नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको आइतबार काठमाडौंमा सम्पन्न विशेष साधारण सभाले अध्यक्षमा विकास दुगडलाई निर्विरोध निर्वाचित गरेको छ । साथै, विकास दुगडको अध्यक्षतामा १३ सदस्यीय निम्न वमोजिमको नयाँ कार्य समिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएको छ । उक्त संघमा निवर्तमान अध्यक्षमा सन्दिप कुमार अग्रवाल , उपाध्यक्षमा रतन लाल केडिया र अमित मोर, महासचिवमा निखिल चाचान र सदस्यहरुमा कमल कुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दिपक सापकोटा, राजिव गुप्ता, विरेन्द्र कुमार संघई, विपिन कावरा र मनोज तापरिया सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका छन् ।

प्रभु इन्स्योरेन्सको सञ्चालकमा शान्ता गौतम

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको सञ्चालकमा शान्ता गौतम नियुक्त भएका छन् ।  गौतम कर्मचारी सञ्चय कोषको तर्फबाट इन्स्योरेन्स कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि कोषको तर्फबट महेश प्रसाद खनालले प्रतिनिधित्व गर्दै आएका थिए । तर, कोषले खनाललाई फिर्ता पठाएर गौतमलाई सञ्चालकमा पठाएको हो । इन्स्योरेन्स कम्पनीका अनुसार सञ्चालक समितिको जेठ २१ गते बसेको बैठकले गौतमलाई सञ्चालकमा नियुक्त गरेको हो ।

राष्ट्रपति पौडेलले नियुक्त गरे पाँच देशका लागि गैरआवासीय राजदूत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिजी, ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिना, रुसी महासङ्घका राजदूत मिलनराज तुलाधरलाई बेलारुस, डेनमार्कका प्रा डा रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका राजदूत तापस अधिकारीलाई टर्कीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेकाको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस