रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित, यस्तो छ नयाँ नेतृत्व

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । विहीबार राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । पोखरेल आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । साधारण सभाले सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लिका चन्द्र टण्डनलाई उपाध्यक्ष, नेपाल रेमिट इ. प्रा.लिका रितेश मित्तल महासचिवमा निर्वाचित गरेको छ । सुर्य रेमिटका संजय सिग्देल कोषाध्यक्ष, आइपे रेमिटका इन्द्र शर्मा सचिव चुनिएका छन् । कार्यसमिति सदस्यहरुमा युमा श्रेष्ठ (हिमालयन बैंक), प्रविन अधिकारी (युनाइटेड रेमिट), दीपेन्द्र खनाल (इजीलिकं) चुनिएका छन् । विधानअनुसार निवर्तमान अध्यक्ष दिवाकर थापा कार्यसमितिमा रहनेछन् । कार्यसमितिको अध्यक्षमा चयन भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले रेमिटेन्स क्षेत्रका समस्या समाधानमा आफ्नो नेतृत्व निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।सबै रेमिटेन्स कम्पनीहरू संगठित भइ आफ्ना समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने उद्देश्यले २०६० सालमा नेपाल रेमिटर्स एसोसिएसनको स्थापना गरिएको थियो ।

आरम्भ माइक्रोफाइनान्सको सिइओमा पवनकुमार श्रेष्ठ नियुक्त

काठमाडौँ । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा पवनकुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको यही पुस १९ गते बसेको बैठकले श्रेष्ठलाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । बुटवल–६ रुपन्देही निवासी श्रेष्ठलाई आगामी ४ वर्षको लागि सिइओ नियुक्त गरिएको कम्पनी सचिव सुवासमणी बस्तोकोटीले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको पत्रमा उल्लेख छ । श्रेष्ठको कार्यकाल आगामी माघ ७ गतेदेखि लागु हुने जनाइएको छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सको सीईओमा रमेशकुमार भट्टराई

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रमेशकुमार भट्टराई नियुक्त भएका छन् । इन्स्योरेन्सले पुस १७ गतेदेखि लागू हुने गरी भट्टाईलाई कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ भट्टाराईले आगामी ४ वर्षसम्म कम्पनीको सीईओको कार्यभार सम्हाल्ने छन् । वाणिज्य विषयमा स्नाकोत्तर र कानूनमा स्नातक तह अध्ययन गरेका सीईओ भट्टराईसँग बीमा तथा बैकिङ क्षेत्रको ३५ वर्षको कार्य अनुभव रहेको छ । साथै, भट्टराईले बीमा तथा बैंकिङ क्षेत्रमा प्रमुख कार्यकारी अधिकृत रूपमा महालक्ष्मी फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकमा २२ वर्ष भन्दा बढी समय काम गरिसकेका छन् ।