गाभीले नेपाललाई करिब ४ करोड डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ले सन् २०२७ देखि २०३० सम्मको अवधिमा नेपाललाई करिब ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप र १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ । सरकार र गाभीबीच आगामी चार वर्षको रणनीतिक सहकार्यबारे भएको उच्चस्तरीय छलफलमा खोप सहयोग र नगद अनुदान उपलब्ध गराउने गाभीले प्रस्ताव गरेकाे हो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा गाभीको आगामी सहयोगबारे छलफल भएकाे थियाे । प्रस्तावअनुसार गाभीबाट प्राप्त हुने सहयोगका लागि नेपालले १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्ने विषयमा समेत छलफल भएको छ । नेपाल र गाभीबीच सन् २००१ देखि सहकार्य हुँदै आएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरिसकेको छ । हाल गाभीले सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउने ११ प्रकारका खोपमध्ये पाँचवटामा सहलगानी गर्दै आएको छ भने एक प्रकारको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाभीको सहयोग रहँदै आएको छ । बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी वित्तीय रूपमा दिगो बनाउने भन्ने विषयमा पनि छलफल भएको थियो । गाभीका प्रतिनिधिहरूले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाल प्रहरीको गत आवमा करिब ६९ अर्ब खर्च

काठमाडौं । नेपाल प्रहरीले गत आर्थिक वर्षमा ६८ अर्ब ७२ करोड ८२ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ ।  चालु आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीलाई कुल बजेट ७३ अर्ब ६७ करोड ५९ लाख ७२ हजार  रुपैयाँ बजेट विनियोजन गरेर प्राप्त भएको थियो । शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अबीनारायण काफ्लेले गत आर्थिक वर्षमा ६८ अर्ब ७२ करोड ८२ लाख ५३ हजार रुपैयाँ खर्च भएको जानकारी दिए । उनका अनुसार ४ अर्ब ९४ करोड ७७ लाख १९ हजार रुपैयाँ खर्च हुन सकेन । प्रवक्ता काफ्लेले प्रहरीका लागि आर्थिक वर्ष २०८३ / ०८४ मा ६५ अर्ब ७१ करोड विनियोजन भएको जानकारी दिए । गत आर्थिक वर्षको तुलनामा ७ अर्ब ९६ करोड ५९ लाख ७२ हजार कम भएको उनले जानकारी दिए । गत आर्थिक वर्ष २०८२/ ०८३ मा १ हजार २६४ जनाले राजीनामा दिएका छन् । विभिन्न दर्जाका प्रहरीले एकै वर्षमा राजीनामा दिएका हुन् ।  एक वर्षमा १२ सयभन्दा बढी प्रहरीले राजीनामा दिएको उनले जानकारी दिए । उनका अनुसार ६ सय ८१ जनाले अनिवार्य अवकाश लिएका छन् । विभिन्न ठाउँमा २६ हजार ४१५ जनाको सरुवा भएको छ। ५ हजार २७ जनाको बढुवा भएको छ । २ हजार ४८८ जनाको नयाँ नियुक्ति तथा पदस्थापना भएको छ ।

मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष लाइसेन्स (स्पेसल एक्जामिनेसन) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नतिजाअनुसार परीक्षामा सहभागीमध्ये ९३.४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । काउन्सिलका अनुसार विभिन्न विशेषज्ञता (स्पेसालिटी) तर्फ सञ्चालन गरिएको परीक्षामा १ हजार १३ जना सहभागी भएका थिए । तीमध्ये ९४७ जना उत्तीर्ण, ६५ जना अनुत्तीर्ण भएका छन् भने एक जनाको नतिजा रोक्का भएको छ । त्यसैगरी, नेपालका मेडिकल तथा डेन्टल कलेजका स्नातकको विशेष परीक्षामा ९ सय १९ जना सहभागी भएकामध्ये ९ सय ४ जना उत्तीर्ण र १५ जना अनुत्तीर्ण भएका छन् । यस समूहको उत्तीर्ण प्रतिशत ९८.३७ रहेको छ। कलेजगत नतिजाअनुसार काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, किस्ट मेडिकल कलेज, पाटन एकेडेमी अफ हेल्थ साइन्सेज, नेपाल मेडिकल कलेज, नेसनल एकेडेमी अफ मेडिकल साइन्सेज (वीर अस्पताल), पोखरा एकेडेमी अफ हेल्थ साइन्सेज, मणिपाल कलेज अफ मेडिकल साइन्सेज, लुम्बिनी मेडिकल कलेज, नेपाली आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, नेपालगञ्ज मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान र कान्तिपुर डेन्टल कलेजले शतप्रतिशत नतिजा हासिल गरेका छन् । यस्तै, विशेषज्ञता तहको नतिजामा अधिकांश विषयमा शतप्रतिशत सफलता देखिएको छ । रेडियो डायग्नोसिस/रेडियोलोजीमा भने सबैभन्दा कम ७३.५३ प्रतिशत मात्र उत्तीर्ण भएका छन् । उक्त विषयमा ६८ जनामध्ये १८ जना अनुत्तीर्ण भएका छन्, जुन सबैभन्दा धेरै अनुत्तीर्ण हुने विषय बनेको छ । त्यसैगरी, प्रोस्थोडोन्टिक्समा १५ जनामध्ये एक जना तथा पेडियाट्रिक्स मा ६१ जनामध्ये दुईजना अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  काउन्सिलका अनुसार उक्त परीक्षा नेपालका मेडिकल तथा डेन्टल कलेज तथा प्रतिष्ठानमा अध्ययन पूरा गरेका चिकित्सकका लागि सञ्चालन गरिएको थियो ।