स्थानिय चुनावको प्रभाव सुनबजारमा, विवाहको सिजनमै सुनको कारोबार सुस्त, ६० प्रतिशतले घट्यो माग
काठमाडौं । विवाहको सिजनमै सुनको कारोबारमा मन्दी छाएको छ । गत वर्षको तुलनामा यसपाली बैशाखमा सुनको कारोबार ६० प्रतिशतले घटेको व्यवसायी बताउछन् । नेपालमा विवाहको लगन पर्ने सिजनमा अत्याधिक सुनको कारोबार हुनेगरेको छ । तर यसपाली वैवाहिक सिजन बैशाखमा नै सुनको कारोबार सुस्त भएको छ । विगतका वर्षहरुमा दैनिक ५० किलोसम्म सुनको माग भएकोमा यसपाली २० किलो सुनले बजार धानिरहेको सुन व्यवसायी बताउछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष तेजरत्न शाक्यका अनुसार गत वर्षको तुलनामा सुनको माग ६० प्रतिशतले घटेको छ। उनले भने, ‘गत वर्ष हामी बजारमा सुनको अभाव बढेर सरकारसँग कोटा बढाउन माग गरिरहेका थियौं । यसपाली सुनको अभाव भएको सुन्नुपरेको छैन ।’ चुनावले घटायो माग सबैजना बैशाख ३१ गते स्थानिय निकायको चुनावको तयारीमा जुटेकाले सुन बजार प्रभावित भएको शाक्यले बताए । ‘सधै बैशाखमा विवाह व्रतबन्धमा व्यस्त हुने नेपालीहरु यसपाली स्थानिय निकायको चुनावको तयारीमा व्यस्त छन्, ‘उनले भने, ‘पुरा देश नै स्थानिय निकायको चुनावमा व्यस्त हुँदा लगनमा पनि सुन बजार सुस्त भएको हो ।’ सुनको भाउ निरन्तर ओरालो बैशाख महिनाको सुरुवातदेखि सुनको भाउमा निरन्तर ओरालो लागिरहेको छ । सुरुवातदेखि हालसम्ममा सुनको भाउमा तोलामा २२०० रुपैयाँले घटेको छ । मंगलबारसम्ममाको अन्तराष्ट्रिय बजारमा सुनको भाउ प्रति औंष १२२८ अमेरिकी डलरसम्म पुगेको छ । आर्थिक क्षेत्रका अन्य लगानीका क्षेत्रमा सुधार आइरहेका कारणले सुनको भाउ सस्तिएको अनुमान गरिएको छ । सेयर बजार लगायत अन्य क्षेत्रमा लगानी असुरक्षित हुने स्थितिमा लगानीकर्ताले लगानी जोगाउन सुनमा लगानी गर्दछन् । जसकारण सुनलाई ‘सेफ हेभन’ का रुपमा लिइन्छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउमा गिरावट आएपछि नेपाली सुनबजारपनि प्रभावित भएको शाक्यले बताए । आइतबार फ्रान्समा नयाँ राजनीतिक शक्तिका प्रमुख इम्यानुअल मेक्रोनले राष्ट्रपतिय चुनाव जितेपछि आर्थिक क्षेत्रमा प्रभाव पर्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । आगामी जुलाईसम्ममा सुनको भाउ प्रति औंष १२०० अमेरिकी डलर सम्ममा झर्ने अनुमान गरिएको छ । नेपालमा के हुन्छ ? नेपाली बजारमा साताभरमा सुनको भाउ प्रति तोला २०/३० रुपैयाँसम्मले गिरावट आउने सुन व्यवसायीको अनुमान छ । साताको सुरुवातदेखि सोमबारसम्ममा सुनको भाउ स्थिर नै छ । शाक्यले भने, ‘अन्तराष्ट्रिय बजारमा सुन बजार कता जान्छ भन्न सकिने अवस्था छैन । मेरो विचारमा यो सातामा सुनको भाउमा धेरै ठुलो अन्तर आउदैन ।’
कर नै नतिरी २६०० अर्ब डलर सम्पत्ति विदेशी खातामा जम्मा, सरकारलाई ७६७ अर्ब घाटा
