‘हाम्रो कार्यकालमा गाउँपालिकाको ९५ प्रतिशत घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य राखेका छौं’

नेपालको संविधान २०७२ को घोषणासँगै हाम्रो देश औपचारिक रूपमा संघिय लोकतान्त्रिक गणतन्त्रको दिशामा अगाडि बढ्यो । संघ, प्रदेश र स्थानियस्तरमा गरी ३ तहका सरकार संरचनाको निर्माण भयो । मुलुकमा तिन तहको सरकार भएपनि नागरिकका लागि गाह्रोसाह्रो पर्दा गुनासो गर्न सजिलो सरकार भनेकै स्थानीय तह हो । यस्तै नेपाल राज्य पुनर्संरचना अन्तर्गत अर्घाखाँची जिल्लाका ६ स्थानीय तहमध्येको एक पाणिनी गाउँपालिका हो । निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय सरकार सञ्चालन गरेको करिब ४ वर्ष पुगेको छ, निर्वाचित भएर आएपछि जनप्रतिनिधिहरुले गाउँपालिकामा गरेका विकास निर्माणको काम, हिजोआज गाउँपालिकाले कोरोनाको रोकथाम एवं नियन्त्रणका लागि गरिरहेको गतिविधि लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतमसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : स्थानीय सरकारको चार वर्ष कार्यकाल पूरा हुँदा आफ्नो नेतृत्व कस्तो भएजस्तो लाग्छ, सफल वा असफल ? लामो समयसम्म जनप्रतिनिधि विहीन भइरहेको अवस्था थियो । स्थानीय सरकारमा निर्वाचित भएर आइसकेपछि जनताका धेरैजसो अपेक्षा पूरा गर्न सफल भएका छौं । यहाँका नागरिकहरूले आफ्नो समस्या पालिकामा राख्नसक्ने भएका छन् । स्थानीय तहमा निर्वाचित भएर आएपछि विकास निर्माणका कामहरू पनि धेरै भएका छन् । त्यसैले तुलनात्मक रूपमा मैले मेरो कार्यकाल सफल रहेको भन्नुपर्छ । तपाईंको कार्यकाल प्रारम्भ भएपछि पालिकाभित्र गौरवका आयोजनाको रूपमा कुन–कुन आयोजना अगाडि बढाउनुभयो ? हाल तिनीहरूको अवस्था कस्तो रहेको छ ? स्थानीय सरकारको सानो विकास बजेटले त्यति धेरै गौरवका आयोजनाहरू गर्नसक्ने अवस्था छैन । तर, पनि हामीले सबै वडामा स्वास्थ्य सेवा पुर्याउन सफल भएका छौं । पालिकाको एउटा वडा बाहेक अरु सबै वडामा वडा कार्यालय रहेका छन् । हामीले पालिकाभित्र गौरवको आयोजनाको रूपमा भौतिक पूर्वाधार, सबै वडा कार्यालयमा सडकको पहुँच, पालिका भवन निर्माणको काम अगाडि बढाएका थियौं । यीमध्ये अधिकांश आयोजनाहरू पूरा भएका छन् । हामीले आयोजनाहरू सम्पन्न गर्दा पालिकाले नयाँ प्रकारको स्वरुप प्राप्त गर्ने विश्वास लिएका छौं । हामीले ‘एक घर एक धारा’ नामक खानेपानी आयोजना सञ्चालन गरी ५० प्रतिशत घरधुरीमा खानेपानी पुर्याएका छौं । हाम्रो कार्यकालमा गाउँपालिकाको ९५ प्रतिशत घरधुरीमा खानेपानी पुर्याउने लक्ष्य राखेका छौं । हामी गाउँपालिकाको भवन निर्माणको कामलाई पनि अगाडि बढाएका छौं । ९ करोड रुपैयाँ बराबरको लगानीमा गाउँपालिकाको भवन निर्माण हुन लागेको छ । भवन निर्माणको काम ठेक्का प्रक्रियाबाट अगाडि बढेको