उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (फोटोफिचर)
काठमाडौं । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ । कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो । विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो । भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माणपछि भने यहाँ छठ मनाउन रोक लगाइएको छ । बेहुलीझैँ सिँगारी राजधानीका गौरीघाट गुह्येश्वरी क्षेत्र, कमलपोखरीलगायत स्थानमा छठ मनाइएको छ । यी स्थानमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । बर्तालुले जलाशयमा डुबी सूर्यदेवसहित नदीको पूजा आराधना गरी उदाउँदो सूर्यलाई अघ्र्य दिइएको हो । बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि हजारौँ व्रतालुको भीड लागेको थियो । कमलपोखरीमा भने यस वर्ष काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा छठ पर्व सम्पन्न गरिएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगा सहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उनले जानकारी दिए । सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वरबधु प्राप्तिको कामनाका लागि गर्छन् । सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रह“दा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाई छ । सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास समेत गरिन्छ । गुह्येश्वरी गौरीघाट क्षेत्रमा ६७५ वटा छठ घाटअर्थात् पूजास्थल निर्माण गरिएको थियो । तीमध्ये ३० वटा विपन्न वर्गलाई पर्व मनाउन निःशुल्क दिइएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंहले जानकारी दिनुभयो । अरु पूजास्थल रु एक हजार १०० शुल्क लिई व्रतालुलाई दिइएको थियो । रासस
राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् छठीमाताको पूजा अर्चना (हेर्नुहोस् १४ तस्विर)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौरीघाट र कमलपोखरीमा छठी माताको पूजा अर्चना गरेकी छिन् । बुधबार काठमाडौंको गौरीघाट र कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिएकी हुन् । कमलपोखरीमा अर्घ्र्य दिनुअघि राष्ट्रपति भण्डारीले गौरीघाटमा पनि अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी थिइन् । छठ पर्वको मुख्य दिन बुधबार (आज) अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय-खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । श्रद्धा, निष्ठा र समर्पणको प्रतिक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् । जनकपुरका पोखरीहरु अहिले छठको गीत र सजावटले झकिझकाउ भएको छ । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ ।
महाकाली चारलेन पुलको डिजाइन परिवर्तन गरिँदै (फोटोफिचर)
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित ओदालीमा निर्माणाधीन चारलेन पक्की पुलको डिजाइन परिवर्तन हुने भएको छ । पुल निर्माण प्रक्रियामै रहेका बेला गत महिनाको ३१ गतेदेखि कार्तिक २ गतेसम्म परेको अविरल वर्षाका कारण पहुँच मार्ग भत्काएपछि पुलको केही भागको डिजाइन परिवर्तन गर्न लागिएको हो । पुरानो डिजाइनमा पुलको नदी किनारको भेगदेखि पुल किनार भेगसम्म ढुङ्गाको बाँध लगाउने भनिए पनि स्थानीयले ढुङ्गा व्यवस्थापनमा बिरोध गरेका कारण ढुङ्गाको सट्टा आरसीसीको प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिन लागिएको महाकाली पुल आयोजना कञ्चनपुरका सवइञ्जिनियर दुर्गादत्त अवस्थीले बताए । सवइञ्जिनियर अवस्थीले भने, ‘ढुंगाको अभावले डिजाइन परिवर्तन गर्न लागेका हौं, अब परिवर्तन भएर आएपछि मात्रै पुलको कामहरु अघि बढ्नेछ ।’ निमार्णको जिम्मा पाएको कुमार सिएफइसी जेभीले भने ढुङ्गा अभावका कारण बाढीले कम्पनीलाई धेरै क्षती गरेको जनाएको छ । कम्पनीले भनेको समयमा ढुङ्गा व्यवस्थापन नभएको र बाँध निर्माण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुङ्गा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको कुमार सिएफइसी जेभीका इञ्जिनियर किशोरराज पाण्डेयले बताए । इञ्जिनियर पाण्डेयले भने, ‘कम्पनीले भनेको समयमा ढुङ्गा व्यवस्थापन नभएको र बाँध निमार्ण गरिसक्नु पर्ने क्षेत्रमा बाँध बाध्न ढुङ्गा नभएका कारण बाढीले समग्र आयोजनालाई पछि धकेलेको छ, हामीले ढुंगा ल्याउन बारम्बार भनिरहेका छौँ, त्यो भएन भने ५/७ महिना लाग्न सक्छ, यदी समयमै ढुंगा आएन भने त्यो भन्दा बढी समय पनि लाग्न सक्छ ।’ निर्माण गरिनुपर्ने बाँध क्षेत्रमा ३० प्रतिशत २० देखि ४० किलोको सानो ढुङ्गा तथा बाँकी ७० प्रतिशत क्षेत्रमा भने २ सय ५७ किलो माथिका ढुङ्गा आवश्यक पर्छन् । आयोजनाकाअनुसार निर्माण स्थलदेखि २५ किलोमिटर क्षेत्र भित्रमा ढुङ्गा संकलन गर्ने भन्ने भएपनि स्थानीयका बिरोधका बीच ढुङ्गा व्यवस्थापन गर्न नसकिएको हो । बाढीले आयोजनाको ६ करोड ३४ लाख ७३ हजार २ सय ५० रुपैयाँको निर्माणाधीन संरचनामा क्षती गरेको छ । २०७४ सालमा ३ अर्ब २७ करोड ठेक्का सम्झौता निर्माण शुरु गरिएको पुलको उत्तरतर्फको २ सय ५० मिटर पहुँच मार्गलाई बाढीले भत्काएको थियो ।