नेपाल र चीनको सम्बन्ध झल्काउने फोटो प्रदर्शनी सुरु (फाेटाेफिचर सहित)
काठमाडाैं । नेपाल–चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्ष पुगेको अवसरमा काठमाडौंमा अमेजिङ युनान सांग्रिला फोटो प्रदर्शनी आयोजना भएको छ । नेपाल चाइना मिडिया फोरमको आयोजनामा नयाँ बानेश्वरमा रहेको होटल एभरेष्टमा आज (शुक्रबार) देखि फोटो प्रदर्शनी सुरु भएको हो । फोटो प्रदर्शनीको अवलोकन गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गरे । फोटो प्रदर्शनीको अवलोकन गरेपस्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले यस्तो कार्यक्रमले दुई देशबीचका जानतालाई अझ नजिक ल्याउन मद्दत पुर्याउने बताए । फोटो प्रदर्शनीले नेपाल र चीनका प्राकृतिक वैभवहरुलाई चिन्ने र बुझ्ने अवसर प्रदान गर्ने समेत अध्यक्ष तिमिल्सिनाले बताए । यस्तै प्रदर्शनीमार्फत नेपालको प्राकृतिक सुन्दरताहरुलाई प्रवद्र्धन गरी पर्यटनको विकास र विस्तार हुने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईले यस्तो कार्यक्रमले दुई देशबीचको पर्यटनको प्रवद्र्धनमा सहजता पुग्ने बताए । यस्तै नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पक्षबाट उल्लेख्य सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । कुटनीतिक सम्बन्ध स्थापना भएको वर्षगाँठको अवसरमा दुवै देशको सांस्कृतिक पहिचान झल्किने विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी भएपनि कोभिड संक्रमणको जोखिमका कारण सम्भव हुन नसकेको नेपाल चाइना मिडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठले बताएका छन् । सांस्कृतिक फोटो प्रदर्शनीमा नेपाल र चीनको सम्बन्ध झल्काउने तस्विरहरु राखिएका छन् । फोटो प्रदर्शनी मंसिर ११ गते सम्म सञ्चालन हुनेछ ।
छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो (फाेटाेफिचर सहित)
काठमाडौं । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोली बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन हुने गर्दछ । उपत्यकाको बागमती किनारमा बनाइएको छठघाटमा सयौँको संख्यामा सहभागि भक्तजनहरुले अस्पताउदो सूर्यलाई अघ्र्य दिएका छन् । यो वर्ष कोरोना भाइरस (कोभिड-१९) का कारण ठूलो संख्यामा मान्छेहरु भेला नहुन सरकारले आग्रह गरेको थियो । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन नदी किनारमा जाने गर्छन् । आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ । बिहान स्नान गरी चोखो नितो गरेर बसेका बर्तालुले भोली उदाउँदो सूर्यलाई अर्घ्य दिएर यो पर्व समापन गरिन्छ । छठ पर्व मनाएमा मनोकाङ्क्षा पूरा हुने, छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ । छठ पर्वको पहिलो दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाएर अलिकति व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाएरै एक छाक फलाहार गरिन्छ । यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधिविधान छ । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ ।
विश्व शान्ति स्तुपाबाट देखिएको फेवातालको सुन्दर दृश्य
पोखरा महानगरपालिका वडा नं २२ अन्दुडाँडा तथा विश्व शान्ति स्तुपाबाट देखिएको फेवातालको सुन्दर दृश्य । तस्वीरः जमुना वर्ष शर्मा, रासस