नेप्सको अध्यक्षमा रविनकुमार नेपाल, सञ्चालकमा ८ जना चयन

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को सञ्चालक समितिको अध्यक्षमा रविन कुमार नेपाललाई सर्वसम्मत रुपमा चयन गरेको छ । कात्तिक १ गते बसेको कम्पनीको ६२ औं संचालक समितिको बैठकले नेपाललाई अध्यक्षमा चयन गरेको हो । साथै, कम्पनीको असोज २९ गते सम्पन्न चौथो वार्षिक साधारणसभाबाट ८ जना नयाँ सञ्चालकहरु चयन भएका छन् । जसमा जनता बैंक नेपालका पृथ्वीनारायण श्रेष्ठ, सनराइज बैंकका रविन कुमार नेपाल, प्राइम कमर्सियल बैंकका भाइराजा तुलाधर, बैंक अफ काठमाडौंका प्रविनप्रकाश क्षेत्री, माछापुच्छ्रे बैंकका नारायण प्रकाश भुजु, नेपाल बांगलादेश बैंकका रत्नतारा वैद्य, सिटिजन्स् बैंक इन्टरनेशनलका सन्जीव कुमार श्रेष्ठ र सिद्धार्थ बैंकका सुरेशराज महर्जन चयन भएका छन् । १५ वटा बैंक तथा वित्तीय संस्थाहरुद्धारा संस्थापित एवं संचालित नेप्स, एक पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्यूरिटी स्ट्याण्डर्ड(पीसीआई डीएसएस भर्जन ३.२) र पीसीआई पीआईएन प्रमाणित कम्पनी हो । यो कम्पनी बैंक तथा वित्तीय संस्थाहरुको लागि इलेक्ट्रोनिक भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा विस्तारित हुँदै आइरहेको छ । साथै, यस कम्पनीले १० वटा बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न भिसा कार्ड सेवाहरुका लागि होस्टिङ्ग र स्विचिङ्गको सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

रमेश दुलालद्धारा रत्नपार्कमा काग सम्मेलन

काठमाडौं । मंगलबारबाट यसबर्षको तिहार पर्व शुरु भएसँगै पहिलो दिन कागतिहार मनाइएको छ । यसका साथै काग तिहारको अवसरमा नेपालका मुखबाटै १७० निकाल्न सक्ने रमेश दुलालले काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा काग सम्मेलन गरेका छन् । प्रत्येक बर्ष काग तिहारको दिनमै काग सम्मेलन गर्दै आएको दुलालको यो १४ औं काग सम्मेलन हो । दुलालले यमलोकको खबर यमराज समक्ष खबर पठाउने माध्यमको रुपमा लिइने कागको बारेमा लामो समयसम्म अध्ययन गरेका र साच्चै नै खबर पठाउछ या पठाउदैन भन्ने बारे अध्ययन पश्चात पठाउने बुझेपछि उनले पनि कागलाई साथीको रुपमा लिएर सन्देश पठाउने गरेको बताउँछन् । ‘मैले कागलाई उसकै भाषामा बोलाउछु र सन्देश पनि पठाउने गरेको छु ।, सन्देश पठाउने माध्यमको रुपमा लिइने कागले साच्चै नै सन्देश लिएर जाने गरेको मैले पाएको छु ।’, कागको बारेमा बोल्दै दुलालले भने । दुलालले दुईबर्षअघि मात्रै नेपालमा भारतले लगाएको नाकाबन्दीमा पनि त्यसको बिरुद्ध कागलाई जम्मा गरी भारतीय दुतावास घेराऊ गरेका थिए ।

एनबीआई र एनएमबि बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट(एनबीआई) र एनएमबि बैंकबीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले एनएमबि बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार एनएमबि बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ५० लाख रुपैयाँ बराबरको रकम आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा एनएमबि बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।