राष्ट्रकवि घिमिरेलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण (फाेटाे फिचर)

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । घिमिरेको निवासमै पुगेर उपप्रधानमन्त्री पोखरेलले राष्ट्रिय झण्डा ओढाएर राष्ट्रकवि घिमिरेलाई श्रद्धाञ्जली अर्पण गरेका हुन् । उपप्रधानमन्त्री पोखरेलले राष्ट्रकवि भौतिक रुपमा हामी माझ नभएपनि उनले राष्ट्रका लागि गरेका योगदानहरु हामीसँगै रहेको बताए । राष्ट्र, राष्ट्रियता, नेपाल, नेपाली र राष्ट्रिय स्वाभिमानको एउटा चेतना जगाउने अगुवा व्यक्तित्वको रुपमा राष्ट्रकविलाई आफुले बुझेको उनले बताए । उनले राष्ट्रका लागि गरेको योगदानलाई सरकारले संस्थागत ढंगले चिरस्थायी बनाउन महत्वपूर्ण निर्णय गर्ने बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रकविको निधनले नेपाली साहित्यमा ठूलो क्षति पुगेको बताए । राष्ट्रकविको निधनले नेपाली साहित्यमा मात्रै नभएर नेपाललाई नै अपुरणीय क्षति पुगेको उनले बताए । नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले राष्ट्रकविले देखाएको बाटोमा सबैले लाग्नुपर्ने बताए । पूर्वप्रधान सेनापति राजेन्द्र क्षतिले राष्ट्रकविका गीत र रचनाले सबैलाई राष्ट्रियता र राष्ट्रप्रति जागरुक गराएको बताएका छन् । राष्ट्र र राष्ट्रिय स्वाधिनताको भावनाले सबैलाई उच्च सम्मान दिने रचनाहरु राष्ट्रकविले जन्माएको उनले बताए । सेनाले कविवर घिमिरेलाई मानार्थ सहायक रथीको उपाधि दिएको थियो । राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बुधबार राष्ट्रपति घिमिरेको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्टि गरिएको हो । उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो ।

काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सकियो (फाेटाेफिचरसहित)

काठमाडौं । वि.स. २०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप पुर्ननिर्माणको काम ७० प्रतिशत सम्पन्न भएको छ । जनप्रतिनिधि र स्थानीय नागरिकको प्रत्यक्ष सहभागितामा निर्माण भइरहेको काष्ठमण्डपको काम ७० प्रतिशत सम्पन्न भएको हो । कोरोना भाइरसका कारण केही समय काम स्थगित गरिएपनि गत वैशाख दोस्रो साताबाट सुरु भएको काम अहिलेसम्म ७० प्रतिशत सम्पन्न भएको काष्ठमाण्डप पुर्ननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताए । पहिलो तलाको सम्पूर्ण काम सकिएको र दोस्रो तलाको काम जारी रहेको उनले बताए । काष्ठमाण्डप पुर्ननिर्माणमा प्राचिनकालमा प्रयोग गरिएको सामग्री र विधि प्रयोग भइरहेको छ । ऐतिहासिक सम्पदाहरुको पुर्ननिर्माण गर्दा आधुनिक मेसिनको प्रयोग नभइ स्थानीय जनशक्तिको परम्परागत सीप विधि माटो, इटा, काठ र ढुंगाबाट निर्माण भइरहेको उनले बताए । काठमाडौं महानगरपालिका, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, पुरातत्व विभाग र काष्ठमण्डप पुर्ननिर्माण भइरहेको छ । पुननिर्माणको खर्च महानगरपालिकाले व्यहोर्ने समझादारी अनुसार काम भइरहेको छ । अहिलेसम्म महानगरले तीन चरणमा गरी साढे १० करोड रुपैयाँ समितिलाई हस्तान्तरण गरिसकेको उनले बताए । कोरोना संक्रमणको जोखिम देशव्यापी रहेपनि आवश्यक सावधानि अपनाएर पुर्ननिर्माणको काम जारी रहेको उनले बताए । काष्ठमण्डप पुर्ननिर्माणका लागि अहिलेसम्म ७ हजार ९ सय २ क्यूफिट काठ महोत्तरी, मकवानपुर र कञ्चनपुर लगायतका क्षेत्रबाट ल्याइएको छ । अझै ३, ४ हजार क्यूफिट काठको आवश्यकता रहेको उनले बताए । ६४ वर्षमिटर क्षेत्रफलमा निर्माण भइरहेको काष्ठमण्डपको उचाइ साढे २६ मिटर रहेको छ । भग्नावशेषबाट संकलन गरिएका केही काठहरु अहिले पनि प्रयोग गरिएको छ । मुख्य चार खम्बामध्ये एक खम्बा पुरानो नै प्रयोग गरिएको छ । पुरानो काठ रेक्टोग्राफि टेष्ट गरेर मात्रै प्रयोग गर्ने गरिएको काष्ठमण्डप पुर्ननिर्माण समितिले जनाएको छ ।

लिदीमा पहिरो अपडेट: चार जनाको शव भेटियो, ३८ जना बेपत्ता (तस्वीरसहित)

काठमाडाैं । सिन्धुपालचोकको जुगल गाउँपालिका-२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका चार जनाको शव भेटिएको जनाइएकाे छ । घटनास्थलमा पुगेका सभामुख अग्नी सापकाेटाका प्रेस संयोजक श्रीधर न्यौपानेले ४ जनाकाे शव भेटिएकाे जानकारी दिएका हुन् । उनका अनुसार पहिरोले ३८ जना पुरिएको पुष्टि भएको छ भने ५ जनालाई उद्धार गरिएको छ। जसमध्ये ४ जनालाई चौतारा र १ जनालाई काठमाडौं ल्याइएको छ। अहिले प्रहरी, सेना तथा स्थानीयहरू मिलेर उद्धार गरिरहेका छन् । तस्वीर: श्रीधर न्यौपाने