साल्ट ट्रेडिङकाे अध्यक्षमा प्रदिपलाल श्रेष्ठ

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा प्रदिपलाल श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको आइतबार साँझ बसेको संचालक समितिको बैठकले श्रेष्टलाई अध्यक्षमा  नियुक्त गरेको हो । काठमाडौंमा जन्मिएका श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष एवम् साल्ट ट्रेडिङ समुहका प्रवर्तक स्वर्गिय इश्वरलाल श्रेष्ठ तथा पद्मावती श्रेष्ठका जेष्ठ सुपुत्र हुन् ।  

नबिल बैंकको डीजीएम बने गणेश अवस्थी

काठमाडौं । नबिल बैंकका गणेश प्रसाद अवस्थी नायव महाप्रबन्धक (डीजीएम) पदमा बढुवा भएका छन् । बैंक सञ्चालक समितिको बैठकले अवस्थीलाई डीजीएममा नियुक्त गरेको बैंकले जनाएको छ । यसअघि बैंकको प्रमुख व्यापार अधिकृत अर्थात् सहायक महाप्रबन्धक रहेका अवस्थी डीजीएममा नियुक्त भएका हुन् । विभिन्न वाणिज्य बैंकमा २ दशक बढी काम गरेको अनुभव सँगालेका अवस्थी विगत ३ वर्षदेखि सहायक महाप्रबन्धक पदमा कार्यरत थिए । क्रेडिट तथा निक्षेप परिचालनमा दख्खल अवस्थीले सन् २००१ मा तत्कालिन एनआईसी बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका हुन् । कुमारी बैंकको शाखा प्रमुख भएर काम गरेका उनी सन् २००८ मा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । ग्लोबल आइमएई बैंकमा १३ वर्ष बढी काम गरेपश्चात् नबिल बैंक प्रवेश गरेका हुन् । विभिन्न बैंकिङ्ग फोरमहरुमा सहभागी अवस्थी क्रेडिट व्यवस्थापन, व्यवसायीक क्षमता र ग्राहक सेवामा बढी केन्द्रित छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्र र व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । साथै उनले हार्वड विजनेश स्कुलबाट डिस्रप्टिभ स्ट्राटिजी विषय समेत अध्ययन गरेका छन् ।

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा विश्वराज बराल नियुक्त भएका छन् । उनी नेपाल बैंकको तर्फबाट प्रतिनिधिको रुपमा कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । नेपाल बैंकको चैत २ गतेको पत्रानुसार बराल अर्को व्यवस्था नभएसम्म कम्पनीको सञ्चालकमा नियुक्त भएका हुन् । साथै, उनले अध्यक्ष दिनेश उपाध्यायबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।