६ सय मिटर लामो ट्रयाकको डर्ट बाइक रेसमा कार्कीले बाजी मारे

काठमाडौं। डर्ट बाइक रेस प्रतियोगिता ‘मोटो ट्रयाक २०७४’ मा प्रशान्त जङ्ग कार्कीले बाजी मारेका छन् । ललितपुरको सुनाकोठी स्थित मोटो ट्रयाकमा शनिबार सो रेस प्रतियोगिता सम्पन्न भएको थियो । विनोद कठायत र भीम होना क्रमशः फस्र्ट रनर अप र सेकेन्ड रनर अप भएका छन् । प्रोपर सेफ्टी गियरको उपाधि आशीष कुमार शाक्य र प्रवीण जङ्ग कार्कीले, पब्लिक च्वाइसको उपाधि दोर्जे छेवाङले र बेस्ट राइडरको उपाधि दीपेश क्षेत्रीले जितेका छन् । मोटर स्पोर्ट्स नेपाल र सुनाकोठी युथ एशोसिएशनको आयोजनामा सम्पन्न सो प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य राजकाजी महर्जनले गरेका थिए । १५० देखि २५० सिसीसम्मका डर्ट बाइकको रेस भएको थियो । ब्यक्तिगत रुपमा प्रतिस्पर्धा भएको प्रतियोगितामा क्रसफायर, क्रस एक्स, होन्डा, रिजु, यूएम, एसियन बिस्ट र बीएसई लगायतका नेपालमा भएका सबै डर्ट बाइक कम्पनीहरुको सहभागिता रहेको थियो । आयेजनका अनुसाार प्रतियोगिताका लागि ६ सय मिटर लामो ट्रयाक निर्माण गरिएको थियो । मुख्य प्रायोजक एसियन अटोमोबाइल्स रहेको प्रतियोगिताको विजेताहरुलाई नगद पुरस्कारका साथै पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको गियर ग्याजेट्स नेपालका इभेन्ट म्यानेजर विनोद तण्डुकारले जानकारी दिए ।    

आइएमई फाउन्डेशनद्धारा शितलहर प्रभावितलाई ब्ल्याङ्केट वितरण

तराई । आइएमई फाउन्डेशनले विगत केहि दिनदेखि तराईंका विभिन्न स्थानमा चलेको शितलहरले प्रभावितहरुका लागि  ब्ल्याङ्केट वितरण गरेको छ । प्रभावित घरपरिवारका सदस्यहरुलाई तत्काल राहत होस् भन्ने उद्देश्यका साथ यस फाउन्डेशनले तराईका आर्थिक रुपमा विपन्न एक सय घरपरिवारलाई ब्ल्याङ्केट वितरण गरेकाे हाे । आइएमई फाउन्डेसनबाट खटिएका प्रतिनिधिहरु र आइएमई ग्रुपका स्थानीय व्यवसायीक साझेदारहरुले सिरहास्थित गोलबजार नगरपालिका-०३, जम्दह रकल्याणपुर नगरपालिका-०७, भेडियाका साथै सप्तरीस्थित राजविराज नगरपालिका-०९,मलेठ र खड्क नगरपालिका-०३, बानरझुलामा रहेका प्रभावित घरपरिवारलाई साे मात्राकाे ब्ल्याङ्केट वितरण गरेको हाे । आइएमई फाउन्डेशनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शितलहरले प्रभावित परिवारहरुलाई राहत वितरण गर्ने निर्णय गरेको थियो । आइएमई फाउन्डेशन मिति २०६६ सालमा दर्ता भएको संस्था हो । आइएमई ग्रुपले संस्थागत सामाजिक उत्तरदायित्वसँग सम्बन्धितक्रियाकलाप यही फाउन्डेशनमार्फत् गर्दै आएको छ ।

सिटिजन्स बैंकद्धारा महोत्तरीमा ४२६ थान कम्बल वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महोत्तरीमा ४२६ थान कम्बल वितरण गरेको छ । बैंकले चिसोका कारण जनजिवन प्रभावित हुँदै गएपछी महोत्तरी जिल्लाको गौशाला र औरही नगरपालिकामा वसोवास गर्ने मुसहर जातीका विप्पन निसहाय व्यक्तिहरुलाई सो मात्राको कम्बल वितरण गरेको हो । जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थितिमा गौशाला नगरपालिकामा २२४ थान र औरही नगरपालिकामा २०२ थान गरी जम्मा ४२६ थान कम्बल वितरण गरेको बैंकले जनाएको छ । बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गौशाला र औरही नगरपालिकामा बसोबास गर्ने (मुसहर ,असक्त , असहाय , बिधवा, साधु, सन्त)हरुलाई कम्बल वितरण गरेको छ । उक्त हस्तान्तरण बैंकको संचालक समितिको सदस्य डा चन्दा कार्कीले गरेकी छन् । बैंकले देखाएको यस अग्रसरताले अत्यन्तै पिछडिएको मानिने मुसहर बस्तीमा न्यानोपन ल्याउन कोशेढुंगा साबित हुने बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता गणेशराज पोखरेलले जानकारी गराएका छन् ।