नवभारतटाइम्स । एप्पल, गुगल, आइबीएम, फाइजर, पेप्सी, कोक र म्याकडोनल्ड्स जस्ता ठुला अमेरिकी कम्पनीहरुको बिदेशी खातामा बिना कर अत्याधिक रकम जम्मा रहेको खुलासा भएको छ । अमेरिकाको वासिङटनस्थित इन्स्टिच्युट फर ट्याक्स एण्ड इकोनोमिक पोलिसी (आइटीइपी)ले रिपोर्टले ती अमेरिकी ठुला कम्पनीको खातामा बिना करको २६00 अर्ब अमेरिकी डलर रहेको जनाएको छ । यो अमेरिकी कम्पनीको विदेशी खातामा रहेको सबैभन्दा ठुलो रकम हो । यसबाट अमेरिकी सरकारलाई सात सय ६७ अर्ब डलर शुद्ध घाटा पर्न आउँछ । ट्याक्स रहित सो रकम करिब एक सय ५३ मुलुकको कुल जीडीपीको बराबर रहेको छ । उक्त रकमलाई अमेरिकाको रक्षा बजेट भन्दा चार गुणा बढी रहेको भनिएको छ । सन् २०१५ मा अमेरिकी सरकारले सामाजिक सुरक्षा, खाद्य सुरक्षा, चिकित्सा सुविधाका लागि मात्र २.४५ बिलियन अमेरिकी डलर खर्च गरेको थियो । आईटीइपीका रिचार्ड फिलिप्सका अनुसार दस हजार फाइलको छानबिन गरेपछिमात्र यो सूचना प्राप्त भएको हो । अमेरिकाका पाँच सय ठुला कम्पनीमध्ये तीन सय २२ वटाले विदेशमा भारीमात्रामा सम्पती जम्मा गरेको पाइएको छ । कसरी सम्भव भयो ? त्यत्रो ठुलो रकम बिना कर विदेशी खातामा जम्मा गर्न कसरी सम्भव रह्यो । यसको एउटै उत्तर हुन्छ – अमेरिकी ट्याक्स कोड । फिलिपका अनुसार अमेरिकी ट्याक्स कोडमा एउटा विशेष प्रावधान छ, जसमा निहित रहेर ठुला कम्पनीले फाइदा उठाएका हुन्। अमेरिकी ट्याक्स कोडमा एउटा प्रावधान छ जसमा कम्पनीहरुको विदेशमा भएको कमाई जबसम्म अमेरिका फिर्ता आउँदैन तबसम्म कर लगाइदैन । टाइम्स अफ इन्डियाका अनुसार, ‘विदेशी कमाईलाई अमेरिका पठाएपछि मात्र कम्पनीहरुलाई पूरा अमेरिकी कर लगाइन्छ। यसममा पहिल्यै दिएको विदेशी करलाई घटाउने गरिन्छ।” विदेशी रकम भित्र्याउने ट्रम्पको प्रयास ठुलो रकमदेखेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा स्कीमको प्रस्ताव राखेका छन् । जसअनुसार कम्पनीहरुले विदेशी खाताको रकम अमेरिका भित्र्याउदा एकपटकमा दस प्रतिशत कर तिर्नुपर्छ । यद्दपी अमेरिकामा कर्पोरेट ट्याक्सको दर ३५ प्रतिशत छ। कम्पनीहरुलाई ट्याक्समा भारी छूट अफर दिएर देशले बेहोरेको घाटा जोगाउने उनको रणनीति रहेको छ। यसअघि स्न २००४मा पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले पनि यस्तै स्कीम ल्याएका थिए । जसअनुसार एकपटकमा ५.२५ प्रतिशत कर तिर्नुपर्थ्यो । यद्दपी त्यो बेलामा सो योजनाले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेन । किनभने स्वाभाविकरुपमा कम्पनीहरुले विदेशमा कर रहित रकम राख्नुको साटो थोरै दरमा कर तिर्नु उचित ठानेनन् । फिलिप्सका अनुसार यसरी विदेशमा ठुलो रकम राख्ने कम्पनीहरुको प्रवृत्ती रोक्न अमेरिकाले तुरुन्त ती रकममा कर लगाउने प्रावधान ल्याउनु जरुरी रहेको छ । ट्याक्समा छूट नपाएपछि कम्पनीहरुले आफै विदेशी खातामा रकम राख्न बन्द गर्ने उनले बताए।
बाहुबली–२ को कमाई ७५० करोड भारु
काठमाडौं । भारतीय चलचित्र बाहुबली–२ ले प्रदर्शनको एक हप्तामै ७५० करोड भारुको कारोबार गरेको छ । जम्मा २५० करोड भारुमा निर्माण गरिएको बाहुबली–२ ले संसारभरबाट एक हप्तामै ७५० करोड आम्लानी गरेको हो । यो चलचित्रले दैनिक १०० करोड भन्दा धेरै आम्दानी गरिरहेको छ । बाहुबलीको पहिलो पार्टले ६५० करोड आम्दानी गरेको थियो । हिन्दी, तामेल, मलायम र तेलगु भाषामा तयार भएको बाहुबली २ ले सबै भन्दा धेरै कमाउने भारतीय फिल्मको रेकर्ड बनाउने पक्का भएको छ । आमिर खानको पिकेले सबै भन्दा बढि ७९२ करोड कमाएको रेकर्ड छ । बाहुबली २ ले पिकेको रेकर्ड तोड्न अब ४२ करोड मात्रै बाँकी छ । अझै पनि यो फिल्म हेर्न दर्शक ओइरिररहेका छन् ।