छ । सडकको स्तरोन्नती र निर्माणको काम पनि भएका छन् । वर्तमान अवस्थामा पालिकाभित्रको शिक्षाको अवस्था कस्तो रहेको छ ? पालिकाको तर्फबाट शिक्षा क्षेत्रमा के के महत्वपुर्ण कामहरू गर्नुभएको छ ? शिक्षा नै मानव स्रोत, सामाजिक, आर्थिक विकास तथा उन्नयनको आधार हो । वर्तमान संविधानमा आधारभूत तथा माध्यमिक शिक्षासहित शैक्षिक व्यवस्थापनको महत्वपूर्ण कार्य स्थानीय तहको अधिकार क्षेत्रभित्र छ । तर, वर्तमान अवस्थाको कुरा गर्दा शिक्षा क्षेत्र समाजमा अहिले समस्याको विशेष थियो । जनचेतनको कमिका कारण गाउँबाट मानिसहरू विस्थापित हुने क्रम पनि जारी छ । स्थानीय तहको संरचना बनेसँगै पालिकामा पनि शिक्षा क्षेत्रमा पनि ठुलो परिवर्तन आएको छ । गुणस्तरीय शिक्षामा विशेष जोड दिएका छौं । शिक्षकहरूलाई विषयगत तालिमको व्यवस्था गर्ने, विद्यालयहरूको भौतिक पूर्वाधार पक्षलाई सुधार गर्ने, पुस्तकालयको व्यवस्था गर्ने, आदि जस्ता कार्यक्रमहरूलाई पालिकाले अगाडि बढाएको छ । शैक्षिक क्षेत्रसँग सम्बन्धित समस्या र आवश्यकताहरूको सम्बोधन गर्न त धेरै नै बाँकी छ । तर, पनि स्थानीय तहको सञ्चालन पुर्वको अवस्थाभन्दा व्यवस्थित र पारदर्शी हिसाबले शैक्षिक क्षेत्र सञ्चालन भएका छन् भन्ने हामीलाई लागेको छ । पालिकामा विभिन्न शैक्षिक सुधारको कार्यक्रमहरू पनि रहेको छ । सबै विद्यालयहरूमा पालिकाको तर्फबाट भौतिक पूर्वाधार विकासको निमित्त हामीले भौतिक संरचनाको पनि निर्माण छौं । कोरोनाको कारण गाउँपालिकाका शैक्षिक क्षेत्रहरु पनि प्रभावित बन्दै गाएका छन् । विद्यालयको आवश्यकता अनुसार शैक्षिक सामाग्रीको उपलब्धता गराएका छौं । गाउँपालिकाले कोभिड १९ रोकथाम र नियन्त्रणका लागि के गरिरहेको छ ? विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) ले हाम्रो पालिकामा पनि नराम्रोसँग प्रभावित बनाएको छ भने यस भाइरसबाट पालिका पनि अछुतो रहन सकेन । कोरोना महामारीको रोकथाम र नियन्त्रणका लागि पालिकाले सक्दो प्रयास गरी रहेको छ भने प्रभावकारी कदम चालेका छौं । महामारी नियन्त्रण गर्नेको लागि जिल्लाको निष्कर्ष बमोजिम निषेधाज्ञा जारी गर्दै आएका थियौं तर हाल निषेधाज्ञा खुकुलो छ । यस महामारीलाई नियन्त्रण गर्नका लागि गाउँपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेका छौं भने उच्चतम सतर्कता पनि अपनाएका छौं । बाहिरी जिल्लाबाट वा भारतबाट पालिकामा प्रवेश गर्ने नागरिकलाई पनि होम क्वारोन्टिनमा बस्नको लागि आग्रह गर्दै आएका छौं । