भाईटीकामा मात्रै खुल्ने रानीपोखरीको मन्दिर पुन:निर्माण सुरु, सात महिनामै सम्पन्न हुने

काठमाडौं । रानीपोखरीको बालगोपालेश्वर मन्दिरको पुन:निर्माण सात महिनामा सम्पन्न गरिने भएको छ । लामो समयसम्म विवादका कारण ढिलाई भएको यो एतिहासिक मन्दिरको पुन:निर्माण ढिलो गरि सम्पन्न हुन लागेको हो । भूकम्प अगाडि भाइटिका र छठ पर्वको अवसरमा मात्र खुला हुने गरेको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको पुनः निर्माण सुरु भएको छ । दुई महिना अघि पुरातत्व विभागले यो मन्दिरको पुन : निर्माण थालेको छ । रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिर आगामी बैशाखमा सम्पन्न हुने प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । सुरुमा महानगरपालिकाले आरसीसी ढलान गरेर सम्पुर्ण रानी पोखरीको पुननिर्माण गर्ने भनेको थियो । तर युनेस्कोले आपत्ति जनाएपछि बालगोपालेश्वर मन्दिरमा आधुनिक निर्माण सामग्री प्रयोग नगरी पुननिर्माण गर्ने जिम्मा पुरात्व विभागलाई दिइएको थियो । पुनःनिर्माण कार्य सम्पन्न गर्न १ वर्षको म्याद तोकीएको छ । हालै आएर कामदार खटाएको २ महिना भएको भएता पनि आर्थिक कारोबार भने अघि सारिएको छैन । सो भवन निर्माण गर्नको लागि १ करोड ४० लाख विनीयोजन गरेकोमा खर्च कटौती नगरिएको पुरातत्व विभागका प्रवक्ता राम बहादुर कुँवरले जानकारी दिए । पहिलाको जस्तै संरचना बन्ने भनेको छ तर अन्य बाहिरी वातावरणीय संरचनाका कार्यमा पोखरी तथा मन्दिर जाने बाटोलगायतका कार्य भने नगरपालीकाले कार्य अघि सार्ने विभागले जनाएको छ । विभागका प्रवक्ता कुँवरले भने,‘सम्पदालाई विशेष ध्यान दिएर बनाउन पर्ने हुन्छ, घर बनाए जस्तो होइन ।’ सम्पदा निर्माणको लागि कामदारहरु खटाइएको हुनाले काम तोकीएको समय अवधिमा नै पुरा हुने उनले बताए  । विभागले १ करोड ४० लाख रुपैयाँमा ठेक्का लगाएको छ । यहि बैशाख ५ गते कडेँल÷राम जेभी रानीबारीलाई बालगोपालेश्वर मन्दिर पुननिर्माणको ठेक्का दिइएको विभागले जानकारी दिएको छ । ‘ढुंगा, डाँची अप्पा र मा अप्पा सहित सुर्की मोटारको प्रयोग गरेर बालगोपालेश्वर मन्दिरको पुननिर्माण अघि बढेको छ, तोकिएको समयभित्रै पुरातात्विक महत्त्व झल्किने गरि निर्माण गर्नेछौं’, पुरातत्व विभागका इञ्जिनियर प्रेमराज पोखरेलले भने । पुरातत्व विभागका सिनियर डिभिजनल इञ्जिनियर सम्पत घिमिरेले भने ‘एक करोडको लागतमा बालगोपालेश्वर मन्दिर बनाउने तयारी अन्तिम चरणमा पुगेको छ’, विभागका सिडिई घिमिरेले भने । ‘पोखरीको बिचमा बन्ने भएकाले मन्दिर बलियो नै बनाउनु पर्छ, हामी इतिहास पनि जोगाउने र बलियो पनि बनाउने योजनामा छौं’, घिमिरेले भने । पुरातत्व विभागले बालगोपालेश्वर मन्दिर बनाउनेछ भने बाँकी सबै संरचना काठमाडौं महानगरपालिका आफैंले निर्माण गर्नेछ । महानगरले यस अघि लगाएको ठेक्का अनुसार नै रानीपोखरीका अन्य संरचनाको निर्माण हुने पनि घिमिरले जानकारी दिए । १६७० सालमा तत्कालीन राजा प्रताप मल्लले पुत्र वियोगमा परेकी रानीलाई भुलाउन रानीपोखरी निर्माण गरेका थिए । विनाशकारी भुकम्पपछि ध्वस्त रहेको रानीपोखरी बल्ल पुनःनिमार्ण कार्य अघि बढेको छ ।

