निर्वाण चौधरीसहित ७ जना बने उद्योग परिसंघका उपाध्यक्ष
काठमाडौं । नेपाल उद्योग परिसंघले अन्ततः उपाध्यक्षहरुको टुङ्गो लगाएको छ । धेरै जना उपाध्यक्षको लागि आकांक्षी भएपनि अन्ततः ७ जना परिसंघको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । परिसंघको उपाध्यक्षमा चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरी, आइएमई समूहका कार्यकारी निर्देशक हेमराज ढकाल, जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाह, आरएमसी ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवाल, उद्योगी कृष्णप्रसाद अधिकारी, रमेश कर्पका उपाध्यक्ष रोहित गुप्ता र नेपाल आदर्श निर्माण कम्पनीका संचालक वीरेन्द्रबहादुर पाण्डे निर्विरोध निर्वाचित भएका हुन् । परिसंघको अध्यक्षमा विष्णु कुमार अग्रवाल नियुक्त भइसकेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका उनी परिसंघको प्रावधान अनुसार अध्यक्षमा नियुक्त भएका हुन् । परिसंघको विधानमा भएको व्यवस्था अनुसार राष्ट्रिय परिषदका सदस्यहरू मध्येबाट उपाध्यक्षहरू चयन भएका हुन् । उनीहरुकाे सपथ ग्रहण मंगलबार नै सम्पन्न भएको छ। परिसंघका अध्यक्ष अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताउनुभयो। औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको भन्दै उहाँले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे । यसैगरी परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए । परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गरे । उनले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिए ।
विश्व पौडेल बने राष्ट्रिय योजना आयोगकाे उपाध्यक्ष, को हुन् उनी ?
काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो । उनीसँग अर्थ र इतिहास सम्बन्धि राम्रो अनुभव छ । उनी हाल काठमाडाैं विश्व विद्यालयमा अध्यापन गराउँछन् । बैठकले डा. रामकुमार फुयाल र डा. दिलबहादुर गुरुङ पनि आयोग सदस्यमा नियुक्त गरेकाे छ । गुरुङ र फुयाल यसअघि पनि सदस्य थिए ।
रिलायबल नेपाल लाइफका सीईओ लोहनीले पाए निरन्तरता, साउन १८ गतेदेखि लागू हुने
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणबाबु लोहनीले निरन्तरता पाएका छन् । नियामक निकाय बीमा समितिले उनको थप कार्यकालको लागि स्वीकृति दिएको हो । गत साउन १ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ लोहनीको कार्यकाल थप्ने निर्णय गरेको थियो । उक्त निणर्यलाई बीमा समितिले आज (साउन १२ गते) स्वीकृत गरेसँगै उनको कार्यकाल आगामी ४ वर्ष सम्मको लागि थपिएको हो । चार वर्ष अघिदेखि इन्स्योरेन्सको सीईओ पदमा रहेका उनको हालको कार्यकाल आगामी साउन १७ गतेदेखि सकिँदै छ । यससँगै उनले आगामी साउन १८ गतेदेखि आगामी चार वर्षसम्म इन्स्योरेन्समा रहेर सीईओको कार्यभार सम्हल्ने छन् ।