हिमालयन बैंकको अध्यक्षमा गौतम

काठमाडौं । हिमालयन बैंकको अध्यक्षमा तुलसीप्रसाद गौतम चयन भएका छन् । बुधबार सम्पन्न बैंकको २७औं वार्षिक साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले गौतमलाई सर्वसम्मत रूपमा सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको हाे । बैंकलाई प्रतिस्पर्धी बनाउन आफूले सक्दो प्रयास गर्ने अध्यक्ष गौतमले बताए । ‘बैंकलाई राम्रो बनाउने मेरो पहिलो प्राथमिकता हो, ठूलो बैंक बनाउने भन्दा पनि प्रतिस्पर्धी र अब्बल बैंक बनाउन सक्दो प्रयास गर्छु’, अध्यक्ष गौतमले विकासन्युजसँग भने । बैंकमा सर्वसाधारणको १५ प्रतिशत मात्रै सेयर स्वामित्व छ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणकाे सेयर हिस्सा कम्तिमा ३० प्रतिशत बनाउन निर्देशन दिईसकेको छ । बैंकले प्रमोटर सेयर साधारणमा परिणत गरेर साधारण सेयरको हिस्सा बढाउने रणनीति लिएको छ । त्यस्तै, सभाले संस्थापक सेयरधनीको तर्फबाट ५ जनालाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ । सभाले आगामी कार्यकालको लागि आशिष शर्मा, प्रचण्डबहादुर श्रेष्ठ, सुनिलबहादुर थापा, फैसल लालानी र तुलसी प्रसाद गौतमलाई संस्थापक सञ्चालकमा चयन गरेको हो । सञ्चालक पदको निर्वाचनको लागि यी ५ जनाको मात्रै उमेदवारी परेकाले सभाले निर्विरोध निर्वाचित गरेको हो ।

नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडाैं । नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई बुधबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा  आयोजित विशेष समारोहमा गृहसचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिह्नबाट सुशोभित गरेका हुन् । मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आजदेखि लागू हुने गरी उनलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । यसअघिका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश भएपछि सरकारले ज्ञवालीलाई प्रहरी नायब महानिरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा गरेको हो । उक्त समारोहमा गृहसचिव न्यौपानेले नागरिकको शान्ति सुरक्षा र अमनचयनमा सक्रिय हुन प्रहरी नेतृत्वलाई आग्रह गरे । प्रहरी सङ्गठनको सक्रियताको कमिले आपराधिक क्रियाकलाप मौलाउन सक्नेतर्फ सङ्केत गर्दै उनले त्यसको समीक्षा गरेर अघि बढ्न निर्देशन दिए । उनले नेतृत्व परिवर्तन भए पनि कार्यसम्पादन सम्झौता उही रहेको उल्लेख गर्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । उनले प्रहरी अधिकारी व्यक्तिवादी भावना बढेकोतर्फ सङ्केत गर्दै आफूलाई सच्याउनु जरुरी छ भने । ‘माथिल्लो तहमा प्रतिष्पर्धात्मक भावना बढी भएको छ, उछिन्न दौडनेभन्दा व्यावसायिक काममा ध्यान दिनुपर्छ, व्यक्ति केन्द्रित दौडले व्यावसायिकतामा कतै न कतै सम्झौता भएको छ’, प्रहरी अधिकृतलाई इङ्कित गर्दै गृहसचिव न्यौपानेले भने । प्रहरी समायोजन र आपराधिक गतिविधि निस्तेज पार्न केही चुनौती रहेको स्वीकार गर्दै उनले त्यसमा सङ्गठनको व्यावसायिकता प्रदर्शन गर्दै सामूहिक रुपमा अघि बढ्नुपर्नेमा जोड दिए । उनले हालै मात्रै प्रहरीसम्बन्धी दुई विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेकाले अब छिट्टै आवश्यक प्रक्रिया अघि बढ्ने बताए । हरेक हप्ता गृहमन्त्रालयमा उच्च व्यवस्थापनको समीक्षा बैठक बस्ने जानकारी दिँदै उनले बैठकले सुरक्षाको क्षेत्रमा उत्पन्न हुने समस्या समाधानमा सहयेग गर्ने विश्वास व्यक्त गरे । प्रहरी कर्मचारीलाई उत्प्रेरित गर्नुपर्ने र अपराधलाई निस्तेज पार्नुपर्ने आजको आवश्यकता औँल्याउँदै उनले समृद्ध नेपाल निर्माणमा प्रहरीको भूमिका महत्वपूर्ण हुने बताए । गृहसचिव न्यौपानेले भने, ‘शान्ति सुरक्षा कामय गर्न चुक्यौँ भने समृद्ध राष्ट्र निर्माण अभियानमा असर पर्छ, यसतर्फ प्रहरी अधिकृतको ध्यानाकर्षण गराउनु चाहन्छु ।’ अपराधी नियन्त्रण र प्रहरी समायोजन वर्तमानका चुनौतीः नवनियुक्त महानिरीक्षक ज्ञवाली उक्त समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक ज्ञवालीले अपराध नियन्त्रण र प्रहरी समायोजन वर्तमान समयमा प्रहरीका लागि चुनौती रहेको उल्लेख गर्दै उक्त चुनौती सामना गर्न प्रहरी सङ्गठन तयार रहेको बताएका छन् । मुलुक सङ्घीयतामा गए पनि कानूनतः सबै प्रक्रिया सङ्घीयतामा गइनसकेको उनको भनाइ थियो । संविधान कार्यान्वयन, नागरिकको अधिकार संरक्षण गर्न महानिरीक्षकको हैसियतमा आफू कटिबद्ध रहेको उल्लेख प्रहरी महानिरीक्षकक ज्ञवालीले गृहमन्त्रालयको मार्ग निर्देशनलाई अक्षरशः कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाए । उनले अवाञ्छित र विध्वंसात्मक गतिविधि निस्तेज गरी कानूनको पालनामा आफूले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । उनले समृद्धि, समुन्नत र सुशासनको क्षितिजमा उदाउँदै गरेको मुलुकको छेकवारलाई परास्त गर्ने विश्वससमेत दिलाए । आजको जनउत्तरदायी युगमा प्रहरीले नागरिकको मन जितेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै ज्ञवालीले प्रहरीको भेषमा कुनै अवाञ्छित गतिविधि नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रहरी कर्मचारीको मनोबल उच्च राख्नमा नै आफ्नो ध्यान जाने उनको भनाइ थियो ।रासस

वाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्रीमा रामेश्वर फुयाँल नियुक्त

हेटौँडा । वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त भएका छन् । उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले हिजो भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गरेकाे र आज शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । यसअघि संविधानसभा सदस्यसमेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन्। तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आएका थिए । वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाँल मन्त्री बन्ने चर्चा निकै चलेको थियो । वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहेका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन् ।रासस