इन्धनको मूल्य वृद्धिका कारण जापान एयरलाइन्सको नाफामा ८० प्रतिशतको गिरावट
काठमाडौं । जापान एयरलाइन्स (जेएएल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा आफ्नो खुद नाफामा भारी गिरावट आएको जानकारी दिएको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार अप्रिलदेखि जुनसम्मको तीन महिनामा खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८०.२ प्रतिशतले घटेर ५ अर्ब ३५ करोड येन (करिब ३ करोड ४० लाख अमेरिकी डलर) मा सीमित भएको छ । मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्यमा भएको उच्च वृद्धिलाई नाफा घट्नुको मुख्य कारण मानिएको छ । नाफामा उल्लेख्य गिरावट आए तापनि कम्पनीको कुल विक्री (सेल्स) मा भने सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीको विक्री ११.२ प्रतिशतले वृद्धि भई ५ खर्ब २३ अर्ब ७४ करोड येन पुगेको छ । कम्पनीले सन् २०२७ मार्चमा समाप्त हुने चालू आर्थिक वर्षका लागि आफ्नो पूर्व अनुमानित वित्तीय प्रक्षेपणलाई यथावत राखेको छ । जसअनुसार यस वर्ष कम्पनीले १ खर्ब १० अर्ब येन खुद नाफा आर्जन गर्ने लक्ष्य लिएको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.१ प्रतिशतले कम हो । त्यस्तै, कुल २१ खर्ब येन बराबरको कारोबार हुने अनुमान गरिएको छ, जुन गत वर्षको तुलनामा ४.१ प्रतिशतको वृद्धि हो ।
१३ घरधनीलाई घरजग्गा तत्काल खाली गर्न निर्देशन
काठमाडौं । पुरातत्व विभागले विश्व सम्पदा सूचीमा सूचीकृत गराउने तयारीमा रहेको प्राचीन तिलौराकोट क्षेत्रभित्र अधिग्रहण गरिएका घर तथा जग्गा तत्काल खाली गर्न सम्बन्धितलाई निर्देशन दिएको छ । विभागले नेपाल सरकारको नाममा अधिग्रहण भइसकेका घर तथा जग्गा तत्काल खाली गरी विभागलाई बुझाउन सम्बन्धित घरधनीलाई आग्रह गरेको हो । संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को सम्भावित विश्व सम्पदा सूचीमा रहेको प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७२/७३ देखि तिलौराकोट आसपासका घर तथा जग्गा क्रमशः अधिग्रहण गर्दै आएको विभागले जनाएको छ । विभागका अनुसार अनुसन्धानका क्रममा तिलौराकोट वरपरको जमिनमुनि पुरातात्त्विक महत्वका संरचना फेला परेकाले ती संरचनाको संरक्षण तथा थप अध्ययन-अनुसन्धानका लागि अधिग्रहण प्रक्रिया अघि बढाइएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८० पुस २४ गतेको निर्णयअनुसार अधिग्रहण गरिएका १३ घर तथा जग्गा पुरातत्व विभागको नाममा आइसकेकाले सम्बन्धित व्यक्तिलाई तत्काल खाली गर्न विभागले आग्रह गरेको हो । विभागले मुआब्जा बुझिसकेपछि पनि घर वा जग्गा खाली नगर्ने व्यक्तिको हकमा प्रचलित कानुनबमोजिम विभाग आफैंले खाली गराउने चेतावनी दिएको छ । त्यस क्रममा लाग्ने सम्पूर्ण खर्च तथा अन्य दायित्व सम्बन्धित घरधनीबाटै असुल गरिने विभागले जनाएको छ । विभागका अनुसार गोबरी र मालपारा क्षेत्रका १३ जना घरधनीका घर तथा जग्गा अधिग्रहण गरिएको छ । केहीको घर मात्र र केहीको घरसहितको जग्गा अधिग्रहण गरिएको विभागले जनाएको छ ।
७.२७ अर्बमा ५ वटा सोलार आयोजना बनाउँदै सोल पावर, न्यू नेपालगञ्जको काम अघि बढ्यो
