निर्वाचनपूर्व मन्त्रिपरिषद् बैठक अनिश्चित, दीर्घकालीन निर्णय रोक्न मुख्यसचिव अर्यालको सतर्कता

काठमाडौं । सरकारका मुख्य सचिव सुमनराज अर्यालले अनिच्छा देखाएपछि सोमबार बस्ने तय गरिएको मन्त्रिपरिषद् बैठक अनिश्चित बनेको छ ।  निर्वाचनको पूर्वसन्ध्यामा सरकारले दीर्घकालीन महत्त्वका प्रस्तावहरू अघि बढाउने तयारी गरेको सूचना पाएपछि मुख्यसचिव अर्यालले सकेसम्म निर्वाचन परिणाम सार्वजनिक नहुँदासम्म मन्त्रिपरिषद् बैठक नराख्न सुझाव दिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार केही मन्त्रालयहरूले नीतिगत तथा दीर्घकालीन असर पार्ने निर्णयका प्रस्तावहरू क्याबिनेटमा लैजाने तयारी गरेका थिए । ती प्रस्तावहरू निर्वाचन आचारसंहिताको भावना विपरीत हुन सक्ने आशंकासहित मुख्यसचिवले सतर्कता अपनाउन आग्रह गरेको बताइएको छ । मतदानको दिन आउन लागेको र मौन अवधि सुरु हुन लागेको अवस्थामा नयाँ नीति, दीर्घकालीन सम्झौता वा ठूलो आर्थिक दायित्व सिर्जना गर्ने निर्णयहरू भए भने मुख्यसचिव जिम्मेवार हुनपर्ने भएकोले अर्याल निर्वाचन पहिले मन्त्रिपरिषद बैठक नहोस् भन्ने पक्षमा रहेका छन् ।  यस्तै, संवेदनशील समयमा बैठक बसेर विवादास्पद निर्णय भए त्यसले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने भएकोले निजामती प्रशासनको नेतृत्वले भोलिको मन्त्रिपरिषद बैठक नहोस् भन्ने चाहेको छ ।

निर्वाचनको मौन अवधि सुरु भएपछि के-के गर्न पाइँदैन ?

काठमाडौं । फागुन २१ गतेको निर्वाचन आउन अब चार दिनमात्र बाँकी छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले यतिखेर प्रचारप्रसारलाई तीव्र बनाएका छन् । १८ गते राति बाह्र बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचारप्रसारमा रोक, निर्वाचन लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन र कार्यशाला तथा गोष्ठी आदि गर्न नपाइने जनाएको छ । त्यस्तै, बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत तथा होहल्ला गर्न पाइनेछैन । त्यस्तै, सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट र सेयर गर्न वा गराउनु नहुने आयोगले उल्लेख गरको छ। ‘निर्वाचन प्रचारप्रसार तथा मत माग्न साउण्ड सिस्टम, एसएमएस, सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन,’ आयोगले भनेको छ, ‘मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति र कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन ।’ राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले प्रस्ट पारेको छ । त्यस्तै, आयोगले मतदान केन्द्र रहेको घर, भवन, स्थानमा मतदानलाई असर पार्ने गरी त्यसको वरिपरिको कुनै निजी,सार्वजनिक घर, भवन, जग्गामा शान्ति भंग गर्न, भय, त्रास सिर्जना गर्न, निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन नपाइने बताएको छ ।  मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्ने आयोगले जनाएको छ।

मतदाताले के-के गर्न पाइँदैन ?

काठमाडौं । के तपाईं १८ वर्ष पुग्नुभयो त ? त्यसो भए पक्कै तपाईंको नाम मतदाता नामावलीमा होला । यदि तपाईं मताधिकार प्रयोग गर्न योग्य हुनुहुन्छ भने के(के गर्न हुन्छ भन्नेबारेमा थाहा छ त ? निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा के-के गर्न हुन्छ/ हुँदैन भनेर सूची सार्वजनिक गरेको छ ।  आयोगका अनुसार मतदान गर्न जाँदा दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित कपडा, टि-सर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप, भेष्ट, लोगो, ब्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न पाइँदैन । ‘मतदान गर्न जाँदा मतदाताको शरीरको कुनै भागमा बनाइएको उम्मेदवारको फोटो, दल वा उम्मेदवारको निर्वाचन चिन्ह र झण्डा अंकित ट्याटु प्रदर्शन गर्न पाइँदैन, आयोगले भनेको छ ।  मतदातालाई मतदान गर्न जान वा मतदान गर्नबाट वञ्चित गराउने अभिप्रायले झुटा अफवाह, भ्रामक समाचार फैलाउने, कुनै अवरोध गर्ने काम गर्न वा गराउन नहुने आयोगले जनाएको छ ।  कसैको पक्ष वा विपक्षमा एसएमएस, सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यम प्रयोग गरी तथ्यहीन सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने पनि आयोगले उल्लेख गरेको छ । मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा साथमा लिएर जान नहुने, कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नपाइनेसमेत आयोगले प्रस्ट पारेको छ ।