माओवादी केन्द्रका मेयर र साझाको धरौटी जफत
काठमाडौं । महानगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर उम्मेदवारको जमानत जफत भएको छ । मेयरका उम्मेदवार सर्वोत्तम डंगोल र उपमेयरकी उम्मेदवार सुशीला पौडेल दुबैको जमानत जफत भएको छ । डंगोलले ७ हजार ९ सय ६ मत ल्याएका थिए भने पौडेलले १० हजार ४ सय ४८ मत ल्याएकी थिइन्। खसेको कुल मत मध्ये डंगोलले ४.१३ प्रतिशत मत ल्याए भने पौडेलले ५.४६ मत ल्याइन्। माओवादी केन्द्रका काठमाडौं इन्चार्ज लेखनाथ न्यौपानेले काठमाडौं महानगरमा संगठन कमजोर भएका कारण हार्नु परेको बताएका छन्। – स्थानीय तह निर्वाचनको नियमावली अनुसार निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेद्वारको जमानत जफत हुने प्रावधान छ। – प्रावधान अनुसार काठमाडौंमा माओवादी केन्द्रका मेयरसहित २५ जनाको नजमानत जफत भएको छ। – छोटो समयमा चर्चा कमाएका साझा पार्टीका उम्मेद्वार किशोर थापाले पनि जमानत जोगाउन सकेनन्। थापाले १८ हजार ४ सय ९६ अर्थात ९.६८ प्रतिशत मत ल्याएका थिए । काठमाडौं महानगरपालिकामा एक लाख ९७ हजार २ सय २७ मत खसेको थियो। जसम्ध्ये १ लाख ९१ हजार ४१ मत सदर भएको थियो। यसरी धरौटी जोगाउन कम्तिमा १९ हजार मत ल्याउनुपर्ने थियो। काठमाडौंबाट एमाले, कांग्रेस र विवेकशील नेपाली दलले मात्र जमानत जोगाएको थियो। नागरिक दैनिकबाट ।
निर्वाचनको मिति सार्ने सरकारको निर्णय, असार ९ गते दोश्रो चरणको चुनाव
काठमाडौं । सरकारले स्थानिय तहको दोश्रो निर्वाचन असार ९ गतेलाई सार्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले असार ९ गतेका लागि स्थानिय तहको दोश्रो चरणको निर्वाचन सार्ने निर्णय गरेको हो । मधेश केन्द्रित राजपालाई निर्वाचनमा सहभागी गराउन भन्दै मन्त्रिपरिषदले निर्वाचनको मिति सार्ने निर्णय गरेको हो ।
प्रत्येक घरधुरीले ४० बिरुवा रोप्नै पर्ने, नरोपे सरकारी अनुदान रोक्का
कालीकोट। जिल्लाको रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बरालले सुन्दर रास्कोट, हरियाली रास्कोट बनाउने प्रत्येक घरधुरीले ४० वटा बिरुवा लगाउनै पर्ने बताएका छन् । नवनिर्वाचित प्रमुख विजयी भएपछि जिल्ला सदरमुकाम आइपुगेका प्रमुख बरालले सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै आफूले रास्कोट नगरको विकास गर्नका लागि अनिवार्य रुपमा पहिलो चरणमा हरियाली रास्कोटका लागि अघि बढ्ने बताएका छन् । जिल्लाका विभिन्न निकायमा पहल गरेर आगामी तीनदेखि पाँच वर्षभित्र हरियाली रास्कोट बनेर छाड्ने बताएका छन् । उनले भने -‘‘अहिले ग्रामीण पहुँच कार्यक्रमले सडक निर्माणका क्रममा थालेको वृक्षरोपण कार्यक्रमले स्थानीयस्तरमा प्रभाव कायम गरेको भन्दै जिल्ला वन कार्यालयलगायतका निकायसँग पहल गर्नेछु ।’’ उनले हरियाली रास्कोटमा सबैले साथ दिने विश्वास गरेका छन् । यदि कसैले अटेर गरेमा सरकारी अनुदानसमेत रोक्का गनै सकिने बताएका छन्। रास्कोटमा पहिलो चरणमा नगरबस सञ्चालनमा ल्याउने, एक सय वाट क्षमताको सामुदायिक रेडियो सञ्चालन गर्ने र एक किलोवाट विद्युत्समेत उत्पादन गर्ने योजना रहेको बरालले बताएका हुन् । रासस