एन आई सी एसिया बैंकको वित्तिय सचेतना र्याली

काठमाडौं । एनआईसी एसिया बैंकको वित्तिय सचेतना र्याली सम्पन्न भएको छ । शनिबार वित्तिय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले बैंकले र्याली आयोजना गरेको हो । कमलादी शाखाबाट सुरु भएको र्याली काठमाण्डौंका विभिन्न मुख्य स्थानहरुको परिक्रमा गर्दै पुन : कमलादी शाखामा पुगी समापन भएको थियो । र्यालीमा बैंकको ६ सय भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो । बैंकले हाल ६ लाख भन्दा बढी निक्षेप ग्राहक, २८ हजारभन्दा बढी कर्जा ग्राहक ३ लाख ३० हजार भन्दा बढी डिजिटल बैंकिङ्ग ग्राहकहरुलाई देशभर रहेका आफ्ना १ सय २८ शाखा एवं विस्तारित काउन्टर मार्फत् उच्चस्तरिय र ग्राहक केन्द्रित सेवा प्रदान गर्दै आइरहेको जानकारी दिएको छ । बैंकले आकर्षक, लाभदायी तथा ग्राहक केन्द्रित बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बचत खातामा वार्षिक ९ प्रतिशतसम्मको आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ , जुन नेपाली वाणिज्य बैंकहरुले प्रदान गरेको ब्याजदर मध्येकै उच्च ब्याजदर रहेको बैंकले जानकारी दिएको छ ।

नाडा अटो शो: कार बिक्रीमा तीब्र प्रतिस्पर्धा, दुई दिनमै एक अर्ब २६ करोड बढीको बुकिङ

