लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष घिमिरेले लिए सपथ

काठमाडौं । लक्ष्मी बैंकका नवनियुक्त अध्यक्ष सुशील घिमिरेले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो । सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो । नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव छ ।

वैदेशिक रोजगार विभागको महानिर्देशकमा कुमार दाहाल

काठमाडौं । वैदेशिक रोजगार विभागको महानिर्देशक कुमार दाहाललाई नियुक्त गरिएको छ । यातायात विभागका पूर्व महानिर्देशक तथा राष्ट्रिय सूचना आयोगका सहसचिव दाहाललाई वैदेशिक रोजगार विभागमा नियुक्त गरिएको हो । विभागका निवर्तमान महानिर्देशक भीष्मकुमार भुसाल १० महिनाको कार्यकाल लगतै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त भएसँगै दाहाललाई विभागमा ल्याइएको हो । विभागको महानिर्देशक पदमा दाहाल नियुक्त भएसँगै वैदेशिक रोजगारीको क्षेत्रमा भएका समस्यालाई समाधान गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएका छन् । त्यस्तै निवर्तमान महानिर्देशक डा. भुसालले यस क्षेत्रमा धेरै चुनौती बताए । वैदेशिक रोजगार विभागका २० औं महानिर्देशक दाहाल आइतबारदेखि कार्यालय आउने भन्दै हाल आफू राष्ट्रिय सूचना आयोगमा नै रहेको जानकारी दिएका छन् ।

डिप्रोक्स लघुवित्तको सीईओमा शेषरमण आचार्य

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको प्रमखु कार्यकारी अधिकृत(सीईओ)मा शेषरमण आचार्य नियुक्त भएका छन् । माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई संस्थाको सीईओ पदमा नियुक्त गरेको हो । बैठकले आचार्यलाई माघ २० गतेदेखि लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ आचार्यले आगामी चार वर्षसम्म उक्त पदको कार्यभार सम्हाल्ने छन् ।