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारमा पालिकाको मुख्य प्राथमिकता रहेको छ । समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै गाउँपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिँदै आएको छ । त्यसैले धेरै मानिसहरू संक्रमित हुनबाट जोगिए । गाउँपालिकाले परीक्षण गर्दा लक्षण भए छुट्टै बस्न अनुरोध गर्छ र संक्रमण पुष्टि भएको व्यक्तिलाई अलग्गै राख्छ । हामीले गत वर्ष कोरोना संक्रमण सुरु हुँदा क्वारेन्टिन र आइसोलेसन सेन्टरको व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, पीसीआर परीक्षण, राहत वितरण लगायतको कामहरू पनि गर्दै आएका थियोैं। कोभिड महामारी रोकथाम र नियन्त्रण भनेर बजेटको पनि व्यवस्थापन गरेका छौं । पालिकाले आवश्यक स्वास्थ्य सामाग्री खरिद गरी भण्डारणको पनि व्यवस्था गरेको छ । पालिकामा स्थानीय जनप्रतिनिधि, वडा स्वास्थ्य चौकी र स्थानीयबासीसँगको समन्वयमा परीक्षण भइरहेको छ भने गाउँपालिकाले ६ बेडको आइसोलेसन सेन्टर पनि बनाएको छ । मानिसहरू बिरामी भएर बेड नपाएर उपचार नपाउने जस्ता समस्याहरू पालिकामा छैन । नागरिकलाई स्वास्थ्य सेवा पनि राम्रो दिन सकिरहेका छौं । गाउँपालिकामा कोरोना संक्रमणको पछिल्लो अवस्था कस्तो छ ? पालिकामा महामारी गत वर्षभन्दा यस वर्ष व्यापक रूपमा फैलिएको छ । पछिल्लो समय संक्रमण दर घटेको छ भने धेरैजसो बिरामी निको भएका छन् । पालिकामा परीक्षण गर्दा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखापर्ने क्रम जारी नै छ । तपाईंको कार्यकालमा भएको सबै भन्दा ठुलो उपलब्धि केलाई ठान्नुहुन्छ ? हामीले गर्नुपर्ने केही कामहरू अझ पनि बाँकी छन् । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि नै न्यायिक क्षेत्रमा आएको सुधार पनि हो । पिडा भोगिरहेका नागरिकलाई पिडाबाट मुक्त गरेका छौं । एक मात्र क्षेत्रमा नभएर विभिन्न क्षेत्रहरूमा सुधार र परिवर्तन ल्याउनु नै मेरो कार्यकालको सबैभन्दा ठुलो उपलब्धि हो । स्थानीयस्तरका युवाहरूलाई रोजगारीको सिर्जना गर्नमा पालिकाले कस्तो भूमिका खेलेको छ ? युवा लक्षित गर्दै पालिकामा विभिन्न कृषि र पशुपालनका सिपमूलक कार्यक्रम पनि सञ्चालन हुँदै आएको छ । युवाहरूलाई कृषि र पशुपालनमा जोडिनको लागि आग्रह गरेका छौं । कृषि र पशुपालन गर्नको लागि पनि हामीले प्रोत्साहन गरेका छौं । सिपमूलक भए बसेका धेरै युवाहरूले रोजगारी पाएका छन् । युवा स्वरोजगारको लागि हामीले जोड दिइरहेका छौं । युवाहरूको समूह गठन गरी युवाहरूलाई कृषिमा अनुदान दिने व्यवस्था मिलाएका छौं । कृषिका अतिरिक्त केही मानिसहरू सरकारी तथा गैरसरकारी सेवामा संलग्न रहेका छन् भने केही व्यापार व्यवसायमा संलग्न भएका छन् । धेरै यूवाशक्ति भने वैदेशिक रोजगारीमा जाने गरेका छन् । युवाहरू कृषि उत्पादनसँग जोडिनु पर्छ भनेर हामीले जोड दिएका । धेरै रोजगारी सिर्जना गर्नको लागि पालिकामा ठुला उद्योग छैनन् । पालिकाको विकास निर्माणको काममा पनि युवाहरूलाई परिचालन गर्दै स्वरोजगार बनाइरहेका छौं । यो क्षेत्रमा खेतीयोग्य जमीनभएपनि सिँचाई अभाव तथा उच्च आधुनिक प्रविधिको अभावमा यहाँका मानिसहरू जीविकोपार्जनका लागि व्यवसाय, कृषि, पशुपालन, ज्यालामजदुरीका अतिरिक्त अन्य वैकल्पिक रोजगारीका अवसरहरू खोजी गरेको पाइन्छ । