काँठका चार नगरपालिकाः काँग्रेस/एमालेको २/२ मा अग्रता

काठमाडौँ । काठमाडौं उपत्यकाको उत्तरपूर्वी भेगका चार नगरपालिकामा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका सन्तोष चालिसेले ५७, नेकपा (एमाले)का पुण्यप्रसाद चौलागार्इंले ४९, नेकपा (माओवादी केन्द्र)का टिआर नेपालले २६ र राप्रपाका श्यामकृष्ण श्रेष्ठले एक मत प्राप्त गरेका छन । त्यस्तै, उपप्रमुखमा काँग्रेसका शान्ति नेपाल र एमालेका शान्ति श्रेष्ठले बराबर ५६ मत पाएको नगर निर्वाचन अधिकृत विमला शर्मा सुवेदीले राससलाई जानकारी दिइन । उपप्रमुखमा माओवादी केन्द्रकी रेनुका कार्कीले २५ र राप्रपाकी अञ्जना श्रेष्ठले पाँच मत प्राप्त गरेका छन । कागेश्वरी मनोहरा नगरपालिकामा ९०० मतको गणना सकिँदा काँग्रेसका उपेन्द्र कार्कीले ३७२, एमालेका कृष्णहरि थापाले २१५, नेकपा (माओवादी केन्द्र)का महेश्वर फुयाँलले १४४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले १५ मत प्राप्त गरेका छन । यसैगरी, उपप्रमुखमा काँग्रेसका अनिता अधिकारीले ३६९, एमालेका बिन्दु सिम्खडाले २१५, माओवादीका रुकु रणपालले ११८ र राप्रपाका कुस्मा नगरकोटीले २० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत प्रकाश कोइरालाले बताए । शङ्खरापुर नगरपालिकामा एमालेका सुवर्ण श्रेष्ठले ६६६, माओवादी केन्द्रका कृष्णराज सुवेदीले ४६०, काँग्रेसका शङ्कर तिवारीले ३४२, स्वतन्त्र उम्मेदवार ठाकुरप्रसाद खनालले १३३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका मीजेन्द्रकाजी श्रेष्ठले ६० मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत भुवनेश्वर पौडेलले बताए । उपप्रमुखमा एमालेका शुक्रलक्ष्मी श्रेष्ठ ७१४, माओवादी केन्द्रका इन्द्रकुमारी तामाङ ५१५, नेपाली काँग्रेसका मञ्जु खड्काले २९९ र राप्रपाका बेली तामाङले ७९ मत प्राप्त गरेका छन । बूढानीलकण्ठ नगरपालिकामा एमालेका उद्धवप्रसाद खरेलले ८७९, नेपाली काँग्रेसका राजुराज श्रेष्ठले ५५५, माओवादी केन्द्रका रवीन अधिकारीले २४८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सानुकान्छा श्रेष्ठले ७२ मत प्राप्त गरेका छन । यसैगरी, उपप्रमुखमा एमालेका रमादेवी राईले ८७५, काँग्रेसका सुभद्रा खड्काले ५७१, माओवादी केन्द्रका होमकुमारी दुलालले २७३ र राप्रपाका सावित्रा थापाले ४६ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले जानकारी गराए । चारैवटा नगरपालिकामा एउटै वडाको पनि मतगणना नसकिएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रासस

मनाङको चामेमा एमालेको पहिलो विजय, गाउँपालिका अध्यक्षमा घले

काठमाडौं । मनाङको सदरमुकाम चामे गाउँपालिकामा नेकपा(एमाले)का लोकेन्द्रवहादुर घले विजयी भएका छन् । उनी एमालेका तर्फबाट मनाङमा निर्वाचन जित्ने पहिलो उम्मेदवार बनेका हुन् । घलेले २१४ मत प्राप्त गरी चामे गाउँपालिकाको प्रमुख निर्वाचित भएका हुन् । घलेका प्रतिद्धन्द्धी नेपाली काँग्रेसकी अनिता लामाले १७३ मत प्राप्त गरेकी थिइन् । चामेको उपप्रमुखमा भने कांग्रेसका मुनिन्द्रजंग गुरुङ बिजयी भएका छन् ।

अज्ञात व्यक्तिको गोली प्रहारबाट एकको मृत्यु

बनेपा, ३१ वैशाख । अज्ञात व्यक्तिको गोली प्रहारबाट नवबुद्ध नगरपालिका–४ निवासी २८ वर्षीय नवराज पाठकको मृत्यु भएको छ । शनिबार राति घर बाहिर निस्केका बेला पाठकको दाहिने छातीमा गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको प्रनाउ राईले जानकारी दिए । रासस