन नपराउने मान्छे पनि समाजमा छन् । अन्य स्थानीय तहको तुलनामा पालिका धेरै पिछाडिएको छ । पालिकामा धेरै समस्या छ । अझै पनि पालिकामा विकासको गतिले तीव्रता पाउन सकेको छैन । तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् ? पूर्वी रुकुम जिल्लाको सबैभन्दा पिछडिएको गाउँपालिका हाम्रो हो । हामी निर्वाचित भएपछिको पहिलो बैठकमै शिक्षा, स्वास्थ्य, कृषि आदि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्छौं भन्ने निर्णय गरेका थियौं । त्यो निर्णय बमोजिमनै काम भएको छ । शिक्षा क्षेत्रमा पालिकाले ५ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । उक्त बजेटबाट पालिकाले शैक्षिक गुणस्तरका लागि खर्च गर्दै आएको छ । शिक्षालाई व्यवस्थित गर्न दरबन्दी नभएको स्थानमा निमावि र माविमा अस्ताइ दरबन्दी तथा करार शिक्षकको व्यवस्था गरी पढाइलाई सहजीकरण गरेका छौं । पालिकाले २ जना इन्जिनियरी बढ्ने विद्यार्थीहरूलाई निःशुल्क पढाउँदैछ । हामीले पालिकाको प्रत्येक वडामा सडक पुर्याउने पहल गरी रहेका छौं । हालसम्म पालिकाको वडा नं. १०, १२, १३, १४ मा मात्र सडक सञ्जाल पुगेको छ भने अन्य वडामा सडक पुगेको छैन । पालिकामा १४ ओटा वडा छन् । यी प्रत्येक वडामा बिजुली पुर्याउने लक्ष्यमा छौं । हाम्रो कार्यकालको अन्तिमसम्ममा पालिकाको प्रत्येक वडामा बिजुली पुर्याउँछौं । तर, हाम्रो सोच र लक्ष्य अनुसार काम हुन सकेन । लक्ष्य अनुसार काम नभएको कारणले म असन्तुष्ट छु । अनि कृषि क्षेत्रमा कस्तो काम भएका छन् नि ? पालिकामा परम्पराबादि कृषि खेती छ । यहाँ वर्ष भरी काम गरेर पनि खान नपुग्ने अवस्था छ । पालिकाले कृषिका विभिन्न कार्यक्रमहरू पनि अगाडि बढाएको छ । यहाँका धेरै नागरिकहरू कृषि पेशमा आधारित रहेको पाइन्छ । पालिकाले पनि कृषकहरूलाई सहयोग गरेको छ । कृषि क्षेत्रमा पनि केही समस्या भएका कारण उक्त क्षेत्रतर्फ उत्कृष्ट काम गर्न सकेका छैनौं । सकेसम्म पालिकाले कृषि क्षेत्रमा पनि राम्रो काम गर्ने प्रयास गरी रहेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ? गाउँपालिकाले कोभिडको पहिलो र दोस्रो लहर रोकथाम र नियन्त्रण गर्नको लागि बजेट त धेरै खर्च गर्याे तर, बजेटको खर्च अनुसारको उपलब्धि भने देखिएन । पहिलो लहरमा नै पालिकाले लगभग ८० लाख रुपैयाँ खर्च गरेको छ । दोस्रो लहरमा कति खर्च भयो भनेर छलफल गरेका छैनौं । मलाई लाग्छ यो वर्ष पनि धेरै खर्च भएको छ । गाउँपालिकाले किन विकास निर्माणको काममा फड्को मार्न सकेन ? हाम्रो पालिकामा १४ ओटा वडा छन् । झन्डै नगरपालिकाको भन्दा धेरै वडा छन् । भौगोलिक विकटता छ बजेट सीमित छ । बेजेट पनि अन्य स्थानीय तहको तुलनामा कम आउँछ । यहाँ भ्रष्टाचार मैलाएको देखिन्छ । वर्षमा ६ देखि ८ करोड रुपैयाँसम्म मात्र बजेट आउने गर्छ । यति बजेटले मात्र पालिकाको विकास सम्भव छैन । सीमित बजेटको कारणले नै पालिकामा विकास निर्माणको कामले गति लिन सकेन । संघ र प्रदेश सरकारले स्थानीय तहलाई हर्ने दृष्टिकोण कस्तो पाउनु भयो नि ? संघ र प्रदेश सरकारले स्थानीय तहलाई हर्ने दृष्टिकोण फरक छ । हाम्रो पालिका भूगोलको हिसाबले पनि ठुलो छ । बजेट सीमित आउँछ । हाम्रो पालिकामा मान्छे नै छैनन्, विकास नगर्दा पनि हुन्छ भन्ने तरिकालेसंघ र प्रदेश सरकारले बुझ्यो । प्रदेशका नेताहरू पनि भोट माग्न आउँदा आकाश नै झार्दिउँला जस्तो कुरा गर्छन् । चुनावमा विजयी भएपछि वास्ता गर्दैनन् । संघ र प्रदेश सरकारसँग पनि राम्रो समन्वय हुन सकेन । संघ र प्रदेश सरकारले पनि विकसित पालिकालाई मात्र सहयोग गर्ने देखियो । दुर्गम स्थानीय तहलाई फर्केर पनि हेरेन । आगामी दिनका योजना के छन् ? हामीले सञ्चालन गरेका तर पुरा नभएका केही योजनाहरू पुरा गर्ने छौं । पालिकाको प्रत्येक नागरिकको घरमा बिजुली पुर्याउने लक्ष्य राखेका