दशैंमा दरबारमार्ग सुनसान, भाटभटेनीको व्यापार फस्टायो

काठमाडौं । नवरात्री सुरु भएको झण्डै एक साता बितिसक्यो । तर दरबारमार्गका पसलहरु सुनसान छन् । देशको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र दरबारमार्गमा पर्यटकको समेत चहलपहल छैन । आपूर्ति मन्त्रालयको अनुगमनपछि दरबारमार्गको कारोबारमा ह्रास आएको व्यवसायी बताउँछन् । दरबारमार्ग विकास बोर्डका अनुसार दरबारमार्गमा करिब दुई सयवटा पसलहरु छन् । आपूर्ति मन्त्रालयले दुई साता अघि गरेको अनुगमनका क्रममा ठगी गरेको पाइएपछि केही पसलहरु सिल गरिदिएपछि विरोध गर्दै दरबारमार्गका सबै पसलहरु बन्द भएका थिए । सिलबन्दीको विरोधमा नौ वटा पसलका व्यवसायीले पसल बन्द गरेका थिए । बढी नाफा लिएर सामान बिक्री गरेको पाएपछि दरबारमार्गका नाइक,वेन्टले, स्टोर वान र पुमाको ब्राण्डेड पसलमा सिलबन्दी गरिएको थियो । बिलविजकमा १० गुणासम्म नाफा लिएको तथा नाइकले २ हजार ६ सयमा ल्याएको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो । दैनिक झण्डै १ करोड रुपैयाँ बराबर कारोबार रहेको दरबारमार्गमा अहिले व्यापार घटेको बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जानकारी दिए । उनका अनुसार नियमितको तुलनामा दसैंमा कारोबार तीन गुणाले बढ्ने गरेको थियो । यसपाली दसैंमा मुश्किलले दैनिक एक करोड कारोबार भइरहेको उनले जानकारी दिए । अनुगमनपछि उपभोक्ताले दरबारमार्गका व्यवसायीलाई ’ठग’को रुपमा बुझ्न थालेको उनले बताए । उनले भने, ’सरकारले अनुगमन गरेर सिलबन्दी गरेपछि दरबारमार्गललाई ठगी गर्ने अड्डाको दृष्टिकोणबाट हेरिएको छ । अहिले दरबारमार्गमा कारोबार सुकेको छ ।’ फस्टायो भाटभटेनी उच्चवर्गका उपभोक्ताको प्रमुख बजारमध्ये भाटभटेनी सुपरमार्केटमा भीडभाड बढेको छ । भाटभटेनीमा पछिल्लो दसैंको तुलनामा यसपाली १० प्रतिशतले व्यापार बढेको सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जानकारी दिए । उनले भने, ’किराना पसलभन्दा पनि सस्तो मूल्यमा सामान खरिद गर्न पाउने भएकाले भाटभटेनीमा उपभोक्ताको आकर्षण बढ्दो छ ।’ भाटभटेनीमा सामान्यभन्दा दसैंमा तुलनात्मक रुपमा ३० देखि ३५ प्रतिशतले कारोबार बढ्ने गरेको पौडेलले बताए । ब्राण्डेड सामान पनि सस्तो मूल्यमा पाइने भएकाले उपभोक्ताको बाक्लो भीड लागेको उनले बताए । दसैंका अवसरमा भाटभटेनीले सामानहरुमा आक्रमक योजना ल्याएको छ । भाटभटेनीमा सामान खरिद गर्दा ५ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको पौडेलले बताए । भृकुटीमण्डपमा पनि गत बर्षहरुको तुलनामा उपभोक्ताको भिड र व्यापार दुबै बढेको व्यवसायीहरुले बताएका छन् । दरबारमार्गमा यसपाली सेलमेलाको आकर्षण घटेको र सटरहरुकै व्यापार पनि भृकुटीमण्डप सरेको व्यवसायी एककृष्ण पौडेलले बताए । उपभोक्तामा दरबारमार्ग र भृकुटीमण्डप लगायतका बजारमा पाइने समान उस्तै हुन भन्ने सन्देश गएकाले व्यापार बढेको उनले बताए ।

