अनुगमनमा निस्किएका मेयर विद्यासुन्दर शाक्यले रत्नपार्कमा अडिएर निर्देशन दिए-‘तुरुन्त ढल निकासको काम सक्नु’
काठमाडौं । काठमाडौं महानगरपालिकामा फोहोर र धुवाधुलोको सामना गर्न महानगरवासी बाध्य छन् । महानगरको अस्तव्यस्ताले गर्दा मानिसहरुको समेत दिनचर्या नै प्रभावित भइरहेको छ । ‘काम नगरेको’ भन्दै आलोचित भइरहेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य आइतबार महानगरबाट ‘अव्यवस्थित सहर’मा परिणत भइरहेको काठमाडौंको अनुगमनका लागि कार्यालय बाहिर निस्किए । महानगरपालिकाका उपप्रमुख लगायत सचिवालयका सदस्य सहित कर्मचारी टोलीमा थिए । अनुगमनको सुरुवात महानगरपालिकाको कार्यालय बागदरबार बाट नै सुरु भयो । बागदरबारबाट हिड्दै टोली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल, त्री चन्द्र क्याम्पस हुँदै राष्ट्रिय सभा गृहमा गएर टुंगियो । प्रमुख शाक्यले ती स्थानहरुमा बगैंचा, सडकपेटी, सडकमार्ग, ढल, पार्किङ स्थल र होर्डिङ बोर्डको अवलोकन गरेका थिए । र, उनले वीर अस्पतालबाट रत्नपार्कको बाटो गुज्रिँदै गर्दा ढल बगीरहेको पाइयो । सोही स्थानमा अडिएर अनुगमन कार्यक्रमलाई मन्तव्य दिँदै उनले निर्देशन दिए – ‘तुरुन्त ढल निकासको काम सक्नु ।’ उनले देखाउनका लागि नभई परिणाम निकाल्ने हिसाबले काम अगाडी बढाउन आग्रह गरेका छन् । उनले राजधानीका विभिन्न स्थानमा रहेका बगैंचामा रेलिङ हटाउन निर्देशन दिए । महानगरवासीलाई विश्वासमा राखेर काम गर्नुपर्ने भन्दै उनले सो रेलिङ हटाउन निर्देशन दिएका हुन् । उनले भने, ‘हामीले कसैले फुल टिपेर बगैंचा बिगार्छ भनेर अल्छि गर्नुभएन । रेलिङ राख्नु भनेको जनतालाई अविश्वास गर्नु हो । फुल उमार्नु हाम्रो उद्येश्य हो बरु त्यसको व्यवस्थापन गर्न तर्फ ध्यान दिनुपर्छ ।’ शाक्यले सडकमा भएको फोहोर र धुलो सफा गर्न कर्मचारी तथा महानगर प्रहरीलाई निर्देशन दिए । उनले भने, ‘फोहोर सफा गर्न पनि अरुको मुख ताक्नुपर्दैन । हामीसँग प्रशस्त जनशक्ती छ, त्यसैलाई सदुपयोग गरेर सफा गर्नुपर्यो ।’ ब्रुमरका लागि टेन्डरको प्रक्रिया अगाडी बढिसकेको उनले जानकारी दिए । विभिन्न स्थानमा होर्डिङ बोर्ड हटाउनका लागि ट्राफिक प्रहरीसँग सहमती भइसकेको उनले बताए । उनले भने, ‘अब कुनैपनि होर्डिङ बोर्ड राख्न महानगरपालिकासँग सोध्नुपर्छ ।’
कार्ल्सबर्गको १७० औं वर्षगाठ, ज्याकोब्सनको तस्वीर प्रदर्शनी नेपालमा
