यो वर्ष गाउँपालिकाको सबै वडामा बिजुली बाल्न सफल हुन्छौं – अध्यक्ष पाण्डेसँगको कुराकानी

हुप्सेकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत नवलपरासी जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रूपमा पनि निक्कै चर्चित छ । १ सय ८९ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा २५ हजार ६५ जनाको वसोवास रहेको छ । ६ ओटा वडा रहेको यस गाउँपालिकामा विभिन्न जातिहरू एकआपसमा मिलेर बसिरहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू केके छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष लक्ष्मी देवी पाण्डेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । सर्वप्रथम कृषिकै कुराबाट सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो गाउँपालिका कृषि क्षेत्रको लागि उर्भरशील भूमी हो । यहाँका धेरै नागरिकहरूले कृषि पेशानै अँगालेका छन् । निर्वाहमुखी कृषकलाई व्यावसायिक बनाउने काम हामिले गर्दै आएका छौं । ४ ओटा वडालाई तरकारी पकेट क्षेत्र छुट्याएका छौं भने गाउँपालिकामा कफी, धान आदिको पकेट क्षेत्र पनि छुट्याएका छौं । गाउँपालिकाबाट कृषकलाई अनुदान पनि दिने गरेका छौं । विभिन्न तरकारी फलफूलका बिरुवा ५० प्रतिशत अनुदानमा दिने गरेका छौं । गाउँपालिकामा पशु पकेट क्षेत्र पनि छुट्याएका छौं । कृषकहरूले गाउँपालिमा कुखुरापालन तथा बाख्रापालन पनि गरिरहेका छन् । गाउँपालिकामा कृषि र पशुपालनको लागि हामीले धेरै नै बजेट पनि छुट्याउँदै आएका छौं । गाउँपालिकामा कति प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? हुप्सेकोट गाउँपालिका एउटा ग्रामिण क्षेत्रका रूपमा रहेको हुनाले यहाँका धेरैजसो नागरिकहरू कृषि पेसामा आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा चाहिँ ६० प्रतिशत भन्दा बढि मानिसहरू कृषि पेसामा आबद्ध छन् भन्न सकिन्छ । हामिले राम्रो कृषि उत्पादन गर्ने कृषकलाई सम्मान र नगद दिएर पुरस्कृत पनि गर्ने गरेका छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ? गाउँपालिकाका ठुला योजनाहरूका वारे भन्नुपर्दा हुप्सेकोट चक्रपथको निर्माण भइरहेको छ । ४ करोड रुपैयाँ बराबरको बजेटमा टेन्डर प्रकियाबाट चक्रपथको निर्माण भई रहेको हो । प्रदेश मार्ग भनेर प्रदेश राजधानी जाने सडक निर्माण भइरहेको छ । प्रदेशकै योजना अन्तर्गत ६ करोड रुपैयाँ बराबरको बजेटमा सडक कालोपत्रे गर्ने काम भइरहेको छ । गाउँपालिकाको केन्द्रबाट जिल्ला सदरमुकाम जाने सडक पनि पिच गर्ने कार्यक्रम सुरु भइरहेको छ । सञ्चालनमा आएका ठुला योजनाको रूपमा चाहिँ गाउँपालिकामा १३ करोड रुपैयाँ बराबरको बजेटमा विद्युत्तर्फ काम भइरहेको छ । हाम्रो गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने उद्देश्यले डीपीआर गरेर केन्द्रमा पेश गरेका थियौं । यो वर्ष हामीले गाउँपालिकाको सबै वडामा वत्ति बाल्न पक्कै सफल हुन्छौं । गाउँपालिकामा खानेपानीको पनि योजना रहेको छ । पहाडी क्षेत्रमा रहेका २ ओटा वडामा गाउँपालिकाकै