एस डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रवण ज्योति कंसाकार नियुक्त

काठमाडौं । एस डेभलपमेन्ट बैंकको सञ्चालकमा श्रवण ज्योति कंसाकार नियुक्त भएका छन् । चैत २१ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई आगामी चार वर्षको लागि सञ्चालकमा चयन गरेको हो । बैठकले कंसाकारलाई संस्थापक शेयरधनी समूहको तर्फबाट सञ्चालकमा नियुक्त गरेको हो । कंसाकारको कार्यकाल चैत २१ गतेदेखि नै शुरु भएको छ ।

नेपाल उद्योग परिसंघको उपाध्यक्षमा राजेश कुमार अग्रवाल नियुक्त

काठमाडौं । नेपाल उद्योग परिसंघको हालै सम्पन्न राष्ट्रिय परिषदको पूर्ण बैठकले परिसंघको रिक्त रोजगारदाता परिषदको संयोजकमा राजेश कुमार अग्रवाललाई मनोनय नगरेको छ । परिसंघको विधानअनुसार रोजगारदाता परिषदको संयोजक परिसंघको पदेन उपाध्यक्ष हुने व्यवस्था छ । राष्ट्रिय परिषदका बरिष्ठ सदस्य राजेश कुमार अग्रवाललाई संयोजकमा मनोनित गरियोस भनि परिसंघको विधानअनुसार पदाधिकारी समितिको शिफारिसमा गभर्निङ काउन्सीलले गरेको प्रस्ताव राष्ट्रिय परिषदले अनुमोदन गरेको हो । नवनियुक्त उपाध्यक्ष र रोजगादाता परिषदका संयोजक अग्रवालले परिसंघको तर्फबाट नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय तथा मातहतका निकाय, अन्तर्राष्ट्रिय श्रम संगठन, व्यवस्थापिका संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्वन्ध समितिमा प्रतिनिधित्व रहने परिसंघले जनाएको छ । औद्योगिक क्षेत्रमा सुमधुर श्रम सम्वन्ध कायम गर्नका लागि विभिन्न श्रम संगठन तथा श्रमिक तथा रोजगादाताका पेशागत संगठन र सरकारसँगको सहकार्यमा दुई पक्षीय तथा त्रिपक्षीय संयन्त्रमा रहेर श्रम तथा रोजगार क्षेत्रसँग सम्वन्धित नीति तथा ऐन कानुन निर्माण र त्यसको कार्यान्वयनका क्रममा रोजगारदाता परिषदको महत्वपूर्ण भुमिका रहने गर्छ । साथै श्रमिक तथा रोजगारदाता संगठनका बीचमा हुने सामूहिक सौदावाजी, सामाजिक सुरक्षा र सम्वन्धित कानुनमा तोकिएको न्यूनतम ज्याला निर्धारण र पुनरावलोकनमा समेत रोजगारदाता परिषदको संलग्नता रहँदै आएको छ । स्थापना काल देखि नै परिसंघमा आवद्ध भई सक्रीय रहनु भएका उद्योगी अग्रवालले परिसंघका विभिन्न क्षेत्रगत समिति तथा उपसमितिमा रहेर काम गरिसकेका अनुभवी व्यक्ति रहेको परिसंघले जनाएको छ ।

शुभलक्ष्मी सिमेन्टको प्रमुख कार्यकारी अधिकृतमा राजाराम खड्का, बैकिङ छाडेर उद्यमीको बाटोमा

काठमाडौं । बैंकर्स राजाराम खड्का बैंकिङ प्रोफेशन छोडेर उद्योगमा प्रवेश गरेको छन । उनी आफ्नो लगानीसहित शुभ लक्ष्मी सिमेन्ट उद्योगको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा देखिएका छन् । ‘२० वर्ष जागिर खाईयो, अब उद्यमीको भूमिकामा जाने निर्णय गरे’ खड्काले विकासन्युजसँग भने । ‘अन्ततः पूर्णकालिन जागिरको रुपमा मैले बैकिङ छाडेँ र सिमेन्ट क्षेत्रमा कार्यकारी प्रमुखको भूमिका सहित उद्यमीको काम थालेको छु’ उनले फेसबुक पेजमा लेखेका छन् । उनले २० वर्ष पहिला नबिल बैंकबाट जागिर शुरु गरेका थिए । पछि एभरेष्ट, एनआईसी एशिया, सनराईज हुँदै इन्टरनेशनल डेभपलमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत भए । इन्टरनेशनल डेभलपमेन्ट बैंक एनसीसी बैंकमा मर्ज भएपछि उनी थोरै समय सो बैंकमा डेपुटी जनरल म्यानेजरको भूमिकामा थिए । एनसीसी बैंकबाट दुई महिना अघि उनले दिएको राजीनामा बैंकले स्वीकृत गरिसकेको छ ।