काठमाडौं । गाडीहरुको मेला नाडा अटो शोमा विभिन्न ब्राण्डका करिब एक अर्ब २६ करोड रुपैयाँ भन्दा बढी चार पाङ्ग्रे गाडीको बुकिङ भएको छ । मंगलबारदेखि सुरु भएको शोको दुई दिनमा ११ स्टलबाट २७२ वटा कार, जिप तथा ह्याचब्याक बिक्री भएका हुन् । मेलाका अवसरमा विभिन्न कम्पनीले कारमा बीमा, नगद छुट, निःशुल्क सर्भिसिङ, उपहार जस्ता आकर्षक योजना ल्याएका छन्। विभिन्न कम्पनीबीच ग्राहकलाई आकर्षित गर्न प्रतिस्पर्धा चलिरहेको छ । आकर्षक अफरसँगै मेलामा नयाँ मोडल तथा मनपरेको कार किन्न आउनेको भीड लागेको छ । मेलामा भाग लिने १६ वटा कम्पनीमध्ये लक्ष्मी इन्टरकन्टिनेन्टल प्राली, गो अटोमोबाइल्स प्राली, एमएडब्लू प्राली र अरुण कन्टिनेन्टल ट्रेडर्सले भने बुकिङ बारे गोप्य राखेका छन् ।  साँग्रीला मोटर्स प्रालीले भने बुकिङ नखुलाएको जानकारी दिएको छ । महिन्द्रा नाडा अटो शोमा महिन्द्राको जीप सेग्मेन्टका गाडीहरु बढी बिक्री भएका छन् । मेलामा करिब १५ वटा जिप सेग्मेन्टका गाडीहरु बिक्री भएका छन् । जिपमध्येमा आकर्षणको केन्द्रबिन्दुमा रहेको थार चारवटा बुक भएको म्यानेजर सुरज राजवंशीले जानकारी दिए । महिन्द्राले जिपलाई शोको पहिलो दिन सार्वजनिक गरेको थियो । हालसम्म पाँचवटा डबल क्याब र १५ वटा जिप सेग्मेन्टका गाडी बिक्री गरेको कम्पनीले तीनवटा एक्युभी मोडलको कार बुकिङ दर्ता गरेको छ । कम्पनीले करीब ९ करोड ४२ लाख ४० हजार रुपैयाँ बराबरको बुकिङ गरेको छ । टाटा मोटर्स टाटा मोटर्सको दुई दिनमा ५५ वटा गाडी बुकिङ भएको छ । जसबाट करिब १८ करोड दुई लाख ५० हजार रुपैयाँ बराबरको कारोबार हुनसक्ने कम्पनीको अनुमान छ । भर्खरै सार्वजनिक भएको टाटा टिगोर २० वटा बुकिङ भएका छन् भने टियागो १५ जनाले बुकिङका लागि दर्ता गराएका छन् । जेस्ट करिब दस वटा र बाकी सुमो र गोल्ड बुक भएको कम्पनीले जानकारी दिएको छ । होन्डा मेलामा होन्डाले करिब तीन करोड नौ लाख रुपैयाँ बराबरको बुकिङ गरेको छ । दुई दिनमा होन्डाका सातवटा गाडी बुकिङ भएका हुन् । बुकिङ हुनेमा होन्डाका बिआरभी, सिटी, अमेज र ज्याज मोडलका कार रहेको कम्पनीले जानकारी दिएको छ । रिनाल्ट मेलामा लञ्च भएको दुई दिन मै रिनाल्टको क्विड मोडलको कार सात जनाले बुकिङ गरेका छन् । रिनाल्टले दुई दिनमा करिब सात करोड २५ लाख रुपैयाँ बराबरको बुकिङ गरेको हो । रिनाल्टको जम्मा २० वटा बुकिङ मध्ये १३ वटा डस्टर रहेको कम्पनीले जानकारी दिएको छ । डाट्सन सुरुवाती दुई दिनमा डाट्सनले तीन करोड ६६ लाख रुपैयाँ बराबरको सवारीसाधन बुकिङ दर्ता गराएको छ । दुई दिनमा भएको १८ वटा गाडी बुकिङ मध्ये १४ वटा रेडी गो १ लिटर , दुईवटा रेडि गो ८०० लिटर र गो दुई वटा बुकिङ भएको कम्पनीले जानकारी दिएको छ । इसुजु मेलामा इसुजुका १२ वटा गाडी बुकिङ भएका छन् । जसबाट करिब सात करोड रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको अनुमान छ । शोमा भी क्रस ११ वटा बुकिङ भएका छन् भने एउटा एस क्याब बुक भएको कम्पनीले जानकारी दिएको छ । भोक्सवागेन भोक्सवागेनले मेलाको दोस्रो दिनसम्ममा २८ वटा गाडी बुकिङ दर्ता गराएको छ। सो अवधिमा करिब २२ करोड ५३ लाख ३० हजार रुपैयाँ बराबरको कारोबार भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार १४ वटा क्रस पोलो र १४ वटा न्यु टिगुवान बुकिङ भएका छन्। निस्सान पायोनियर ग्रुपको निस्सानका ३० वटा गाडीहरु बुक भएका छन् । जसको मूल्य करिब आठ करोड ३० लाख हुन्छ । कम्पनीका अनुसार अधिकांश ग्राहकले नयाँ मोडलको सनी कार रुचाएका छन् । जम्मा बुकिङ मध्ये २५ प्रतिशत बुकिङ सनीको रहेको छ । बाकी ७५ प्रतिशत माइक्रा एक्टिभले लिएको कम्पनीले दाबी गरेको छ । किया कियाको विद्युतीय कार सोल इभीमा ग्राहकको विशेष आकर्षण पाइएको छ । ५६ लाख रुपैयाँ पर्ने उक्त कारमा डेढ लाख रुपैयाँ छुट दिइएको छ । दुई दिनमा उक्त कारमा २२ जनाले बुकिङ गरेका छन् । कम्पनीले करिब ३३ करोड ६० लाख रुपैयाँ बराबरको गाडी बुकिङ गराएको छ । विद्युतीय कारपछि सबैभन्दा बढी पिकान्टो कार बिक्री भएको कम्पनीको दाबी छ । सुबारु सुबारुले चार १३ लाख रुपैयाँ बराबरको कार बुकिङ गराएको छ । बुकिङ हुने चार गाडी मध्ये एउटा फरेस्टर मोडल र तीन वटा एक्सओभी मोडलका रहेको कम्पनीले जानकारी दिएको छ । स्याङयाङ आइएमएस मोटर्सको स्याङयाङ ब्राण्डका १५ वटा कारहरु बुकिङ भएका छन् । एक्सएलभी मोडका ६ वटा, टिवोलीका तीन वटा, एक्टन स्पोर्जका चार वटा पिकअप र कोर्यान्डोका दुई वटा गाडी बुकिङ भएका छन् । बुकिङ सँगै दुई दिनमा कारोबार ९ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको कम्पनीले जानकारी दिएको छ ।