योजनाले खानेपानीको काम भइरहेको छ । ठुला योजनाको रूपमा शहरी खानेपानी आयोजना पनि रहेको छ । यो खानेपानीको काम पनि तीव्र गतिमा भइरहेको छ । गाउँपालिकाको प्रशासनिक भवन एक तला निर्माण भइसकेको छ भने ९ करोड ५० लाख रुपैयाँको बजेटमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । ६ ओटा वडा मध्ये ४ ओटा वडा भवनको निर्माण भइसकेको छ भने २ ओटा वडा भवनहरू बन्ने क्रममा रहेका छन् । गाउँपालिकामा स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै आइरहनु भएको छ ? स्वास्थ्य चौकी नभएको ठाउँमा आधारभूत स्वास्थ्य केन्द्र निर्माण गरेर यहाँका सबै नागरिकलाई प्राथमिक उपचार गर्नसक्ने वातावरण मिलाएका छौं । गाउँपालिकामा ३ ओटा ठाउँमा प्रजनन केन्द्रहरू सुचारु भइसकेका छन् । गाउँपालिकामा एउटा ठाउँमा प्रजनन् केन्द्र भवनको निर्माण भइरहेको छ भने यो पनि छिट्टै सुचारु हुनेछ । ६ ओटा वडामा बच्चा जन्माउनको लागि सङ्कट नहोस् भनेर अहिले हामीले प्रजनन केन्द्रको व्यवस्थापन गरेका छौं । अधारभुत स्वास्थ्य केन्द्र सहित गाउँपालिकामा ६ ओटा स्वास्थ्य चौकी रहेका छन् । हामीले हालै देउराली स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर प्राथमिक स्वास्थ्य अस्पताल भवनको निर्माण गर्ने योजना बनाएका छौं । अहिले हामीले गाउँपालिकाका सबै वडामा अधारभुत स्वास्थ्य चौकीको स्थापना गरेका छौं । सबै रोगको उपचार गर्नसक्ने अवस्था त छैन तरपनि डाक्टरको नियुक्ति चाहिँ गरेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आइरहेको छ ? शिक्षा विकासका लागि भनेर हामीले शिक्षा ऐनको निर्माण गरेका छौं । शिक्षा नियमावली, कार्यविधी तथा निर्देशिका बनाएका छौं । यो दायरा भित्र बसेर हामीले शिक्षाको गुणस्तरलाई माथि ल्याउनुपर्छ भनेर जोड पनि दिएका छौं । ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै घरमा बसेर पढ्ने वातावरण बनाएका छौं । कम्तीमा आफ्नै गाउँपालिका भित्र १२ कक्षासम्म पढ्ने व्यवस्था मिलाउनु पर्छ भनेर सोचेर भूगोल अनुसारको मा.वि भएको ठाउँमा १२ कक्षासम्म सञ्चालन गर्ने अनुमति पनि दिएका छौं । भौतिक संरचना मात्र बनाएर हुँदैन भन्ने ठानेर शिक्षाको गुणस्तरलाई माथि ल्याउनका लागि विज्ञहरूलाई ल्याएर शिक्षकहरुलाई तालिम दिने व्यवस्था पनि मिलाएका छौं । विद्यालय शिक्षा सुधारको कार्यक्रम सञ्चालन भएको छ । १ सय पूर्णाङ्क स्थानीय पाठ्यक्रमको पनि निर्माण गरेका छौं । गाउँपालिका भित्र ४६ ओटा विद्यालय रहेका छन् । ती मध्ये निजी विद्यालयहरू चाहिँ ७ ओटा छन् । खेलकुद विकासको लागि गाउँपालिकाले के कसरी अनि कस्ता योजनाहरु बनाएको छ नि ? शिक्षा क्षेत्रको अभिन्न अङ्ग खेलकुद पनि हो । खेलकुद विकासको लागि पनि हामीले केही बजेट विनियोजन गर्दै आएका छौं । धेरै युवाहरू खेलकुदमा उत्सुक छन् । वडास्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सिङ्ग, भलिवल, टेबल टेनिस, कराँते, क्रिकेट, फुटबल लगायतका खेलहरू वेलावेलामा गाउँपालिकामा आयोजना गर्दै आएका छौं । खेलमैदान व्यवस्थापन गर्ने काम पनि हामीले गरिरहेका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिका त पर्यटनको खानी नै हो । पर्यटन विकासको लागि हामीले गुरुयोजना बनाएका छौं । हामीले गाउँपालिकामा पर्यटन क्षेत्रको पनि व्यापक प्रचारप्रसार गरिरहेका छौं । पर्यटन विकास गर्नका लागि भनेर नै हामीले पर्यटन समिति पनि बनाएका छौं । मठ मन्दिरको पनि निर्माण गरी रहेका छौं । ऐतिहासिक रुद्र प्रताप सेनको रुद्रपुर गढि दरवार, गोदलपोखरी शान्ति पार्क, मगर संग्रहालय, दबार थम्का, पौराणिक कालका मयुर पोखरी, श्री पोखरी आदि हाम्रो गाउँपालिकाका पर्यटकीय स्थलहरू हुन् । हामीले रोपेको ६ हजार लालिगुरासले पनि पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुला उद्योगहरु त छैनन् नै । नेपालको सबै भन्दा ठुलो फलाम खानि हाम्रै गाउँपालिकामा छ । उद्योग ग्राम बनाउने भनेर उद्योग मन्त्रालयसँग समन्वय गरिरहेका छौं । गाउँपालिकामा एउटा क्षेत्रलाई उद्योग ग्राम बनाउने भनेर जग्गा व्यवस्थापन पनि गरिरहेका छौं । गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योग भने केही मात्रामा छन् । पालिकामा बरु कृषि उद्योग धेरै संख्यामा छन् । कृषकहरूले कुखुरा पाल्ने, भैँसी पाल्ने लगायतका काम गर्दै आएका छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुने हो नि ? गाउँपालिकामा ठुला उद्योगहरु नभइसकेपछि धेरै कर तिर्ने कम्पनी पनि हुने कुरै भएन । तरपनि निर्माण व्यवसायबाट भने राम्रै कर सङ्कलन हुने गरेको छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा आएका परिर्वतन बारे केही बताईदिनुस् न गाउँपालिकामा म जनप्रतिनिधिको रूपमा आइसकेपछि यहाँ व्यापक परिवर्तन आएको छ । पहिलाको तुलनामा देखिने खालका कामहरू धेरै नै भएका छन् । सुरुमा त नीति नियमनै बनाउन धेरै समय लाग्यो । सडक निर्माण सम्बन्धी राम्रै कामहरु भएका छन् । स्वास्थ्य तथा शिक्षा क्षेत्रमा पनि परिवर्तन आएको छ । सडकहरूको स्तरोन्नति भएको छ । सडकलाई पिच गर्ने काम भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । सबै वडामा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना भएको छ । यति हुँदाहुँदै पनि म के मा सन्तुष्ट छुइन भने जुन हिसाबले गाउँपालिकामा विकास निर्माणको कामहरू हुनु पथ्र्यो, त्यसमा, प्रदेश सरकारले गर्नुपर्ने कामहरूमा चहिँ स्थानीय सरकारलाई सहज गर्नुको साटो असहज गराइदिने, कर्मचारीहरुकै बीचमा विवाद गराइदिने, अनावश्यक रुपमा कर्मचारीको सरुवा गराई दिने, कामको खासै जानकारी नभएका व्यक्तिलाई स्थानीय तहमा पठाइदिने जस्ता कारणले गाउँपालिकामा समस्या पनि आउने गरेको छ । तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कामहरू के के होलान् नि ? हामीले यहाँ ठुला योजनाहरूतर्फ काम गर्ने सकेका छैनौं । गाउँपालिका समृद्ध हुने खालको योजना त बनायौं तर वार्षिक बजेटले एउटा योजनालाई पनि राम्रोसँग काम गर्न पुग्दैन । गाउँपालिकाका सडकहरुलाई आवश्यकतानुसार ग्राबेल