निर्वाचन क्षेत्र निर्धारण र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन क्षेत्र निर्धारण विधेयक २०७३ र गाउँ तथा नगरपालिकाको वडाको सङ्ख्या निर्धारण विधेयक २०७३ लाई शुक्रबार प्रमाणीकरण गरेका । राष्ट्रपति भण्डारीले ती दुवै विधेयक नेपालको संविधानअनुरुप प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति कार्यालयका अनुसार व्यवस्थापिका–संसद्को यही चैत ७ गतेको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती दुवै विधेयक पेस भएका थिए । रासस

७४४ वटै स्थानीय तहलाई एक/एक करोड अनुदान, तत्कालिन पुर्वाधारमा खर्च गरिने

काठमाडौं । सरकारले नव गठित ७४४ वटै स्थानिय तहलाई एक एक करोड नगद अनुदान प्रदान गरेको छ । अर्थ मन्त्रालयले बुधबार सबै स्थानिय तहको भौतिक पूर्वाधार बिकासमा खर्च गर्न गरि ७४४ करोड रुपैंयाँ अनुदान निकासा गरेको हो । नयाँ बनेका गाउँ पालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको पूर्वाधार विकासका लागि एक करोडका दरले रकम निकासा गरिएको उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । यसले जनताले स्थानीय निकायको पुनःसंरचना भएको अनुभुती गर्ने अपेक्षा अर्थ मन्त्रालयले गरेको महराले बताए । ‘स्थानिय निकायको पुनःसंरचना हुने तर आवश्यक पर्ने रकम नहुँदा, स्थानीय तहको पुनःसंरचना बोर्डमा मात्र सीमीत नहोस् भनेर यो रकम उपलब्ध गराएका हौं’, महराले भने ।

अब राजनीतिक पार्टीले प्रत्यक्षमा एक सिट र समानुपातिकमा ३ प्रतिशत मत ल्याउनै पर्ने, साना दललाई संकट

काठमाडौं । अब राजनीतिक पार्टीहरुले प्रत्यक्षमा एक सिट र समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने भएको छ । राष्ट्रिय पार्टी बन्नका लागि प्रत्यक्ष तर्फ एक सिट र समानुपातिक तर्फ ३ प्रतिशत मत ल्याउनै पर्ने प्रावधानसहितको राजनीतिक दल सम्बन्धी विधेयक संसदमा पुगेको हो । सो विधेयकले बुधबार बसेको राज्य व्यवस्था समितिको बैठकले बहुमतका आधारमा पास गरे संसदमा पठाउने निर्णय गरेको हो । साना दलहरुको बिरोधका बावजुद एक जना प्रत्यक्ष सांसद र ३ प्रतिशत समानुपातिक मत नल्याए राष्ट्रिय पार्टीको मान्यता नपाउने व्यवस्थासहितको मस्यौदा समितिले पास गरेको हो । निर्वाचन आयोगले भने ३ प्रतिशत थ्रेस होल्डसहितको मस्यौदा अघि बढाएको थियो । राज्य व्यवस्था समितिले एक जना प्रत्यक्ष सांसद पनि जित्नै पर्ने व्यवस्था थप गरेर विधेयक पास गरेको हो । अब साना राजनीतिक दलहरुको अस्थित्व संकटमा पर्नेछ ।