छौं । स्वास्थ्य क्षेत्रमा राम्रो काम गर्ने हो । हरेका क्षेत्रमा थोरै भए पनि परिवर्तन गर्नतर्फ हाम्रो ध्यान केन्द्रित छ । पालिकामा कर्मचारीसँगको समन्वय र कर्मचारीको अभाव अझै पनि छ र ? कर्मचारीसँग पनि मेरो धेरै राम्रो समन्वय हुन सकेन । हालसम्म पनि पालिकाको कुनै पनि वडामा सचिव छैनन् । मेरो कार्यकाल भर सचिव पनि हुँदैन जस्तो मलाई लाग्छ । कार्यालय सहयोगीले सचिवको काम गरिरहेका छन् । हाम्रो गाउँपालिकालाई योजनाबद्ध ढंगले असफल बनाउन खोजिएको देखिन्छ । प्रमुख कार्यकारी अधिकृतले कर्मचारी माग बेलमा नगर्ने, समय सकिएपछि कर्मचारी माग गर्ने र माथिल्ला निकायले पनि बस्ता नगरेकाले समस्या भयो । कर्मचारी नभएको कारणले नै सेवा प्रवाहमा पनि समस्या भएको छ । कार्यकारी अधिकृतले कर्मचारी व्यवस्थापन गरेको छु भन्ने तर कामनै नगर्नाले समस्या भयो । दुर्गम ठाउँ भएकाले पनि कर्मचारी आउन मान्दैनन् । विकास निर्माण गर्नको लागि सबैको सहयोग चाहिन्छ तर यहाँ यस्तो भएन । अन्त्यमा, के भन्न चाहनु हुन्छ ? के भन्न चाहन्छु भने हामीले राम्रो काम गर्न खोजेका थियौं । तर, त्यसलाई प्रभावकारी बनाउन सकिनौं । विकास भनेको क्रमिक रूपमा हुने कुरा पनि हो । भौगोलिक विकटता र दक्ष जनशक्तिको अभावका कारण यहाँ धेरै समस्या देखापरे । यस्ता समस्याको समाधान गर्नको लागि पालिका लागि परेको छ । यस्तो परिस्थितिमा निर्वाचित जनप्रतिनिधिले सरोकारवालाको सहभागिता, बलियो समन्वय र गतिशील नेतृत्वका माध्यमबाट थप सुधारात्मक नतिजा प्राप्त गर्न सुझबुझका साथ थप मिहिनेत गर्नुपर्छ । सदैव सुझाव, सल्लाह र साथ सहयोग गरी सहकार्य गर्नुहुन सवैमा हार्दिक अनुरोध गर्न चाहन्छु ।
बाल अस्पताल निर्माण गर्न काठमाडौं महानगरले दियो ४ करोड
काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल अस्पताल निर्माण गर्न काठमाडौँ महानगरपालिकाले ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । महानगर बाहिरबाट उपचारका लागि काठमाडौँ धाउँदा विरामीले भोग्नुपर्ने दुःख र परिवारले झेल्नु पर्ने आर्थिक बोझ कम गर्न बुढानिलकण्ठमा निर्माण हुने सो अस्पताललाई आर्थिक सहयोग गरिएको महानगरले जनाएको छ । सहयोग सम्बन्धी सम्झौतापछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘मुलुक संघीयतामा गैसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्छ । आफ्नै ठाउँमा विशेषज्ञ स्वास्थ्य सेवा पाउने वातावरण निर्माणका लागि संघीय सरकार र प्रदेश सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्छ । संघीय राजधानी भएकोले हामीले आवश्यकता र मागका आधार प्रशस्तै लगानी गरेका छौँ । थप लगानीका लागि हामी तयार छौँ ।’ ‘बाल रोग विशेषज्ञहरु मिलेर बालबालिकाको उपचारका लागि पूर्वाधार तयार गर्दैहुनुहुन्छ । सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा दिने गरी अघि बढ्नुहोला हामी सहयोगको हात अझै अघि बढाउन तयार छौँ ।’ प्रमुख शाक्यले सहयोगको सन्दर्भपछि कोभिड र डेङ्गुलगायत महामारी नियन्त्रण गर्न सरकारी र सामुदायिक अस्पताललाई प्राविधिक क्षमता बढाउन सहयोग गरेको विगत अभ्यासमा चर्चा गरेका थिए । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोइरालाले नेपालको विद्यमान स्वास्थ्य सेवाले गरिरहेको योगदानलाई थप व्यवस्थित गरेर सबै प्रकारका बाल रोग उपचार व्यवस्थाको अभियाननमा लागेको बताए । ‘बालरोगविज्ञहरुलाई एउटै छानामुनि राखेर काठमाडौँबाट सेवा दिने सामूहिक सपनालाई मूर्तरुप दिन हामीले यो अस्पताल निर्माणको अभियान अघि बढाएका हौँ । यो अभियान हरेक प्रदेशमा विस्तार हुनेछ ।’ डा. कोइरालाले भने, ‘काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगले काठमाडौँमा हाम्रो सपना पूरा हुने भएको छ । हामी काठमाडौँमा २ सय बेडको अस्पताल निर्माण गर्नेछौँ ।’