अथवा पिच गर्न चाहिँ हामीले चाहेर पनि सकेका छैनौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनुभएको छ ? प्रदेश सरकारसँग जति समन्वय हुनुपर्ने थियो त्यति समन्वय भएको छैन । संविधानले स्थानीय तहलाई दिएका अधिकारहरू कटौती गर्न खोज्नु र केन्द्र सरकारले गर्नुपर्ने कामहरू सबै ठाउँमा समान रूपले नगर्नाको कारण हाम्रो समन्वय धेरै राम्रोसँग हुन सकेको छैन । नेपाल गाउँनै गाउँ भएको ठाउँ भएकाले गाउँ बनाउनको लागि विधिको शासन हुनुपर्याे तर छैन जस्तो महसुस भएको छ । स्थानीय तहमा काम गर्दा के–के समस्याहरू आई पर्छन् नि ? स्थानीय तहमा काम गर्दा सामान्य समस्याहरू आइपर्छन् । केही समय अघि कर्मचारीको अभाव थियो । बजेटको आकार पनि सानो थियो । अहिले भने यस्ता कुराहरूको समस्या समाधान हुँदै आएको छ । विकास निर्माणको काममा पनि यदाकदा समस्या देखापर्ने गर्छ । तर पनि यस्ता समस्यालाई समाधान गर्दै हामी अघि बढिरहेका छौं । गाउँपालिकामा नागरिकहरू प्रायः कस्ता समस्या लिएर आउँछन् ? गाउँपालिकामा मानिहरु विभिन्न किसिमका समस्या लिएर आउने गरेका छन् । कोही पूर्वधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउँछन् भने कोही चाहिँ शिक्षाक्षेत्र तर्फको समस्या लिएर आउँछन् । बेला बेलामा विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । विशेष गरेर स्वास्थ्य समस्या भएका नागरिकहरु आर्थिक सहयोगको अपिल गर्दै आउने गरेका छन् । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ त ? हामीले सुरु गरेका योजनाहरू सम्पन्न गर्ने । बनिरहेका सडक तथा पुलका संरचनाहरू पूरा गर्ने पनि योजना रहेको छ । देखिने खालका योजनाहरू तर्फ काम गर्ने योजना समेत बनाएको छु ताकि भोलिका पिढिले पनि गाउँपालिकामा भएका विकास निर्माणको कामहरू प्रभावकारी भएका ठानुन् ।

ललितपुर महानगरपालिकामा ३ सय ६५ भन्दा बढि महिला समुहको गठन गरेका छौं – उपप्रमुख गीता सत्याल

नेपालको बागमती प्रदेश अन्तर्गत ललितपुर जिल्लामा पर्ने ‘ललितपुर महानगरपालिका’ काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरहरु मध्ये सवैभन्दा पुरानो शहर मानिन्छ । यो शहरलाई प्राचिन कालदेखि हालसम्म समय अनुसार विभिन्न नामले पनि चिनिँदै आएको छ । हालसम्म यस क्षेत्रमा २४ ओटा लिच्छविकालिन शिलापत्रहरु पाइएका छन् । आजसम्म प्राप्त शिलालेखहरुमध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११ को अभिलेखलाई लिइन्छ । आज परेको अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलालाई स्वारोजगार बन्नका लागि के–कस्ता कार्यक्रमहरु ल्याईएका छन्, महानगरपालिकाका महिलाहरु कुन क्षेत्र अथवा व्यापार व्यवसायमा आकर्षित हुने गरेका छन् भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो महानगरपालिकाकी उप–प्रमुख गीता सत्यालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा महिलालाई स्वारोजगार तथा आत्मनिर्भर बन्नको लागि के कस्ता कार्यक्रमहरु ल्याईएका छन् ? हामिले अघिपछिको भन्दा अलिकती