यस्ताे बन्याे नर्भिककाे आइपिडी (फाेटाेफिचर)
काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवा र संरचनालाई समयअनुकुल स्तरीय बनाउँदै लैजाने रणनीतिअनुसार आइपीडी(इन प्यासेन्ट डिपार्टमेन्ट)लाई स्तरोन्नति गर्दै अझ स्तरीय बनाएको छ । ओपिडीबाट सुरु भएको नर्भिकको स्तरोन्नति गर्ने काम अझै जारी छ । यो क्रममा आइपीडीलाई अझ स्तरीय र आधुनिक बनाइएको अस्पतालले जनाएकाे छ । गत फागुन ९ गतेदेखि नर्भिकले आधुनिक र पूर्ण डिजीटाइज्ड ओपिडी संचालनमा ल्याएको थियो । सोहीबेला भएको घोषणाअनुसार अस्पतालका अन्य युनिटहरुको समेत स्तरोन्नति गर्ने क्रममा आइपिडीलाई पनि आधुनिक बनाइएको हो । योसँगै अब नर्भिकको आइपीडीमा भिजिट गर्ने बिरामी, तिनका आफन्त र सर्वसाधारणले अन्य अस्पतालभन्दा फरक अनुभूति गर्ने अस्पतालले दावी गरेकाे छ । । पुनःनिर्माण गरिएको आइपीडीमा बिरामी, तिनका आफन्त र सर्वसाधारणको सहजता र सुविधालाई विशेष ध्यानमा राखिएको छ । स्तरीय सुविधाहरुलाई थप गरिएको छ भने प्रतिक्षालयदेखि बेडहरुलाई समेत पहिलाभन्दा स्तरीय बनाइएको छ । आइपीडीका सबै कोठाहरु आधुनिक साजसज्जाले सजाइएको छ । पूर्ण रुपमा विश्वस्तरीय, बिरामीमैत्री र बिरामीका कुरुवा तथा भिजिटरहरुलाई समेत सहज हुने हिसाबले पुननिर्माण गरी स्तरोन्नति गरिएको नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए । मिश्रकाअनुसार नर्भिकले आफ्नो सम्पूर्ण सेवालाई पूर्ण रुपमा डिजीटाइज्ड गरी अत्याधुनिक बनाउने कामको ओपिडीबाट सुरुवात गरेको थियो । त्यसकै निरन्तरताको रुपमा आइपीडी समेत पुननिर्माण भएको हो । अत्याधुनिक आइपिडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको छ । अस्पतालमा बिरामीले पैसा तिरेपछि सोहीअनुसारको सेवा पाउन सकून् भन्ने उद्देश्यले नर्भिकको सेवालाई अत्याधुनिक बनाउने अभियान थालिएको उनले जानकारी दिए । ‘अस्पताल हाताभित्र पुग्दा दुर्गन्ध आउने, मानिसहरुको अव्यवस्थित भीडभाड देखिने परम्परावादी दृश्यहरु कसैले देख्न नपरोस् भन्ने हाम्रो उद्देश्य हो,’ मिश्रले भने–‘यही उद्देश्यले हामीले कोरोना संक्रमणका कारण चौपट बनेको विजिनेश लयमा फर्किन मुश्किल परिरहेको अवस्थामा समेत बिरामीको हितलाई सर्वोपरि मान्दै ठूलो लगानी थपेर यो काम गरेका हौं।’ नर्भिकले हालसम्म ओपिडी र आइपिडीको विश्वस्तरीय रुपमा पुननिर्माण र डिजीटाइज्ड गरे पनि यो अभियान जारी राख्ने र अन्य विभाग तथा सम्पूर्ण अस्पताललाई नै यही ढंगले परिवर्तन गरी सेवालाई पूर्ण आधुनिक, समयसापेक्ष र डिजीटाइज्ड बनाउने योजना बनाएको छ ।
मौसम खुलेपछि यस्तो देखियो हल्चोक-कलङ्की-चन्द्रागिरि क्षेत्र
काठमाडौं । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौं उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार/पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ । “त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ”, पौडेलले भने, “कतैकतै छिटफुट वर्षाको सम्भावना पनि रहन्छ ।” त्यसले ठुलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सफा मौसममा स्वयम्भूनाथ मन्दिर महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उक्त प्रणाली गएको असोज ३१ बाट विकसित भएको थियो । कात्तिक १ र २ गते नेपालको पश्चिम (कणाली र सुदूरपश्चिम) क्षेत्रमा भारी वर्षा गराएको थियो भने कात्तिक २ को रातिबाट बुधबार