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? नागरिकले हामीबाट धेरै अपेक्षा गरेका छन् र त्यो अपेक्षा अनुसार नै हामी जनप्रतिनिधिले पनि काम गर्ने प्रयत्न गरेका छौं । यति हुँदाहुँदै पनि ठ्याक्कै भनेजस्तो काम हुन सकेको छैन । पालिकालाई सुन्दर र समृद्ध बनाउनको लागि हामी सबै लाग्नु पर्छ । नागरिकको आवश्यकता पुरा गर्न मात्र नभई समग्र पालिकाकै विकास गर्न पनि हामीले कम्मर कसेका छौं । हामीले विकास निर्माणको कुरामा पनि जोड दिइरहेका छौं । अनि अहिलेका चुनौतीको रूपमा खडा भएको कोभिड महामारीसँग जुध्नको लागि स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि समग्र पालिकावासीलाई आग्रह गर्छु । भिडभाड नगरिदिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

खोप कार्यक्रमको महानगरमा समीक्षा : पालिकाहरुलाई योजना बनाउन नदिनु कमजोरी

काठमाडौँ । काठमाडौं उपत्यकामा एउटै समयमा खोप कार्यक्रम चलाउनु पर्ने महानगरले निष्कर्ष निकालेको छ । यसअघि सञ्चालन गरिएको कोरोना विरुद्धको खोप अभियानको समिक्षामा गर्दै महानगरको जनस्वास्थ्य विभागले उक्त निष्कर्ष निकालेको हो । उपत्यकाका ३ जिल्लामा एकै समयमा कार्यक्रम सञ्चालन नगर्दा पहिलो सञ्चालन गर्ने पालिकामा अन्य पालिकाबाट खोप लगाउन मानिसहरु आउने भएपछि व्यवस्थापकीय समस्या थपिने विगत सिकाइ हेरेर यस्तो निष्कर्ष निकालिएको हो । जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य, जिल्ला समन्वय अधिकारी पीताम्बर अधिकारी, विभागका अधिकारी र खोप संयोजकविच सम्पन्न समीक्षामा खोपको अभाव, खोप लगाउन दबाब तथा माग र आपूर्तिको सन्तुलन नमिल्दा सिर्जना भएको सुरक्षा खतरासम्मका कुरा उठेका थिए । खोप व्यवस्थापनका लागि पालिका स्तरबाट योजना निर्माण नदिइ माथिल्ला निकायले मिति र समय तोकेर खोप चलाउन निर्देशन दिएपछि खोप कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएन । अत्यावश्यक सेवामा काम गर्नेलाई खोप दिनु पर्नेभएपछि कम उमेरकाले खोप पाए, तोकेका उमेरका व्यक्तिले पाएनन् भन्ने गुनासा प्रशस्तै छन् । समीक्षामा खोप संयोजकहरुले केन्द्रमा आफूले भोगेका समस्या सुनाएका थिए । समन्वय समितिका प्रमुख राजवैद्यले, खोप कार्यक्रम पालिकाले योजना बनाएर पालिकाले नै चलाउनु पर्ने धारणा राखेका थिए । यसअघि जिल्ला खोप समन्वय समितिको बैठकमा आफूले महानगरका वडास्तरमा खोप केन्द्र सञ्चालन हुनुपर्छ भन्ने धारणा राखेको बताउँदै उनले खोपका विषयमा जनप्रतिनिधि बेखवर जस्तै बन्नु परेको बताए । उनले