ज्योति लाईफ इन्स्योरेन्सको अध्यक्षमा नन्दकिशोर शर्मा चयन

काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बैशाख १२ गते बसेको संचालक समितिको बैठकबाट संचालक नन्दकिशोर शर्मा अध्यक्षमा चयन भएका छन् । कार्यव्यस्तताका कारण पशुपति मुरारकाले दिएको राजिनामा बैशाख १ गते बसेको बैठकले स्वीकृत गरेको थियो । नवनियुक्त अध्यक्ष शर्माले बीमा समितिबाट शपथ लिए पश्चात अध्यक्षको कार्यभार सम्हाल्ने छने् । शर्माले आईसिएफसि फाईनान्सको संचालक तथा विभिन्न जीवन बीमा तथा वित्तीय संस्थाहरुमा संचालक तथा प्रबन्धनिर्देशकको रुपमा लामो कार्य अनुभव हासिल गरेका छन् । कम्पनीका उच्च पदाधिकारी र संचालक सहित कम्पनीको बैठक कक्षमा आयोजित एक कार्यक्रममा निवर्तमान मुरारकालाई कम्पनीको स्थापनाकालदेखि पुर्याएको योगदानप्रति आभार व्यक्त गर्देै बिदाई गर्नुको साथै हाल चयन हुनु भएका अध्यक्ष शर्मालाई स्वागत गरिएको छ । कम्पनीको अध्यक्षको रुपमा नरहेतापनि सदैव कम्पनीलाई अवश्यक सल्लाह सुझावहरु निरन्तर प्रदान गरिरहने मुरारकाले उक्त कार्यक्रममा बताए ।

जनता क्यापिटलको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त

काठमाडौँ । जनता बैंक नेपाल लिमिटेडको सहायक कम्पनी जनता क्यापिटल लिमिटेडको अध्यक्षमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । जनता बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य बैंकको प्रतिनिधित्व गर्दै जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका हुन् । जनता क्यापिटल लिमिटेडको अध्यक्षमा नियुक्त भएका शाक्यको विभिन्न बैंक तथा वित्तीय संस्थामा दुई दशक भन्दा बढी लामो अनुभव रहेको छ । जनता बैंक नेपालको पूर्ण स्वामित्वमा स्थापित जनता क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्टेशन, लगानी व्यवस्थापन तथा संस्थागत परामर्श सेवा लगायतका प्रचलित ऐन कानुन एवम् नियमनकारी व्यवस्था बमोजिम मर्चेन्ट बैंकिङ्ग कम्पनीले गर्न सक्ने सम्पूर्ण सेवाहरु प्रदानगर्न इजाजत प्राप्त संस्था हो । नेपाल धितोपत्रबोर्डबाट ईजाजत प्राप्त गरेसंगै जनता क्यापिटलले जनता बैंक नेपाल लिमिटेड र स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रार सेवा प्रदान गर्न शुरु गरिसकेको छ । अरु थुप्रै संस्थाहरुसँग शेयर रजिष्ट्रारको सम्झौता गर्ने तयारी गरिरहेको जनता क्यापिटलले लगानी व्यवस्थापन तथा संस्थागत परामर्श लगायतका सेवाहरु समेत प्रदान गर्ने तयारी गरिरहेको जनाएको छ ।

रघुराम विष्ट कृषि विकास बैंक संचालक समिति सदस्यमा नियुक्त

काठमाडौँ । कृषि बिकास बैंक लि. बैंक संचालक समिति सदस्यमा नेपाल सरकार कृषि तथा पशुपछी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्रिस्तरीय)को निर्णय अनुसारसहसचिव रघुराम विष्ट नियुक्ति भएका छन् । नवनियूक्त संचालक सदस्यलाई कृषि विकास बैंक लि. संचालक समिति अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले बैंकको केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौमा बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराए । उक्त अवसरमा कृषि विकास बैंक लि. संचालक सदस्यहरु विष्णुप्रसाद नेपाल, डा. इन्दिरा श्रेष्ठ (मास्के),संजिव पौडेल, हरिप्रसाद पराजुली, विनोदकुमार गुरागाईँ, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, कम्पनी सचिव निर्मलप्रसाद उपाध्याय र बैंकका प्रवक्ता हिमलाल पौडेलको समेत उपस्थित रहेको थियो ।