विदेशबाट फर्किँदा ‘दलालको सामान’ नबोक्नू, बोके पक्राउ पर्न सकिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले वैदेशिक रोजगारीबाट नेपाल फर्किने नेपालीलाई अपरिचित व्यक्ति, दलाल वा सुन तस्करको प्रलोभनमा परेर सुन तथा अन्य बहुमूल्य सामान नबोक्न आग्रह गरेको छ । कार्यालयले मंगलबार (आज) सूचना जारी गर्दै विदेशबाट नेपाल फर्किने क्रममा अपरिचित व्यक्तिले आर्थिक प्रलोभन देखाएर सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याइदिन आग्रह गर्ने गरेको पाइएको जनाएको छ । विशेषगरी दुबई, कतारलगायत विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी यस्तो प्रलोभन दिने गरिएको कार्यालयले जनाएको छ । अपरिचित व्यक्ति, दलाल तथा सुन तस्करले आफ्नो सामान नेपाल पु‍र्याइदिएबापत रकम दिने भन्दै यात्रुलाई प्रयोग गर्ने गरेको पाइएको कार्यालयको भनाइ छ । यस्ता व्यक्तिले सामानसँगै खरिद बिलसमेत उपलब्ध गराउने गरेको पाइएको कार्यालयले जनाएको छ ।  तर बिल वा अन्य कागजात उपलब्ध गराइएको भए पनि उक्त सामान नेपालमा ल्याउने क्रममा कानुनबमोजिम जाँच हुँदा अवैध रूपमा सुन ओसारपसार गरेको अभियोगमा यात्रु आफै पक्राउ पर्न सक्ने चेतावनीसमेत कार्यालयले दिइएको छ । कार्यालयका अनुसार अपरिचित व्यक्तिले दिएको सुन वा बहुमूल्य वस्तु बोकेर नेपाल आउँदा यात्रुले आफ्नो सानो लापरवाहीका कारण ठूलो कानुनी समस्या बेहोर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले विदेशबाट फर्किँदा आफूले नकिनेको वा अपरिचित व्यक्तिले दिएको सुन, बहुमूल्य धातु तथा अन्य शंकास्पद सामान नबोक्न कार्यालयले आग्रह गरेको हो । साथै विमानस्थलमा कुनै अपरिचित व्यक्ति वा दलालले शंकास्पद सामान बोक्न आग्रह गरेमा वा आर्थिक प्रलोभन देखाएमा त्यसको जानकारी तत्काल सम्बन्धित सुरक्षा निकायलाई गराउनसमेत कार्यालयले अनुरोधसमेत गरेको छ ।

मुख्य सचिवसँग व्यवसायीले भने : बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव छैन

काठमाडौं । पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल भएको छ ।  सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधान लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे छलफल भएको हो ।  छलफलका क्रममा व्यवसायीहरुले बजारमा हल्ला चलेजस्तो ग्यासको अभाव नभएको बताउनुभयो। पश्चिम एशियाको द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः १४.२ किलोग्रामको भरी सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरुको धारणा थियो । व्यवसायीहरुले पहिलेभन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरुले आवश्यकभन्दा बढी भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताएका छन् ।  बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिनेबारे निर्णय भएको छ । साथै, आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई मध्यनजर गर्दै आगामी तीन महिनासम्म प्रत्येक महिना ५० हजार मेट्रिक टनभन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने समेत बैठकमार्फत निर्णय भएको छ । मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरोकारवालासँग आगामी दिनमा पनि छुट्टै ढंगले छलफल जारी राख्ने बताए ।   छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी, सहसचिव नेत्रप्रसाद सुवेदी, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी, नेपाल आयल निगमका कार्यकारी निर्देशक दीपक बराल, ग्यास उद्योगीहरुको छाता संगठनका पदाधिकारी तथा उद्योगी कृष्णभक्त श्रेष्ठ, सुरेन्द्रराज पौड्याल, अमित अग्रवाल, रुद्रप्रसाद कोइरालालगायतको उपस्थिति थियो ।   

अख्तियारको अपरेशनले भ्रष्ट कर्मचारीको नियत छताछुल्ल

काठमाडौं । भुक्तानी लिनुपर्ने सेवाग्राही गाउँपालिकाको कार्यालयको ढोका धाइरहेका थिए । उता, फाइल अघि बढाइदिने जिम्मेवारीमा रहेका कर्मचारी भने ‘कमिसन’को सौदाबाजीमा व्यस्त थिए ।  पटक–पटक रकम मागेर हैरानी दिएको आरोपपछि सेवाग्राही अख्तियारको सम्पर्कमा पुगे । त्यसपछि बिछ्याइएको योजनाअनुसारको निगरानी अन्ततः सफल भयो, र नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङ काठमाडौंको बालाजुबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ परे ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार तामाङले भुक्तानी रकम निकासा गरिदिने क्रममा सेवाग्राहीसँग कमिसनको नाममा रकम माग्दै पटक–पटक बार्गेनिङ गरेका थिए । सेवाग्राहीलाई अनावश्यक दुःख र हैरानी दिएर घुस मागिरहेको भन्ने उजुरीका आधारमा आयोगले विशेष निगरानी थालेको थियो ।  टंगालस्थित अख्तियारको टोलीले काठमाडौं महानगरपालिका–१६, बालाजुमा सञ्चालन गरेको अपरेसनका क्रममा तामाङलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । घटनास्थलबाट घुसस्वरूप लिइएको रकमसमेत बरामद गरिएको आयोगले जनाएको छ । प्रारम्भिक अनुसन्धानले सार्वजनिक सेवासँग प्रत्यक्ष जोडिएको भुक्तानी प्रक्रियालाई प्रभावमा पार्दै आर्थिक लाभ लिन खोजिएको संकेत गरेको अख्तियारको भनाइ छ । आयोगले विशेष अदालतबाट म्याद थपको अनुमति लिएर तामाङविरुद्ध घुस–रिसवत तथा भ्रष्टाचारसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । पछिल्ला वर्षहरूमा स्थानीय तहमा विकास आयोजना, खरिद तथा भुक्तानी प्रक्रियासँग जोडिएका कमिसन र घुसका उजुरी उल्लेख्य रूपमा बढिरहेका छन् । यस्ता गतिविधिमाथि निगरानी बढाएको अख्तियारले सार्वजनिक सेवा लिँदा कसैले घुस वा कुनै पनि प्रकारको अनुचित लाभ मागे तत्काल सूचना दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।