खोप कम भएको र माग धेरै हुँदा व्यवस्थापकीय जटिलता सिर्जना भएको बताए । खोप कार्यक्रम चलाउन योजना बनाउने समय नै पाइएन । खोप चल्ने अघिल्लो दिन अबेर गरी माथिल्ला निकायबाट परिपत्र हुने गरेका छन् । जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘कार्यक्रम सञ्चालन हुने दिन पनि समयमा हामीलाई सामाग्री प्राप्त हुँदैन । प्राप्त भएका सामाग्री पनि अधुरा हुन्छन् । खोप हुन्छ, कार्ड हुँदैन । कार्ड हुन्छ, खोप हुँदैन ।’ खोप सञ्चालनका विषयमा माथिल्ला निकायबाट समयमा र स्पष्ट निर्णय हुन नसकेका कारण लाभग्राहीलाई उत्तर दिन आफूहरुलाई कठिन भएको जनस्वास्थ्य महाशाखा प्रमुख रामप्रसाद पौडेलेको भनाइ छ । काठमाडौँका ठूला अस्पतालमा अरु रोगको उपचार गर्न आउने विरामीहरुको त्यत्तिकै पनि भीड हुन्छ । त्यस भीडमा लगेर कोभिडको खोप केन्द्र राखिनु आफैँमा बैज्ञानिक छैन । महानगरका कोविड खोप फोकल पर्सन ज्ञानबहादुर ओली भन्छन, ‘काठमाडौँ महानगर आफैँ खोप कार्यक्रम चलाउन सक्षम छ । कन्ट्याक ट्रेसिङ, पीपीआर र एन्टिजेन परीक्षणजस्ता जोखिमपूर्ण काम गर्ने महानगरले खोप चलाउन नसक्ने भन्ने कुरै आउँदैन ।’ सरकारले भोलिदेखि ६ गतेसम्म ५० देखि ५४ बर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अति अशक्त अपाङ्गता भएर ‘क’ र ‘ख’ बर्गको कार्ड प्राप्त गरेका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी र यस अघि छुटेका स्वास्थ्यकर्मी र सफाइकर्मीलाई जोन्सन एण्ड जोन्सन खोप दिँदैछ । महानगरमा यस अघि सञ्चालन भएका खोप कार्यक्रम विचबाटै रोकिएको घटना नदोहारियोस् भनेर लक्षित समूहको वडागत अनुमानित विवरण जिल्ला स्वास्थ्य कार्यालयमा पठाएको छ । ०६८ को जनगणना र जनसंख्या वृद्धि दरलाई विश्लेषण गर्दै विभागले करीव ७६ हजार खोप आवश्यक पर्ने आँकलन गरेको छ ।

भंगहा नगरपालिकाको कार्यालय राख्न प्रमुखले दिए आफ्नै घर, मासिक ६० हजार बचत

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुखले नगरपालिकाको कार्यालयलाई निःशुल्क घर प्रयोग गर्न दिएका छन् । नगर प्रमुख संजिव कुमार साहले आफ्नो घरलाई भाडा नलिने सर्तमा आफ्नै घर नगरपालिकाको कार्यालयलाई उपलब्ध गराएका छन् । नगरपालिकाको प्रशासनिक भवन नभएका कारण नगरप्रमुख आफ्नो घर नगरपालिकालाई निःशुल्क प्रयोग गर्न दिएका हुन् । यसअघि नगरपालिकाले सितापुर बजारमा रहेको एक घरमा मासिक ६० हजार रुपैंयाँ भाडा तिरेर प्रशासनिक काम सञ्चालन गर्दै आएको थियो । नगरपालिकाको घरभाडाबापत खर्च हुने वार्षिक ७ लाख २० हजार रुपैयाँ बचाउने उद्देश्यले आफ्नो घर उपलब्ध गराएको नगरप्रमुख साहले बताएका छन् । नगरपालिकाको आफ्नै भवन नबन्दासम्म सितापुरमै रहेको उनको आफ्नो घरमा निःशुल्क नगर कार्यपालिकाको काम सञ्चालन गर्न दिने भएका छन् ।