सांसद अमरेश सिंहको प्रश्न : मधेशमा जहिल्यै किन गोली चल्छ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेश कुमार सिंहले मधेश प्रदेशमा पटक-पटक हुने गोलीकाण्डप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारसँग यसको कारणबारे जवाफ मागेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिंहले सुनसरीलगायत मधेशका विभिन्न क्षेत्रमा भएको पछिल्लो घटना दुःखद रहेको बताए । उनले प्रधानमन्त्रीले घटनापछि तत्काल राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने भए पनि ढिलो भए पनि सम्बोधन गरेकोमा धन्यवाद दिए । सिंहले मधेशमा किन बारम्बार गोली चल्ने अवस्था सिर्जना भइरहेको भन्दै प्रश्न उठाए । 'मधेशमा जहिल्यै किन गोली चल्छ ? त्यहाँ त्रासको मनोविज्ञान सिर्जना भएको छ। जानेबित्तिकै गोली चल्ने अवस्था छ,' उनले भने । उनले मधेशप्रति राज्यको दृष्टिकोणमाथि पनि प्रश्न उठाउँदै सरकारले सुरक्षा व्यवस्थामा मात्र जोड दिने तर शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा अपेक्षित लगानी नगरेको आरोप लगाए । मधेशलाई पछाडि पार्ने सोचका साथ व्यवहार गरिएको भन्दै उनले विकासका आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारसँग माग गरे ।
गृहमन्त्रीले गरेको १३ बुँदे सहमतिमाथि कांग्रेसको प्रश्न
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङले धनुषामा गरेको १३ बुँदे सहमतिप्रति प्रतिनिधिसभामा प्रश्न उठाएको छ । मंगलबार (आज) बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सचेतक निष्कल राईले सुनसरीमा भएको धार्मिक तथा साम्प्रदायिक तनावको विषय उठाउँदै सरकारको भूमिकामाथि प्रश्न गरेका हुन् । उनले तनावग्रस्त क्षेत्रमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सरकारलाई प्रभावकारी कदम चाल्न आग्रहसमेत गरे । राईले सुनसरी घटनापछि उत्पन्न भएको तनावका क्रममा प्रभावित क्षेत्रमा पुगेका गृहमन्त्री गुरुङले मधेसमा एक समूहसँग गरेको भनिएको १३ बुँदे सहमति सार्वजनिक रूपमा स्पष्ट पार्न सरकारसँग माग गरेका छन् । उक्त सहमतिका विषयमा विभिन्न राजनीतिक तथा सामाजिक वृत्तमा विवाद र प्रश्न उठिरहेका बेला सरकारले आधिकारिक धारणा दिनुपर्ने उनको भनाइ थियो । कांग्रेसले धार्मिक तथा साम्प्रदायिक संवेदनशीलतासँग जोडिएका विषयमा सरकारले कुनै पनि निर्णय वा सहमति गर्दा संविधान, कानुन र राष्ट्रिय एकतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएको छ । साथै यस्ता घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र सामाजिक सद्भाव पुनःस्थापना गर्न प्रभावकारी पहल गर्न पनि सरकारलाई आग्रह गरेको छ ।
नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ३ जनाको नाम सिफारिस
काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जना उम्मेदवारको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार सिफारिस समितिले कौशल केसी, नागेन्द्र साह र सञ्जीव कुमार देवको नाम मन्त्रिपरिषदमा निर्णयका लागि पठाएको हो । समितिको साउन १७ गते बसेको बैठकबाट तिनै जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । अब मन्त्रिपरिषद्ले सिफारिस भएका उम्मेदवारमध्ये एक जनालाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गर्नेछ। निगमको कार्यकारी निर्देशक पदका लागि मन्त्रालयले असार २ गते खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको थियो । निर्धारित प्रक्रियाअनुसार आवेदन दिएका उम्मेदवारको शैक्षिक योग्यता, व्यावसायिक अनुभव, कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताको मूल्याङ्कनपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिएको हो । सार्वजनिक संस्थानको प्रमुख कार्यकारी छनोटसम्बन्धी प्रचलित व्यवस्था अनुसार सिफारिस समितिले योग्य उम्मेदवारहरूको सूची मन्त्रिपरिषदमा पठाउने र अन्तिम नियुक्तिको निर्णय मन्त्रिपरिषद्ले गर्ने व्यवस्था छ । त्यसअनुसार अब मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल आयल निगमको नयाँ कार्यकारी निर्देशक नियुक्त हुने अपेक्षा गरिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । नेपाल आयल निगम इन्धन आयात, भण्डारण, वितरण तथा आपूर्ति व्यवस्थापन गर्ने मुलुकको प्रमुख सार्वजनिक संस्थान हो ।