पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन, को को बने नयाँ सञ्चालक ?

काठमाडौं । प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेजमा नयाँ संचालक समिति चयन भएको छ । नर्भिक पब्लिक लिमीटेडमा रुपान्तरण भएपछिको यो पहिलो संचालक समिति हो । यही संचालक समितिले सर्वसाधारणका लागि सेयर जारी गर्ने लगायतका निर्णयहरुलाई कार्यान्वयनमा लैजानेछ । नर्भिकको नवनियुक्त संचालक समितिको अध्यक्षमा राजेन्द्रबहादुर सिंह रहेका छन् । उनी यसअघि नर्भिकको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । प्रबन्ध संचालकको रुपमा मेघा चौधरी चयन भएकी छन् भने संचालकहरुमा भूवनचन्द भट्ट, मनिषकुमार खेम्का र बिएलसी होल्डिङ्सबाट प्रतिनिधित्व गर्दै गजेन्द्र श्रेष्ठ चयन भएका छन् । स्वतन्त्र संचालकको रुपमा हरिहर शर्मा र नारायण बजाज चयन भएका छन् भने कम्पनी सचिवमा सलुजा श्रेष्ठ नियुक्त भएकी छिन् । संचालक समितिमा आमन्त्रितको रुपमा ५ जना नियुक्त गरिएको कम्पनी सचिव श्रेष्ठले जानकारी दिइन् । उनकाअनुसार नर्भिकको संचालक समितिमा संरक्षक तथा रणनीतिक सल्लाहकारको रुपमा बसन्तकुमार चौधरी रहेका छन् भने सल्लाहकारहरुमा डा. मधु घिमिरे, डा. पंकज जलान, एम.डी. अग्रवाल रहेका छन् । संचालक समितिमा आमन्त्रितको रुपमा नर्भिकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र समेत रहेका छन् ।

एक्सेल डेभलपमेन्ट बैंकका कामु सीईओ कार्कीले सम्हाले कार्यभार

काठमाडौं। एक्सेल डेभलपमेन्ट बैंकको कायम मुकायम(कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) लेखराज कार्कीले साउन १ गतेदेखि कार्यभार सम्हालेका छन् । कम्पनी सञ्चालक समितिको बैठकले उनलाई कामु सीईओ पदमा नियुक्त गरेसँगै उनले आफ्नो कार्यभार सम्हालेका हुन् । असार ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई बैंकको कामु सीईओ पदमा नियुक्त गरेको हो । बैंकका सीईओ दिनेशकुमार पोखरेलको पदावधी २०७८ असार मसान्तबाट सकिएसँगै कार्कीलाई कामु सीईओमा नियुक्त गरेको हो ।

एनएमबि क्यापिटलको कामु सीईओमा नेपाल नियुक्त

काठमाडौं । एनएमबि क्यापिटलको कायम मुकायम (कामू) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कमलप्रसाद नेपाल नियुक्त भएका छन् । असार ३० गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो । यससँगै उनले आज (साउन १ गते) देखि नै लागू हुने गरी संस्थाको आफ्नो जिम्मेवारी सम्हाल्ने छन् । उनी संस्थाको नायव महाप्रबन्धक पनि हुन् । संस्थाका सीईओ श्रीजेश घिमिरेको कार्यकाल सकिएसँगै समितिको बैठकले अर्को व्यवस्था नभएसम्मको लागि नेपाललाई कामू सीईओको जिम्मेवारी दिएको हो । सीईओ घिमिरेको कार्यकाल असार ३१ गतेदेखि सकिएको थियो । यससँगै नवनियुक्त कामू सीईओ नेपालले संस्थाले अर्को व्यवस्था नगरेसम्म उक्त पदको कार्यभार सम्हाल्ने छन् ।