बर्दिवास नगरपालिकाद्वारा विद्यार्थीलाई साइकल वितरण
काठमाडौं । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले पुञ्चधुरा माध्यमिक विद्यालयका छात्राहरूलाई साइकल वितरण गरेको छ । नगरपालिकाले वडा नं. ५ मा रहेको पुञ्चधुरा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो । नगरपालिकाले प्रदेशको सहयोगमा विद्यार्थीहरूलाई साइकल वितरण गरेको छ । ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत प्रदेशका सांसद शारदा देवी थापाको उपस्थितिमा कक्षा ८ का विद्यार्थीहरुलाई साइकल वितरण भएको हो । विद्यालय जान आउन सहज होस् भन्दै कक्षा ८ मा अध्ययन गर्ने विद्यार्थीका लागि साइकल वितरण गरिएको नगरले जनाएको छ । नगरपालिकाभित्र बसोबास गर्ने कोही पनि विद्यार्थी पढाइबाट वञ्चित नहुन् भन्दै साइकल वितरण गरेको वडा नं. ५ का वडाध्यक्षले बताए । साइकल वितरण कार्यक्रममा बोल्दै सांसद थापाले गुणस्तरीय शिक्षाका साथै छोरीहरूको मनोवल बढाउन साइकल वितरणले बुलो सहयोग मिल्ने बताइन् । उनका अनुसार शिक्षा स्वास्थ्य सहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान पनि ल्याइएको छ ।
१५ लाखमा तेह्रथुमकाे फेदाप गाउँपालिकामा हेलिप्याड निर्माण
काठमाडौं । तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकाले १५ लाख रुपैयाँको बजेटमा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रमबाट विनियोजित रकमबाट हेलिप्याड निर्माण गरेको हो । ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन गाउँपालिकामा हेलिप्याड निर्माण भएको छ । गाउँपालिकामा नेपाली सेनाको सहयोगमा हेलिप्याड निर्माण गरेको छ । विपद् र स्वास्थ्यसँग जोडिएका विषयका साथै सुत्केरीको आपत्कालीन उद्धारमा सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले उक्त हेलिप्याड निर्माण गरेको हो । प्रदेश सरकारको एक स्थानीय तहमा एक हेलिप्याड नीतिअनुसार फेदाप गाउँपालिकाको वडा नम्बर १ सिम्ले र वडा नम्बर ३ जलजलेको सिमा देउबेँसीडाँडामा हेलिप्याड निर्माण सम्पन्न भएको हो । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, बाढी, कटान, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरेका गाउँपालिकाले जनाएको छ ।
उच्च जोखिमका घरमा नबस्न मेलम्ची नगरपालिकाको अपिल
सिन्धुपाल्चोक । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मङ्गलबार जारी अपिलमा भनिएको छ । बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ । ग्यास, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख डम्बर अर्यालले जानकारी दिए । साथै कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए । पहिरोको माथिल्लो भेगको अवस्थाको मुल्याङ्कन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ । हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुङ्गा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ । यस कार्यमा भएका खर्चहरु नगरपालिकाले अहिलेसम्म आफ्नो वेबसाइटमा सार्वजानिक गर्दै आएको अर्यालले बताए । बाढी प्रभावितहरुको सम्पूर्ण विवरण सङ्कलन गरी नगर कार्यपालिकाको निर्णयानुसार प्रभावितहरुको वर्ग छुट्याएर २५ हजार, २० हजार, १५ हजार र १० हजारका दरले तत्कालका लागि प्रभावितहरुको बैंक खातामा जम्मा गर्ने कार्य सुरु भइसकेको जनाएको छ । अस्थायी आवास निर्माणका लागि नेपाल सरकारबाट प्राप्त हुने ५० हजार सम्झौता गरी प्रभावितहरुलाई वितरण गर्ने तयारी भइरहेको भन्दै नगर प्रमुख अर्यालले पुनर्निर्माणका लागि प्राप्त हुने पाँच लाख र बसोबासयोग्य जग्गा नहुनेका लागि थप तीन लाख समेत प्राप्त हुने सुनिश्चित भइसकेको बताए । प्रदेश सरकार, केन्द्र सरकार र सरोकारवाला निकायसँगको समन्वय र नगरपालिकाको आन्तरिक स्रोतको अधिकतम उपयोग गर्दै नगरपालिकाले आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम गरिरहेको र गरिरहने प्रतिबद्धतासमेत नगर प्रमुख अर्यालद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ । प्रभावितको राहत तथा उद्धारका लागि नगरपालिका व्यक्ति, सङ्घसंस्था, समूहसँग जतिबेला पनि छलफलका लागि तयार रहेको उल्लेख गरिएको छ । नगरपालिकाभित्रका तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीहरूको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको नगर प्रमुख अर्यालले बताए । पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र बर्सातको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीँ बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ । बाढी प्रभावित नागरिकको गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले बताएको छ । बर्सातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । साथै त्यस्तो काममा नलाग्न अपिलसमेत गरेको छ । मेलम्ची बजार र फट्टेमा दुई वटा बेलिब्रिज निर्माणका लागि सङ्घीय सरकारलाई आग्रह गरिएको र स्थायी पुल निर्माणका लागि अध्ययन भइरहेको समेत अपिलमा उल्लेख गरिएको छ । नगरबासीको जिउधनको सुरक्षा र संरक्षण गर्ने कुरामा कुनै कसर बाँकी नराखिने भन्दै नगरपालिकाले थप काम गर्नुपर्ने भएमा सम्बन्धित व्यक्ति वा समूह स्वयं नगरपालिका आएर छलफलका माध्यमबाट समस्याको समाधान गर्नसमेत अपिल गरेको छ ।