काठमाडौं । बाँके जिल्लामा ३० मेगावाट क्षमताको ‘न्यू नेपालगञ्ज सौर्य विद्युत आयोजना’ निर्माणको प्रक्रिया अघि बढेको छ । प्रस्तावित आयोजना लुम्बिनी प्रदेशको बाँके जिल्लाको बैजनाथ गाउँपालिका-७ र खजुरा गाउँपालिका-४ मा निर्माण हुनेछ । आयोजनाका मुख्य संरचना करिब ३०.४७ हेक्टर क्षेत्रफलमा निर्माण गरिनेछन् । सोल पावरले प्रस्ताव गरेको आयोजनाको जडित क्षमता ३० मेगावाट रहनेछ भने वार्षिक औसत ५९.९२२ गिगावाट-घण्टा विद्युत उत्पादन हुने अनुमान गरिएको छ । आयोजनामा सौर्य फोटोभोल्टाइक (पीभी) प्यानलबाट उत्पादन हुने डीसी विद्युतलाई २७५ किलोवाट क्षमताका १०८ वटा तथा ७५ किलोवाट क्षमताका तीन वटा स्ट्रिङ इन्भर्टरमार्फत एसी विद्युतमा रूपान्तरण गरिनेछ । त्यसपछि उत्पादित विद्युत ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको न्यू नेपालगञ्ज ग्रिड सबस्टेसनमा जोडिने विभागले जनाएको छ । प्रवद्र्धकले आयोजना २०८३ माघभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजना निर्माण तथा सञ्चालनका क्रममा स्वीकृत प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) प्रतिवेदनअनुसार वातावरणीय प्रभाव न्यूनीकरणका उपाय अवलम्बन गरिने र भू-क्षय, वायु प्रदूषणलगायत वातावरणीय असर न्यून रहने गरी काम गरिने विभागले जनाएको छ । आयोजना निर्माण तथा सञ्चालनबाट उल्लेखनीय प्रतिकूल असर पर्ने ठानेमा ३५ दिनभित्र विद्युत विकास विभाग वा प्रवर्द्धक कम्पनीसमक्ष लिखित राय वा प्रतिक्रिया पेश गर्न आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले गत असार ४ गते आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन (आईईई) प्रतिवेदन स्वीकृत गरेको हो । सोल पावरको प्रवर्द्धन गोल्यान समूहसँग आबद्ध व्यक्तिगत तथा संस्थागत प्रवर्द्धक प्योर इनर्जी लिमिटेड र गोल्यान पावर लिमिटेडले संयुक्त रूपमा गरेका छन् । कम्पनीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा पाँच चरणमा कुल १०० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना विकास गर्ने योजना अघि बढाएको छ । परियोजनाअन्तर्गत भुरीगाउँ-१ सौर्य आयोजना (२५ मेगावाट), कृष्णपुर सौर्य आयोजना (१५ मेगावाट), न्यू नेपालगञ्ज सौर्य आयोजना (३० मेगावाट), परासी सौर्य आयोजना (१५ मेगावाट) र सुनवल सौर्य आयोजना (१५ मेगावाट) निर्माण गरिनेछ । नेपालमा नवीकरणीय ऊर्जाको उत्पादन विस्तार गर्ने उद्देश्यका साथ अघि बढाइएको यस परियोजनाले देशको ऊर्जा मिश्रणमा सौर्य ऊर्जाको योगदान बढाउने अपेक्षा गरिएको छ । परियोजना सम्पन्न भएपछि १०० मेगावाट स्वच्छ विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने विश्वास गरिएको छ । कम्पनीका अनुसार आयोजनाको कुल अनुमानित लागत ७ अर्ब २७ करोड ६४ लाख ७० हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत करिब ७ करोड २८ लाख रुपैयाँ अनुमान गरिएको छ । आयोजना ७५ः२५ को ऋण-स्वपुँजी अनुपातमा वित्तीय व्यवस्थापन गरिनेछ । यसअन्तर्गत ५ अर्ब ४५ करोड ७० लाख रुपैयाँ बराबरको ऋण सुनिश्चित भइसकेको कम्पनीले जनाएको छ ।