सेञ्चुरी बैंकको डेपुटी सीईओमा मनोज न्यौपाने नियुक्त
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ)मा मनोज न्यौपाने नियुक्त भएका छन् । साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेलाई साउन २८ गते देखिनै लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । २ वर्षदेखि सेन्चुरी बैंकको प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेले लक्ष्मी बैंक लिमिटेडबाट बैंकिङ्ग सेवा प्रारम्भ गरेका हुन् । हिमालयन बैंक लिमिटेड तथा सनराईज बैंक लिमिटेडमा गरी करिब १५ वर्षको बैंकिङ्ग कार्यानुभव हासिल गरेका छन् । न्यौपाने बैंकको प्रमुख सूचना अधिकारी पनि हुन् । न्यौपानले काठमाडौं विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनको लगनशीलता, बजार पहुँच, बैंकिङ्ग तथा वित्त बजार सम्बन्धी ज्ञान तथा प्रभावकारी नेतृत्वमा बैंक आगामी दिनहरुमा अझ गतिशील भई सफलताका साथ अगाडि बढ्ने बैंक सञ्चालक समितिको विश्वास छ ।
शिवम् सिमेन्टका सिईओ देवकोटाको राजीनामा स्वीकृत, मारुलाई नयाँ जिम्मेवारी
काठमाडौँ । शिवम् सिमेन्टका कार्यकारी सञ्चालक रघुनन्दन मारुले प्रमुख कार्यकारी अधिकृत(सिईओ) समेतको जिम्मेवारी सम्हाल्ने भएका छन् । उक्त उद्योगका सिईओ सजन देवकोटाले साउन २१ गते दिएको राजीनामा साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । सिईओ देवकोटाको राजीनामा स्वीकृत गर्दै सोही दिनदेखि रिक्त रहेको सिईओको जिम्मेवारी हाललाई कार्यकारी सञ्चालक मारुलाई दिने निर्णय भएको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् ।
सन्जिव मानन्धर प्राइम बैंकको निमित्त सिईओमा नियुक्त
काठमाडौं । राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त भएपछि बैंक संचालक समितिको बैठकले जनरल म्यानेजर सन्जिब मानन्धरलाई निमित्त सीईओमा नियुक्त गरेको छ । मानन्धरलाई यसअघि नै उक्त बैंकको सिईओ बनाउने प्रक्रिया अघि बढाइएको थियो । वहालवाला सिईओ पदमुक्त भएपछि अहिले निमित्त सिईओको कार्यभार दिइएको छ । मंगलबार साँझ बसेको संचालक समितिको बैठकले सन्जिब मानन्धरलाई निमित्त सीईओको जिम्मेवारी दिएको बैंकका सञ्चालक गजेन्द्र बुढाथोकीले जानकारी दिए । नव नियुक्त मानन्धर यसअघि प्राइम बैंकमै जनरल म्यानेजरको भूमिकामा रहेका थिए । नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गरी बैंकका संचालक तथा सीईओहरुलाई उमेर हद लागू गरेको थियो । सो निर्देशन पश्चात नारायणदास मानन्धर सीईओबाट पदमुक्त भए र मानन्धरलाई निमित्त सिईओको कार्यभार दिइएको हो । सीईओ र सञ्चालक हुन उमेर हद तोकियो, सीईओको ६५ वर्ष र सञ्चालकको ७० वर्ष