साँझसम्मै त्यसभन्दा पूर्व क्षेत्र प्रदेश १, २ बागमती, गण्डकी प्रदेशमा बर्षा गराएको थियो । बेमौसम (कात्तिक) मा परेको भारी वर्षाका कारण मुलुकका विभिन्न २० भन्दा बढी जिल्लामा ठूलो जनधनको क्षति गराएको छ । भौतिक संरचना तहसनहस पारेको छ भने भित्रिने बेलाको धानबालीसमेतमा निकै क्षति पुरयाएको छ । रासस मौसम खुलेपछि स्वयम्भूबाट देखिएको हल्चोक क्षेत्र मौसम खुलेपछि स्वयम्भूबाट देखिएको कलङ्की चन्द्रागिरि क्षेत्र । तस्वीरः प्रदीपराज वन्त
गाउँ फर्किनेको लर्को, ९ लाखले छाडे उपत्यका (तस्बिरसहित)
काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावली मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो । केही दिनदेखि दशैँ मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौं सुनसान बन्न थालेको छ । आज फूलपातीका दिन काठमाडौंको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बसपार्क लगायतका स्थानहरुमा मानिसहरुको लर्को लागेको थियो । बिस्तारै–बिस्तारै काठमाडौं शहरमा मानिसको चाप घट्दै गइरहेको छ भने सवारी साधनहरुको चापसँगै गाउँ फर्किने यात्रुहरुको लर्को देख्न सकिन्छ । नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किन थालेका हुन् । यातायात व्यवस्था विभागले लामो दूरीको सवारीसाधनको लागि अग्रिम टिकट बुकिङ आश्विन ११ गतेबाट खोलेदेखि मंगलवार (फुलपाती) बिहान ४ बजेसम्म ६ लाख ८८ हजार २४३ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन् । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन् । यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का महासचिव सरोज सिटौलाले बताए । उनका अनुसार दशैंको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनले भने ‘दुईतीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ ।’ दुईवर्ष पहिलेसम्म २५ लाखभन्दा बढीले दशैंको समयमा उपत्यका छाड्ने गरेका थिए । गतवर्ष कोभिड-सङ्क्रमणको जोखिम रहेकाले त्यो सङ्ख्या ह्वात्तै घटेको थियो । झण्डै चारपाँच लाखले मात्रै गतवर्ष उपत्यका छाडेको अनुमान गरिएको थियो । यो वर्ष गत वर्षभन्दा बढी यात्रु भए पनि सामान्य अवस्था भन्दा धेरै कम छन् । उनले भने, “अघिल्लो वर्ष अग्रिम टिकट नै खुलाइएको थिएन, अहिले खुलाइएको छ ।” सरकारले घटस्थापना (असोज २१) देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ । यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएको थियो । यात्रुलाई समस्या नहोस् भनी ठाउँठाउँमा विभिन्न स्थानमा सहायता कक्ष रहेका छन् । घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ । यतिबेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताए । विजया दशमीको दिनदेखि भने काठमाडौं उपत्यका फर्कनेको सङ्ख्या धेरै हुनेछ । उनले भने, “अहिले भरिएर गएका बस रित्तै आइरहेका छन् भने टीकाको भोलिपल्टदेखि यहाँबाट रित्तै गएर भरिएर आउँछन् ।” दशैंको समयमा सडकमा सवारीसाधनको चाप ह्वात्तै बढ्ने भए पनि यो वर्ष देशभरका धेरै सडक बिग्रिएका थिए । केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत सुरु गर्न नसकिएको सडक विभागले जनाएको थियो । एक सातायता भने तीव्र रुपमा मर्मत भइरहेको छ । दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म नै फर्किनेको चाप भएकाले सडक तयारी अवस्थामा हुनुपर्ने उनले बताए ।