नेक्स्ट जेनेरेसन अटोमोटिभमा प्रहरीकाे छापा*

काठमाडौं । टाटा गाडीका नक्कली पार्टपुर्जा र लुब्रिकेन्ट अवैध रूपमा आयात गरी बिक्री वितरण गरेको आरोपमा प्रहरीले नेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिमा छापा हानेको छ ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको टोलीले बनेपास्थित नेक्स्ट जेनेरेसन अटोमोटिभ प्रालिमा छापा हानेकाे हाे ।  प्रहरीले १० वटा गोदाममा छापा हानेर अटो पार्टपुर्जा तथा लुब्रिकेन्ट बरामद गरेको जनाएको छ । बरामद गरिएका गोदामहरू सिलबन्दी गरिएको छ । नक्कली पार्टपुर्जाको प्रयोगले सवारी दुर्घटनाको जोखिम बढ्नुका साथै उपभोक्ताको ज्यान र सम्पत्तिमा क्षति पुग्ने तथा सरकारको राजस्वसमेत गुम्ने अवस्था रहेको प्रहरीको भनाइ छ । यस्ता अवैध कारोबारका कारण कानुनी रूपमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीसमेत प्रत्यक्ष प्रभावित भएको प्रहरीको निष्कर्ष छ । प्रहरीले देशभर नक्कली अटो पार्टपुर्जा तथा लुब्रिकेन्टको अवैध कारोबारमा संलग्न व्यक्ति र समूहविरुद्ध खोजी तथा कारबाहीलाई थप तीव्र बनाइने जनाएको छ । (समाचारमा केही तथ्यगत त्रुटी भएकोले क्षमाप्राथीसहित सच्याइएको छ : सम्पादक)

ट्याङ्करबाट तेल चोर्ने पम्पका साहुसहित सात जना पक्राउ

काठमाडौं । ट्याङ्करबाट पेट्रोल चोरेर बिक्री गर्ने पेट्रोल पम्पका साहुसहित सात जना पक्राउ परेका छन् ।  बिहीबार साँझ पर्सास्थित वीरगञ्ज महानगरपालिका १४ स्थित बाइपास सडकखण्डमा ना ७ ख १५३९ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट तेल निकाल्दै गरेको अवस्थामा पेट्रोल पम्पका साहुसहित सात जना पक्राउ परेका हुन् । ५५ वर्षीय सुनैन मियाँ (पेट्रोल पम्पका साहु), २३ वर्षीय असलम हवारी (पम्पमा लेखाको काम गर्ने), २१ वर्षीय रफिक मियाँ (पम्पको क्यासियर), २० वर्षीय सन्देश राना मगर (ना ७ ख २८०४ नम्बरको ट्यांकरको सहचालक), ४६ वर्षीय केशर राम सुनार (ना ७ ख २८०४ को चालक), २७ वर्षीय उमेश राना मगर (ना ७ ख १५३९ ट्यांकरको सहचालक) र ५० वर्षीय मन्द सिंह लामा (ना ७ ख १५३९ ट्यांकरको चालक) रहेका छन् ।  प्रहरीका अनुसार पेट्रोल चोर्ने समूहहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

माछापुच्छ्रे बैंकमार्फत करदाता उपहार कार्यक्रममा सहभागी हुन सकिने

काठमाडौं । माछापुच्छ्रे बैंकले सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहकार्य गर्दै आफ्नो एमबीएल एम–स्मार्ट मोबाइल बैंकिङ एपमा ‘बिल जितौँ’ सुविधा सञ्चालनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन र कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमअन्तर्गत नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि १०० रुपैयाँभन्दा बढीका वस्तु वा सेवा खरिद गरी व्यापारी क्यूआर मार्फत डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबार स्वतः आन्तरिक राजस्व विभागको प्रणालीमा समावेश हुनेछन् । यसका लागि छुट्टै दर्ता गर्नुपर्ने छैन । बैंकका ग्राहकले एमबीएल एम–स्मार्ट एपमा प्रवेश गरी ‘बिल जितौँ’ मेनुबाट योग्य कारोबारको संख्या, विस्तृत विवरण तथा उपहार विजेता भए/नभएको जानकारी सहजै हेर्न सक्नेछन् । आन्तरिक राजस्व विभागले योग्य कारोबारमध्ये दैनिक भाग्यशाली चिठ्ठा मार्फत एक जनालाई कर कट्टीपछि १ लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँ बम्पर पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ । बैंकले ग्राहकलाई १०० रुपैयाँभन्दा बढीको प्रत्येक खरिदमा व्यापारी क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा प्यान/भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा ‘बिल जितौँ’ मेनुबाट आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ । माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङलाई थप सहज, सुरक्षित र ग्राहकमैत्री बनाउँदै सरकारी डिजिटल भुक्तानी तथा कर सचेतना अभियानमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । साथै ‘डिजिटल भुक्तानी गरौँ, बिल लिऔँ, सुरक्षित राखौँ र १० लाख रुपैयाँसम्मको उपहार जित्ने अवसर नछुटाऔँ’ भन्ने सन्देशसहित कार्यक्रममा सक्रिय सहभागिताका लागि ग्राहकलाई आह्वान गरेको छ ।