फरक किसिमले नारी दिवस मनाउने योजना बनाएका छौं । उद्यमी महिलाले उत्पादन गरेका सामाग्रीहरु बिक्री वितरण गर्ने र प्रदर्शन कक्षसमेत राख्ने योजना छ । महानगरपालिकाका महिला दिदीबहिनीहरु कुन क्षेत्र तथा व्यापार व्यावसायमा आकर्षित हुने गरेका छन् ? २०११ को जनगणना अनुसार महानगरपालिकामा २ लाख ८४ हजार ९ सय २२ जना जनसंख्या भएकोमा १ सय ९४ जना महिलाहरु व्यवसाय गरी रहेका छन् । हस्तकला, सिलाईबुनाईजस्ता विभिन्न व्यावसायहरु महिलाहरुले रोज्ने गरेको पाइएको छ । यस्ता व्यवसाय गर्ने महिलालाई प्रवद्र्धन गर्ने, जनसंख्याको आधारमा त यो न्युन हो तर पनि यसले महिलाहरु पनि केहि गरेर देखाउन सक्छन् भन्ने कुराको सन्देश दिएको छ । महिला हस्तकलामा महिलाहरुको कस्तो सहभागिता रहेको छ ? महिला हस्तकलामा महिलाको सहभागिता एकदमै राम्रो रहेको छ । अहिले हामीले ललितपुर महानगरपालिका, नेपाल हस्तकला महासंघको संयुक्त प्रयास बाट फागुनको २२ गते देखि २५ गतेसम्म ललितपुर महानगरपालिकाको प्राङ्गणमा प्रदर्शन कक्ष पनि राखेका छौं । जहाँ महिलाद्वारा तयार पारिएका सामाग्रीलाई प्रर्दशन गर्ने तथा बजार प्रर्वधन गर्ने काम हामीले गरिरहेका छौं । घरेलु तथा साना उद्योगमा १ सय ९४ जना महिलाहरुको सहभागिता रहेको छ । घरेलु उद्योगनै दर्ता नगरेका महिलाहरु पनि हुनुहुन्छ होला त्यसको पनि हामीले खोजि गरिरहेका छौं । घरेलु उद्योग तथा साना व्यावसायमा पनि महिलाहरुले काम गरिरहनु भएको छ तर जति पनि तथ्याङ्क आउनुपर्ने हो त्यो तथ्याङ्क प्राप्त गर्न सकिरहेका छैनौं । साना उद्योगमा संघ तथा जिल्लासँग बसेर हामीले कति महिला व्यावसाय हुनुहुँदोरहेछ भनेर खोज्ने कामको थालनी पनि गरेका छौं । महिला उद्योगबाट महिलाले कत्तिको आम्दानी गरेका छन् ? महिला उद्योगबाट महिला उद्यमीहरुले आफू तथा आफ्नो परिवारको जिविकोपार्जन गर्नका लागि पुग्ने आम्दानी गरिरहनुभएको छ । पुराना सांस्कृतिक संरचनाहरु संरक्षणको लागि महानगरपालिकाले कस्तो पहल गरिरहेको छ ? महानगरपालिकाले पुराना सांस्कृतिक संरचना हिजो जेजस्तो अवस्थामा थियो आज पनि त्यही अवस्थामा लैजाने प्रयास गरिरहेको छ । महानगरपालिकाले गर्ने हरेक कार्यक्रममा महिलाको सहभागिता कस्तो रहेको छ ? महानगरपालिकाले गर्ने कार्यक्रमहरुमा महिलाको सहभागिता राम्रो हुने गरेको छ । ललितपुर महानगरपालिकामा हामीले ३ सय ६५ भन्दा बढि महिला समुहको गठन गरेका छौं । महानगरपालिकाको २९ ओटा वडामा तथा हरेक टोल–टोलमा महिला समुहको गठन गरेका छौं । समुहको आवश्यकता अनुसारको सिपमुलक तालिम तथा कार्यक्रमहरु गरेर महिला सशक्तिकरणमा ललितपुर महानगरपालिकाले राम्रो भुमिका खेलिरहेको छ । तपाईं महानगरपालिकाको उप–प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ, महानगरपालिकामा काम गर्दा के कस्ता समस्या र चुनौतीहरु आई परेका छन् ? काम गर्दा समस्या र चुनौती त आईपरी नै हाल्छ । चुनौती आईपर्यो भने पनि त्यसको समाधान गरेर मात्र हामी अगाडि बढि रहेका छौं । महिला र पुरुषको के–कस्तो गुनासोहरु महानगरपालिकामा धेरै आउने गरेको छ ? उहाँहरुको आ–आफनै किसिमका गुनासो आउने गरेको छ । व्यक्ति अनुसारको समस्या हुन्छ र त्यही समस्या अनुसारकै गुनासो पनि आउने गरेको छ । तरपनि सकेसम्म हामी समस्याको समाधान गरिनै रहेका हुन्छौं ।

