लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको नेतृत्व उपाध्यक्ष मिन बहादुर बोहराले गर्ने भएका छन् । यसअघि संघको अध्यक्ष रहेका प्रकाशराज शर्माले लक्ष्मी लघुवित्तको सीईओबाट अवकाश पाएपछि उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने भएका हुन् । संघको विधान अनुसार अध्यक्ष पद रिक्त रहेको अवस्थामा उपाध्यक्षले निजको कार्य गर्ने व्यवस्था छ । सोही बमोजिम लघुवित्त बैंकर्स संघको अबको नेतृत्व उपाध्यक्ष बोहराले गर्ने छन् । सीईओको कार्यकाल सकिएपछि शर्माको अध्यक्ष पद पनि स्वतः समाप्त भएको थियो । संघको विधान अनुसार अध्यक्षको अनुपस्थितमा उपाध्यक्षले स्वतः नेतृत्व गर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम धौलागिरी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका उपाध्यक्ष बोहराले संघको नेतृत्व गर्ने छन् । सुदूरपश्चिमाञ्चल ग्रामीण विकास बैंकमा सहायक स्तरबाट बैंकिङ्ग करियर सुरु गरेका बोहरासँग विभिन्न लघुवित्त तथा विकास बैंकको सीईओ बनेर भूमिका निर्वाह गरेको अनुभव छ । साविकको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रमुख पदमा रहेर उनले काम गरेका थिए । बोहराले साविक नेपाल एग्रो लघुवित्त, कालिका लघुवित्त र धौलागिरी लघुवित्तको सीईओको भूमिका निर्वाह गरिसकेका छन् । एक वर्षमा तीन वटा लघुवित्तको सीईओ बन्ने अवसर बोहराले प्राप्त गरेका थिए । एक दर्जन संस्थाको मर्जरमा उनले भूमिका समेत निर्वाह गरेका छन् ।

एलआईसी नेपालको सीईओमा प्रणय कुमार नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रणय कुमार नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रणय कुमारलाई सीईओमा नियुक्त गरेको जनाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ बमोजिम बीमा प्राधिकरणले उनलाई सीईओ बन्न बैशाख ६ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । प्रणय कुमारलाई आगामी तीन वर्षका लागि सीईओमा नियुक्त गरेको बताइएको छ । उनी एलआइसी इण्डियाको नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) पदमा कार्यरत थिए । यसअघि कम्पनीको सीईओमा लक्ष्मी प्रसाद दास कार्यरत थिए । उनको कार्यकाल गत माघमा सकिएको भएपनि ६ महिनाको लागि म्याद थप गरेको थियो । उनको ६ महिनाको अवधि नसकिँदै प्रणय कुमारलाई नयाँ सीईओमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

नमस्ते पेको सीइओमा प्रवीणराज पोखरेल, २७ वर्षको अनुभव

काठमाडौं । नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत(सीइओ) प्रवीणराज पोखरेलले नियुक्त भएका छन् । कम्पनीको वैशाख १५ गते सञ्चालक समितिले पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको हो । पोखरेलले वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । कम्पनीका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रियापछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी भएको बताए । पोखरेल धेरै अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरुमा कम्पनीहरूमा २७ वर्षभन्दा बढीको उत्कृष्ट ट्र्याक रेकर्ड भएका व्यक्ति हुन् । यसअघि पोखरेल एफवान सफ्ट इन्टरनेशनल र एमएननेपालका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ । उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेका छन् ।