साँग्रिला डेभलपमेन्ट बैंकका अध्यक्षले लिए शपथ ग्रहण, सञ्चालक समितिमा ६ जना

काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा अच्युुतप्रसाद प्रसाई चयन भएका छन् । पुस ३० गते बसेको संस्थाको २२४औँ बैंठकले सञ्चालक समितिको अध्यक्षमा प्रसाईलाई चयन गरेको हो । नवनियुक्त अध्यक्ष प्रसाईले माघ १ गते नेपाल राष्ट्र बैंकका डेपुुटी गभर्नर चिन्तामणी शिवाकोटी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लागुु भएपछि ऐनमा बैंक तथा वित्तीय संस्थाका अध्यक्षले निर्वाचित भएसंगै तोकीएको ढाँचामा नेपाल राष्ट्र बैंक समक्ष शपथ लिनुु पर्ने व्यवस्था बमोजिम प्रसाईले शपथ लिएका हुन् । सोमबार सम्पन्न चौंधौ बार्षिक साधारण सभाले संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ३/३ जना गरि जम्मा ६ जनालाई संचालकमा निर्वाचित गरेको हो ।

आरएसडिसी लघुवित्तको अध्यक्षमा राजेन्द्रप्रसाद दाहाल

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल निर्वाचित भएका छन् । हालै सम्पन्न संस्थाको सञ्चालक समितिको बैठकले दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । संस्थाको ७८औँ सञ्चालक समितिको बैठक पुस २९ गते बसेको थियो ।

नेपाल बैंकको अध्यक्षमा वासुदेव अधिकारी

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा वासुदेव अधिकारी चयन भएका छन् । कम्पनीको पुस २५ गते सम्पन्न बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई बैंकको अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो । यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जनार्दन शर्माले सम्हालेका थिए । उनको ४ वर्षे कार्यकाल सकिएपछि बैंकले कम्पनीको नयाँ अध्यक्ष पदमा अधिकारीलाई चयन गरेको हो । नेपाल सरकार, अर्थ मन्त्रालयबाट सञ्चालक समिति सदस्यमा नियुक्त भई आएका नवनिर्वाचित अध्यक्ष अधिकारीले बैंकको आगामी चार वर्षे कार्यकाल सम्हाल्नेछन् । साथै, बैंक सञ्चालक समितिको सदस्य पदमा रहेका डम्बरबहादुर भण्डारीको पनि ४ वर्षे कार्यकाल सकिएको कम्पनीले जनाएको छ ।