अनुदानसँगै ऋण लिएरै भएपनि कर्णाली बनाउन जुटे स्थानीय सरकार

सुर्खेत । कर्णाली प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले विकासका दृष्टिले निकै पछाडि रहेको कर्णालीमा राज्यले लगानी बढाउन ढिलो गर्नु नहुने बताएका छन् । नगर विकास कोषले आयोजना गरेको प्रादेशिक कार्यशाला गोष्ठीमा उपस्थित प्रदेशभरीका मेयरहरुलाई सम्बोधन गर्र्दै प्रदेश प्रमुख कलौनीले कोषले कर्णालीलाई विशेष प्राथमिकता दिएर लगानी गर्न सुझाव दिए । कर्णालीका स्थानीय तहमा श्रोत मात्रै भएर पनि विकास हुन नसक्ने भन्दै दक्ष जनशक्ति व्यवस्थापनमा पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ । जवाफमा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले कोषले आगामी ४ वर्षभित्र सबै नगरपालिकामा सहकार्य गर्ने रणनीति रहेको बताउँदै पछाडि रहेका नगरलाई विशेष प्राथमिकताका साथ अगाडि बढ्ने बचनबद्धता व्यक्त गरे । कार्यकारी निर्देशक सापकोटाले स्थानीय सरकारले पनि अब अनुदानको मात्रै भर नपरी ऋण र अनुदानको अनुपात मिलाउँदै आर्थिक तथा व्यवसायिक दृष्टिले उपयोगी आयोजनामा लगानी गर्न नीतिगत रुपमै स्पष्ट हुनुपर्ने बताए । नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यञ्जुले ऋण लिएर पूर्वाधार निर्माण गर्न मेयरहरुलाई नहिच्किचाउन आग्रह गरे । उनले बाहिरी मुलुकका उदाहरण दिंदै नगरपालिकाले आँट गरेर आन्तरिक श्रोत वृद्धि गर्ने खालका आयोजनामा लगानी गर्दै नगरलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्न प्रेरित गरे । सहभागी कर्णाली प्रदेशभरीका मेयरहरुले संरचना बनाउन जग्गा आश्वश्यक रहेको भन्दै जग्गाको अभावले अधिकांश संरचना बनाउन नसकिएको धारणा राखे । एउटै आयोजनाको जग्गा प्राप्तिका लागि बर्षौंसम्म संघ सरकारमा धाउनुपर्ने बाध्यतालाई अन्त नगरी स्थानीय तहमा संरचना निर्माणमा बाधा आइरहने उनीहरुको भनाइ थियो । कार्यक्रममा मेयरहरुले पार्टी र भनसुनका आधारमा योजना दिइने हो कि भन्दै आशंका जनाईरहँदा कोषका कार्यकारी निर्देशक सापकोटाले कुनै प्रभावमा नभई प्रतिफलका आधारमा लगानी गरिनेमा मेयरहरुलाई विश्वस्त रहन आग्रह गरे । नगरको पूर्वाधार निर्माण तथा क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यका साथ यूरोपियन युनियनको सहयोगमा सञ्चालित नगरपालिका वित्त तथा क्षमता विकास कार्यक्रमको प्रभावकारिताबारे समेत छलफल भएको नगर विकास कोषका विज्ञ सुमन मेहर श्रेष्ठले जानकारी दिए । यसअघी सुदूरपश्चिम प्रदेश पुगेर नगरपालिकाका प्रमुखहरुसँग छलफल गर्दै विकास साझेदारीका लागि सहयोग गर्ने प्रतिवद्घता जाहेर गरेको नगर विकास कोषले सातै प्रदेशमा यस्ता गोष्ठी आयोजना गर्ने कोषका कार्यक्रम संयोजक सुवास राज पन्तले जानकारी दिए ।