यसरी गर्यो चौधरी ग्रुपले विद्युतीय सवारीको व्यवसायमा प्रवेश (फोटोफिचर)

काठमाडौं । विनोद कुमार चौधरीले लिड गरेको चौधरी ग्रुप पनि अटोमोवाइल विजनेशमा प्रवेश गरेको छ । यसअघि विनोदका भाई अरुण चौधरीको परिवार मात्र अटोमोवाइल विजनेशमा रहेका थिए । विनोदको छोरा निर्माण चौधरीको नेतृत्वमा सिजी मोटर्स कम्पनीले निटा ब्राण्डको विद्युतीय कार बुधबार राजधानीमा सार्वजनिक गर्यो । निटा चिनियाँ अटो ब्राण्ड हो । सिजी मोटर्सका प्रबन्ध निर्देशक चौधरीले अधिकांश सवारी उत्पादकले आइसी इञ्जिनयुक्त कारकै लागि डिजाइन गरिएको प्लेटफर्ममा विद्युतीय कार बनाउँदै आएको भए पनि निटा ब्राण्ड पूर्णरुपमा विद्युतीय सवारी उत्पादन गर्नकै लागि डिजाइन गरिएको र यो कार निकै इफिसियन्ट रहेको बताए । यो कारले एक पटकको फूल चार्जमा ३८० किलोमिटरभन्दा बढी रेन्ज दिने कम्पनीले बताएको छ । ३७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको निटा भीमा फ्रन्ट तथा रेयर दुवैतर्फ डिस्क ब्रेक छ भने यो फ्रन्ट ड्राइभ मोड कार हो । नक्सालस्थित शो रुपमा कार सार्वजनिक गर्ने कार्यक्रममा बन तथा वातावरण मन्त्री रामसहाय यादव,  नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, हस्यकलाकार जितु नेपाल, सेलिब्रेटि बैंकर्स अनिल शाह लगायतको उपस्थिति थियो ।

धितोपत्र बोर्डको वार्षिकोत्सवमा कार्यकारी निर्देशकसहित ४ जना सम्मानित (फोटो फिचरसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो वार्षिकोत्सवको अवसरमा चार जनालाई सम्मानित गरेको छ । आफ्नो ३०औं वार्षिकोत्सवको अवसरमा बोर्डले कार्यकारी निर्देशकसहित चार जनालाई विभिन्न विधामा सम्मान तथा पुरस्कृत गरेको हो । जसमध्ये बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ दीर्घकालिन पदकबाट सम्मानित भएका छन् । लामो समयदेखि धितोपत्र बोर्डको विकासको लागि दिएका महत्वपूर्ण योगदानको स्वरुप श्रेष्ठलाई सो पदकबाट सम्मनित गरिएको बोर्डले जनाएको छ । साथै, बोर्डले आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीलाई पुँजीबजार पत्रकार पुरस्कारबाट सम्मान गरेको छ । बोर्डले बोधी सञ्चार प्रा.लि. द्धारा सञ्चालित टक्सार म्यागजिनका प्रधान सम्पादक बुढाथोकीलाई ५० हजार रुपैयाँ राशीसहित सो पुरस्कारबाट सम्मानित गरेको छ । पत्रकार बुढाथोकीले लामो समयदेखि पुँजी बजारको क्षेत्रमा उत्कृष्ट समाचार सम्प्रेषण गरेको आधारमा सो पुरस्कार हस्तान्तरण गरिएको बोर्डले जनाएको छ । बोर्डले लामो समयदेखि वित्तीय बजार सम्बन्धमा लेखिएका उत्कृष्ट थेसिसलाई पुरस्कृत गर्दै आएको छ । सो अनुसार बोर्डले यो पटक पनि थेसिसको उत्कृष्टताको आधारमा दुई जनालाई पुरस्कृत गरेको छ । पुरस्कृत हुनेमा पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्वेष्ट इन्टरनेशनल कलेजका आशिष बुढाथोकी र स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन यूनिभर्सिटीका राकेशकुमार राय रहेका छन् । बुढाथोकीले ‘अ स्टडी अफ अनलाइन सेलिङ एट नेपाली मार्केट’ को शीर्षकमा थेसिस् गरेका हुन् भने रायले ‘इम्प्याक्ट अफ अडिट कमिटी इनडिपेन्डेन्स कम्पिटेन्स एण्ड डिलिजेन्स अन इन्भेष्टमेन्ट डिसिजन मेकिन अफ नेप्लिज लिष्टेड कम्पनी’ शीर्षकमा थेसिस् गरेका हुन् । बोर्डले बुढाथोकी र राय दुबैलाई जनही ७५ हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरेको हो । अनि, तस्विरमा यस्तो देखियो बोर्डको वार्षिकोत्सव

काठमाडौंका मेयर र उपमेयर दुबैले नेपाल भाषामा लिए शपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले शपथ ग्रहण गरेका छन् । उनीहरु दुबैले आज बिहान राष्ट्रिय सभागृहमा आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् । मेयर साहलाई मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शपथ ग्रहण गराएका हुन् । उनले पहिला नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि नेपाल भाषामा पनि शपथ लिए । त्यस्तै, मेयर साहले उपमेयर डंगोललाई शपथ ग्रहण गराएका छन् ।  उपमेयर डंगोलले नेपाल भाषमा आफ्नो पद तथा गोपनियताको शपथ लिएकी हुन् । यससँगै, मेयर साहले वडा अध्यक्ष र सदस्यहरुलाई शपथ ग्रहण गराएका छन् । र, महानगरपालिकाका सम्पुर्ण निर्वाचित जनप्रतिनिधिले आजैबाट कार्यभार समाल्दै छन् ।