ललितपूर । गोर्खा ब्रुअरीले कार्ल्सबर्गको १७० औं वार्षिकोत्सवको अवसर पारेर पाटन संग्राहलयमा फोटो प्रदर्शनी गरेको छ । कम्पनीको कथा बोकेको र संस्थापक जेसी ज्याकोब्सेन परिवारको १८ औं शताब्दीदेखि अहिलेसम्मका फोटा दस्तावेजीकरण गरेर प्रदर्शनी गरिएको हो । गोर्खा ब्रुअरीका उपप्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले पुराना दिनको सम्झनामा प्रदर्शनी आयोजना गरिएको बताए । वार्षिकोत्सवको सुरुवात गत अगष्टमा कोपेनहेगनमा एक सातासम्म प्रदर्शनी गरिएको थियो । जेसी ज्याकोब्सनले आफ्नो प्रयोगशालामा पिएच-स्केल र शुद्ध इष्टको वैज्ञानिक खोज गरेका थिए । इष्ट बिग्रिएर सम्पूर्ण उद्योग नै प्रभावित भएको समयमा उनले गरेको खोजले नै ब्रुइङ उद्योगलाई पूनर्जिवन दिएको हो । सन् १८७५ मा ज्याकोब्सेनले कार्ल्सबर्ग प्रयोगशाला स्थापना गरेका थिए । त्यसपछि कार्ल्सबर्गले यसले खोज तथा अनुसन्धानका क्षेत्रमा लगानी रहेको विश्वकै ठुलो औद्योगिक कम्पनीको रुप लियो । अनुसन्धानबाट प्राप्त सम्पूर्ण कुरा उद्योगमा खर्च गरिन्थ्यो । ज्याकोब्सनले भनेका थिए, ‘हामीले विश्वकै उत्कृष्ट बियर उत्पादन गरिरहेका छौं । त्यसलै प्रतिस्पर्धीदेखि डराउनु आवश्यक छैन ।’ युवक जेसी ज्याकोब्सन परिवारका साथ ज्याकोब्सन कामदारका साथ ज्याकोब्सन
नगद लुकाउने पाँच सरल तरिका जुन विश्वका धनाढ्यहरुले अपनाउछन्
काठमाडौं । ‘प्याराडाइज पेपर्स’ नामक चुहाइएका दस्तावेजहरुले विश्वका शक्तिशाली तथा अति धनाढ्यहरुले कसरी आफ्नो सम्पत्ति लुकाइरहेका छन् भन्नेबारे कैयौँ खुलासा गरेका छन् । खासमा विदेशमा कसरी रकम लुकाइन्छ ? नगद लुकाउने पाँच वटा सरल तरिकाबारे बीबीसीमा अाधारित सामाग्री यहाँ चर्चा गरिएको छ । १, एउटा नाम मात्रको कम्पनी खोल्नुहोस् । त्यसलाई सेल कम्पनी पनि भनिन्छ । २, त्यस्तो कम्पनी कुनै स्थानमा खोल्नुहोस्, जहाँ कर अत्यन्तै कम लाग्छ वा शून्य कर लाग्छ । तर यस्तो कम्पनीको गोपनियता भने निकै हुन्छ । हाल यस्ता कम्पनी द ब्रिटिश भर्जिन आईल्याण्ड्स, द केसन आईल्याण्ड्स, बरमुडा, आयल अफ म्यान लगायत विश्वको केही देशहरुमा खुल्दै आएका छन् । ३, यस्तो कम्पनी चलाउनको लागि अब तपाई कसैलाई नियुक्ती गर्नुहोस्, प्रबन्ध निर्देशक, प्रमुख कार्यकारी अधिकृत वा यस्तै अरु पद दिनुहोस् । अब यस कम्पनीले गर्ने कुनै पनि काम र निर्णयका दस्तावेजहरुमा तपाईको नाम हुने छैन । व्यापार व्यवसाय गर्ने क्रममा तपाई कुनै पनि ठाउँमा जानुपर्ने छैन, देखिनु पर्ने छैन । ४, थप गोपनियताको लागि अर्को कुनै अफसोर स्थानमा बैंक खाता खोल्नुहोस् । अब सेल कम्पनीले उक्त कम्पनीको खाता सञ्चालन गर्छ । आम्दानी लिन्छ, भुक्तानी दिन्छ । ५, पैसा कम्पनीको सम्पत्तिमा खर्च गर्नुहोस् । गाडी किन्न सक्नुहुन्छ, घर किन्न सक्नुहुन्छ । निजी प्लेन किन्न पनि सक्नु हुन्छ । वा ऋणमा जुन तपाईले कहिल्यै तिर्नुपर्दैन । बस्टन कन्सल्टिङ ग्रुपका अनुसार विश्वका धनाढ्यहरुले यसरी अफसोर वित्तीय केन्द्रहरुमा राखिएको सम्पत्तिको परिमाण करिव १० ट्रिलियत डलर छ । त्यो भनेको जापान, बेलायत र फ्रान्सको कुल आर्थिक उत्पादन जोडेपछि आउने सरह हो ।