लक्ष्मी बैंकको सीईओमा पुनः शाह, ४ वर्षका लागि थपियो कार्यकाल
काठमाडौं । लक्ष्मी बैंकले प्रमुख कार्यकारी अधिकृतमा अजय बिक्रम शाहलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल सकेका शाहलाई बैंक सञ्चालक समितिको बैठकले पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त भएका थिए । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले सिईओमा नियुक्त गरेको थियो । अहिले पुनः शाह नै सीईओ बनेका हुन् । अब उनले ४ वर्षका लागि काम गर्नेछन् । तीन दशक लामो बैंकिङ अनुभव भएका शाहकले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन् । उनले सो बैंकमा १० वर्ष काम गरेका थिए । शाहको नेतृत्वमा लक्ष्मी बैंकले आफ्नो छुट्टै छवि निर्माण गरेको छ । हरेक वित्तीय परिसूचकमा अब्बल रहेको लक्ष्मी बैंकले बैंकभित्रबाटै नेतृत्व चयन गर्ने अभ्यास आत्मसाथ गर्दै आएको छ ।
एफवान सफ्टको प्रमुख सञ्चालन अधिकृतमा ढकाल नियुक्त, कम्पनी थप उचाइमा पुग्ने
काठमाडौं । एफवान सफ्ट ग्रुपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । सोमबार बसेको एफवान ग्रुपको सञ्चालक समितिको बैठकले ढकाललाई प्रमुख सञ्चालन अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । एफवान सफ्टमा आवद्ध भएसँगै ढकालले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । नवनियुक्त प्रमुख सञ्चालन अधिकृत ढकालसंग २४ वर्षभन्दा बढि सफल उद्यमीको रुपमा अनुभव छ । ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका हुन् । नेपाल फर्केपछि उनी एक सफल उद्यमी बन्न सफल भए । उनले साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरे । यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा काम गरेका ढकालले कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् । सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो । सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।
स्वावलम्बन लघुवित्तको सीईओमा नरेन्द्र सिंह बिष्ट, सोमबारदेखि कार्यभार सम्हाल्ने
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेन्द्र सिंह बिष्ट नियुक्त भएका छन् । लघुवित्तको साउन ६ गते बसेको सञ्चालक समितिको बैठकले बिष्टलाई सीईओमा नियुक्त गरेको हो । बिष्टलाई साउन ९ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो । नवनियुक्त सीईओ बिष्टले सोमबारदेखि कार्यभार सम्हाल्ने छन् । फागुन १६ गते उदयराज खतिवडाले सीईओ पदबाट राजीनामा दिएका थिए । खतिवडाले राजीनामा दिएपछि कायम मुकायम सीईओको जिम्मेवारी गोविन्द चापागाईँले सम्हाल्दै आएका थिए । लघुवित्तले झण्डै ५ महिनापछि सीईओ पाएको हो । फागुनदेखि लघुवित्तमा सीईओ पद रिक्त रहेको थियो ।