समितिको अनुमतिसँगै सीईओ प्रसाईंले सम्हाले कार्यभार, कम्पनीले नयाँ उचाई लिने विश्वास
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईंले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ११ गते इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई गत बैंशाख २२ गते नै इन्स्योरेन्सको सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको थियो । जसको स्वीकृतिको लागि बीमा समितिमा पठाइएको थियो । बीचमा चुनावको माहोल भएकाले उनले करिब २० दिनपछि बीमा समितिबाट स्वीकृति पाएका हुन् । बीमा समितिले अनुमति दिएसँगै कम्पनीको संचालक समितिले जेठ ११ गतेदेखि नै लागू हुने गरी उनलाई सीईओमा नियुक्त गरेको छ । र, सीईओ प्रसाईंले आफ्नो पदभार सम्हालेका छन् । सीईओ प्रसाईले कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट सपथ ग्रहण गरेर जेठ ११ गते नै पदभारग्रहण गरेका हुन् । यससँगै प्रसाईंले आगामी ४ वर्ष कम्पनीको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् । सीईओमा उनको नियुक्तिसँगै कम्पनीले नयाँ उचाई लिने सञ्चालक समितिको विश्वास रहेको छ । तत्काल चालु आवका टाग्रेटहरुलाई पुरा गर्नमा जोड दिने र आगामी वर्ष नयाँ प्लान बनाएर अगाडि बढ्ने नवनियुक्त सीईओ प्रसाईंको योजना छ । ‘चालु आवमा मात्र डेढ महिनाको समय छ, यो अवधिमा तोकिएको टाग्रेटलाई नै मीट गर्ने हो, मुख्य योजना भने अर्को वर्ष गरिन्छ,’ सीईओ प्रसाईंले विकासन्युजसँग भने । प्रसाईं यसअघि नेपाल लाइफ इन्स्योरेन्सको सीईओ थिए । उनी करिब ५/६ वर्षदेखि नै उक्त इन्स्योरेन्समा आवद्ध थिए । त्यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा समेत सात वर्षको लामो अनुभव सम्हालेका थिए । प्रभुको सीईओ पदमा नारायणप्रसाद पौडेल रहेका थिए । उनले कार्यकाल नसकिँदै सीईओ पदबाट राजिनामा दिएका हुन् । र, फागुन १८ गतेदेखि नै कम्पनीको सीईओ पद रिक्त थियो । प्रसाईंको नियुक्तिसँगै प्रभु लाइफले करिब साढे २ महिनापछि सीईओ पाएको छ ।
शिवाकोटी र आचार्य बने राष्ट्र बैंकको सञ्चालक, दुवै राष्ट्र बैंकका क्याडर
काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले बताए । शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् भने आचार्य राष्ट्र बैंककै पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्य डा. श्रीराम पौडेल र रामजी रेग्मीको पदावधि सकिएपछि गएको वैशाखदेखि दुई सञ्चालक पद रिक्त थियो । राष्ट्र बैंककाे सञ्चालक बन्ने लाइनमा दिलीप ढुंगाना पनि थिए । केही साता अगाडि सरकारले डा. शंकरप्रसाद आचार्य र दिलीप ढुंगानाको नाम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाएको हो । तर, निर्वाचन सकिएसँगै सरकारले नै यी दुई जनालाई सञ्चालकमा नियुक्त गरेकाे हाे ।
कालिका लघुवित्तको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त
पोखरा । पोखरामा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा चन्द्र बहादुर क्षेत्री नियुक्त भएका छन् । संस्थाको जेठ १० गते बसेको सञ्चालक समितिको बैठकले संस्थाका सञ्चालक क्षेत्रीलाई सर्वसम्मत् रुपमा अध्यक्ष पदमा नियुक्त गरेको हो । यसअघिका अध्यक्ष कृष्ण खाँड वालिद्ध नगरपालिकाको मेयरमा निर्वाचित भएपछि सो जिम्मेवारीमा कालिका लघुवित्तको बोर्डले क्षेत्रीलाई चयन गरिएको बताइएको छ । महाशिला गाउँपालिका वडा नं.४ पाखापानी पर्वत स्थायी ठेगाना भई हाल कुस्मा नगरपालिका वडा नं.६ मा बसोवास गर्ने क्षेत्रीले कानुन विषयमा स्नातक साथै मानविकी र समाजशास्त्र विषयमा स्नाकोत्तर गरेका छन् । उनी २०४६ देखि २०५० सम्म शिक्षण पेशामा, वि.सं. २०५५ देखि २०७४ सम्म जिल्ला विकास समिति लगायत विभिन्न संघ संस्थामा कानुनी सल्लाहकार साथै वि.सं.२०५१ देखि हालसम्म वकालत पेशामा आवद्ध रहेका छन् ।