सीएनआईको महानिर्देशकमा दीपकराज जोशी
काठमाडौं । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपक राज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो। परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे । अध्यक्ष अग्रवालले नेपाली उद्योगहरूको प्रतिनिधिमूलक संस्थाको रूपमा परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको भन्दै नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने विश्वास व्यक्त गरे । नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने बताए । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय रहेका छन्। उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा समेत काम गरिसकेका छन् । अन्तर्राष्ट्रियरूपमा ‘च्यान्पिएन्स इन च्यालेन्ज’ र ‘पर्यटन हिरो’ जस्ता सम्मानबाट सम्मानित भइसकेका जोशीबाट परिसंघका उद्देश्यअनुरूपका कार्य सम्पादन हुने विश्वास परिसंघको छ। वाणिज्यशास्त्रमा स्नातोक्ततर उनी पर्यटन तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि संलग्न छन् ।
धिरजप्रताप सिंहलाई आइजिपी बनाउने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी)मा एआइजी धिरजप्रताप सिंहलाई बढुवा गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटरमा बसेको मन्त्रिपरिषद बैठकले एआइजी सिंहलाई बढुवा गर्ने निर्णय गरेको हो । विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक प्रहरीमा आइजिपीका दाबेदार थिए।
अजोड इन्स्योरेन्सका सीईओ खत्रीले पाए निरन्तरता
काठमाडौं । अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले निरन्तरता पाएका छन् । बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई सीईओ पदमा निरन्तरता दिने निर्णय गरेको हो । समितिको उक्त निर्णयलाई बीमा समितिले स्वीकृति दिनु पर्ने छ । समितिको स्वीकृति पाएपश्चात सीईओ खत्रीले थप एक कार्यकाल अर्थात आगामी ४ वर्षसम्म कम्पनीको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । उनको पहिलो कार्यकालमा इन्स्योरेन्सले राम्रो ग्रोथ गरेको कम्पनीले प्रकाशित गरेको तथ्यांकले देखाउँछ । सोही कारण इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले उनलाई पुनः सीईओ पदमा दोहोर्याउने निर्णय गरेको हो ।