ताम्राकारको पहिलो बम्पर उपहार चौधरीलाई, १५ हजारको मोबाइलले चढायो मोटरसाइकल

काठमाडौं । दशैंतिहारको बहार ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा उपहार नै उपहार योजना अन्तर्गत पहिलो मोटरसाइकल शसेन्द्र बिक्रम चौधरीले पाएका छन् । उनले ताम्राकार कम्प्लेक्समा १५ हजार पर्ने एमआइको एवान ४ ए मोबाइल किनेका थिए । दैनिक मोबाइल, पावर बैंक र अन्य एशोसरिज लक्की ड्रबाट बितण गर्दै आएको ताम्राकार मोबाइलले राखेका ३ वटा बम्पर उपहार मध्ये एउटा मोटरसाइकल लक्की ड्रमा खोलिएको हो । बिभिन्न उपहारको बहार ल्याएको ताम्राकार मोबाइल कम्प्लेक्सको अन्य २ वटा मोटरसाइकल र स्कुटर भने दिपावली पछाडी लक्की ड्र मार्फत खोलिने मोबाइल ब्यापार संघ, ताम्राकार कम्प्लेक्सका अध्यक्ष जगत साउदले बताए । दैनिक २ वटा मोबाइल लक्की ड्र मार्फत बितरण गरिरहेको यो बजारले साप्ताहिक रुपमा ३२ इन्चको सामसुङ टेलिभिजन पनि बितरण गरिरहेको छ । अहिले सम्म ताम्राकारमा मोबाइल खरिद गर्नेमध्ये २६ वटा स्मार्टफोन, ४० वटा पावर बैंक, ४० वटा ब्लुतुथ एअरफोन बितरण गरिसकिएको मोबाइल ब्यापार संघका कोषाध्यक्ष अनिल ढकालले जानकारी दिए । बम्पर पुरस्कार बिजेता चौधरीलाई मेलामा मुख्य प्रायोजन रहेको लेनेभो र मोटोरोला मोबाइलका सिइयो शुशिल न्यौपानेले बाइकको चाबी हस्तान्तरण गरेका थिए । भदौ २२ गतेबाट सरु भएको मेलाको दोस्रो हप्ता सम्म १५ हजार ५ सय भन्दा बढी मोबाइल सेटको कारोबार भएको बताउँदै अध्यक्ष साउदले २२ करोड ४० लाख बढीको कारोबार भएको जानकारी दिए । मेलाको दोस्रोहप्ता सम्म ६० हजार बढी अबलोकनकर्ता आएको अनुमान आयोजकको छ । बिश्वासिलो मोबाइल बजारको ख्याती कमाएको ताम्राकार मोबाइल बजारले ग्राहकको सामुन्नेमा नै लक्की ड्र गर्दै आएको छ । मोटरसाइकल बिजेता चौधरी, टेलिभिजन बिजेता र मोबाइल बिजेताहरुलाई बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको मोबाइल ब्यापार संघका सचिव गुरुदत्त शर्माले बताए । छट पर्वसम्म जारी रहने यो मेलामा अझैं सयौं मोबाइल, पावर बैंक, ब्लुतुथ एअरफोन र टेलिभिजन बाँकी रहेको बजारले जनाएको छ ।

भाईटीकामा मात्रै खुल्ने रानीपोखरीको मन्दिर पुन:निर्माण सुरु, सात महिनामै सम्पन्न हुने

काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुन:निर्माण सात महिनामा सम्पन्न गरिने भएको छ । लामो समयसम्म विवादका कारण ढिलाई भएको यो एतिहासिक मन्दिरको पुन:निर्माण ढिलो गरि सम्पन्न हुन लागेको हो । भूकम्प अगाडि भाइटिका र छठ पर्वको अवसरमा मात्र खुला हुने गरेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनः निर्माण सुरु भएको छ । दुई महिना अघि पुरातत्व विभागले यो मन्दिरको पुन : निर्माण थालेको छ । रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर आगामी बैशाखमा सम्पन्न हुने प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । सुरुमा महानगरपालिकाले आरसीसी ढलान गरेर सम्पुर्ण रानी पोखरीको पुननिर्माण गर्ने भनेको थियो । तर युनेस्कोले आपत्ति जनाएपछि बालगोपालेश्वर मन्दिरमा आधुनिक निर्माण सामग्री प्रयोग नगरी पुननिर्माण गर्ने जिम्मा पुरात्व विभागलाई दिइएको थियो । पुनःनिर्माण कार्य सम्पन्न गर्न १ वर्षको म्याद तोकीएको छ । हालै आएर कामदार खटाएको २ महिना भएको भएता पनि आर्थिक कारोबार भने अघि सारिएको छैन । सो भवन निर्माण गर्नको लागि १ करोड ४० लाख विनीयोजन गरेकोमा खर्च कटौती नगरिएको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । पहिलाको जस्तै संरचना बन्ने भनेको छ तर अन्य बाहिरी वातावरणीय संरचनाका कार्यमा पोखरी तथा मन्दिर जाने बाटोलगायतका कार्य भने नगरपालीकाले कार्य अघि सार्ने विभागले जनाएको छ । विभागका प्रवक्ता कुँवरले भने,‘सम्पदालाई विशेष ध्यान दिएर बनाउन पर्ने हुन्छ, घर बनाए जस्तो होइन ।’ सम्पदा निर्माणको लागि कामदारहरु खटाइएको हुनाले काम तोकीएको समय अवधिमा नै पुरा हुने उनले बताए  । विभागले १ करोड ४० लाख रुपैयाँमा ठेक्का लगाएको छ । यहि बैशाख ५ गते कडेँल÷राम जेभी रानीबारीलाई बालगोपालेश्वर मन्दिर पुननिर्माणको ठेक्का दिइएको विभागले जानकारी दिएको छ । ‘ढुंगा, डाँची अप्पा र मा अप्पा सहित सुर्की मोटारको प्रयोग गरेर बालगोपालेश्वर मन्दिरको पुननिर्माण अघि बढेको छ, तोकिएको समयभित्रै पुरातात्विक महत्त्व झल्किने गरि निर्माण गर्नेछौं’, पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले भने । पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले भने ‘एक करोडको लागतमा बालगोपालेश्वर मन्दिर बनाउने तयारी अन्तिम चरणमा पुगेको छ’, विभागका सिडिई घिमिरेले भने । ‘पोखरीको बिचमा बन्ने भएकाले मन्दिर बलियो नै बनाउनु पर्छ, हामी इतिहास पनि जोगाउने र बलियो पनि बनाउने योजनामा छौं’, घिमिरेले भने । पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर बनाउनेछ भने बाँकी सबै संरचना काठमाडौं महानगरपालिका आफैंले निर्माण गर्नेछ । महानगरले यस अघि लगाएको ठेक्का अनुसार नै रानीपोखरीका अन्य संरचनाको निर्माण हुने पनि घिमिरले जानकारी दिए । १६७० सालमा तत्कालीन राजा प्रताप मल्लले पुत्र वियोगमा परेकी रानीलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए । विनाशकारी भुकम्पपछि ध्वस्त रहेको रानीपोखरी बल्ल पुनःनिमार्ण कार्य अघि बढेको छ ।