गाउँ फर्किनेको लर्को, ९ लाखले छाडे उपत्यका (तस्बिरसहित)

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैँको आगमनसँगै देशका विभन्न शहरहरुबाट गाउँ फर्किनेको लर्को लागेको छ । केही दिन यता नेपालीहरुको महान पर्व विजया दशमी तथा शुभ दीपावली मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको हो । केही दिनदेखि दशैँ मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौं सुनसान बन्न थालेको छ । आज फूलपातीका दिन काठमाडौंको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बसपार्क लगायतका स्थानहरुमा मानिसहरुको लर्को लागेको थियो । बिस्तारै–बिस्तारै काठमाडौं शहरमा मानिसको चाप घट्दै गइरहेको छ भने सवारी साधनहरुको चापसँगै गाउँ फर्किने यात्रुहरुको लर्को देख्न सकिन्छ । नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको सिलसिलामा काठमाडौं आएकाहरु गाउँ फर्किन थालेका हुन् । यातायात व्यवस्था विभागले लामो दूरीको सवारीसाधनको लागि अग्रिम टिकट बुकिङ आश्विन ११ गतेबाट खोलेदेखि मंगलवार (फुलपाती) बिहान ४ बजेसम्म ६ लाख ८८ हजार २४३ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन् । असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन् । यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का महासचिव सरोज सिटौलाले बताए । उनका अनुसार दशैंको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनले भने ‘दुईतीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ ।’ दुईवर्ष पहिलेसम्म २५ लाखभन्दा बढीले दशैंको समयमा उपत्यका छाड्ने गरेका थिए । गतवर्ष कोभिड-सङ्क्रमणको जोखिम रहेकाले त्यो सङ्ख्या ह्वात्तै घटेको थियो । झण्डै चारपाँच लाखले मात्रै गतवर्ष उपत्यका छाडेको अनुमान गरिएको थियो । यो वर्ष गत वर्षभन्दा बढी यात्रु भए पनि सामान्य अवस्था भन्दा धेरै कम छन् । उनले भने, “अघिल्लो वर्ष अग्रिम टिकट नै खुलाइएको थिएन, अहिले खुलाइएको छ ।” सरकारले घटस्थापना (असोज २१) देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ । यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएको थियो । यात्रुलाई समस्या नहोस् भनी ठाउँठाउँमा विभिन्न स्थानमा सहायता कक्ष रहेका छन् । घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ । यतिबेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताए । विजया दशमीको दिनदेखि भने काठमाडौं उपत्यका फर्कनेको सङ्ख्या धेरै हुनेछ । उनले भने, “अहिले भरिएर गएका बस रित्तै आइरहेका छन् भने टीकाको भोलिपल्टदेखि यहाँबाट रित्तै गएर भरिएर आउँछन् ।” दशैंको समयमा सडकमा सवारीसाधनको चाप ह्वात्तै बढ्ने भए पनि यो वर्ष देशभरका धेरै सडक बिग्रिएका थिए । केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत सुरु गर्न नसकिएको सडक विभागले जनाएको थियो । एक सातायता भने तीव्र रुपमा मर्मत भइरहेको छ । दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म नै फर्किनेको चाप भएकाले सडक तयारी अवस्थामा हुनुपर्ने उनले बताए ।

४० करोड खर्चेर घण्टाघरको पुनर्निर्माण गरिँदै, भत्काउनु अघि यस्तो देखियो

काठमाडौं । सरकारले घण्टाघरको पुनर्निर्माण गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सरकारले हालको घण्टाघरलाई भत्काएर पुनर्निर्माण गर्ने भएको हो । घण्टाघरको पुनर्निर्माण योजना ओली सरकारकै पालामा बनेपनि बजेट छुट्याउन नसक्दा त्यतिकै रहेको थियो । तर, यो योजनाको लागि अहिले बजेट परेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार घण्टाघरको पुनर्निर्माणलाई बहुवर्षीय आयोजनामा राखेर बढीमा डेढ वर्षभित्र पुनर्निर्माण गर्ने योजना रहेको छ । उनले घण्टाघर पुनर्निर्माणमा करिब ४० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको घण्टाघर पुनर्निर्माणका लागि पुरातत्व विभागको सहमतिमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत छ । पुनः निर्मित घण्टाघरको स्वरुप पनि अहिलेको जस्तै हुनेछ भने उचाइ पनि अहिलेकै कायम राखिनेछ ।

सातौं संविधान दिवस (फाेटाेफिचर)

काठमाडाैं । सातौँ सविधान दिवस स्वदेश र विदेशमा आज विविध कार्यक्रमको आयोजना गरी भव्यरुपमा मनाएकाे छ । संविधान दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना भएकाे विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीकाे उपस्थिती रहेकाे थियाे । प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष समारोहलाई सम्बोधन गरेका थिए ।