बालबालिकालाई सदस्य बनाएको आरोपमा रास्वपाको स्पष्टोक्ति -‘१८ वर्षमुनिकालाई सदस्यता दिँदैनौं’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्ने चर्चा अस्वीकार गर्दै त्यस्तो नीति, अभ्यास वा संस्थागत उद्देश्य नरहेको स्पष्ट पारेको छ । बुधबार महामन्त्री विपिनकुमार आचार्यले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ र पार्टी विधानअनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिक मात्रै पार्टी सदस्य बन्न पाउने व्यवस्था रहेको जानकारी दिएका हुन् । रास्वपाले प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा उल्लेख गरिएको तथ्यांक सदस्यताका लागि आवेदन दिनेहरूको संख्या मात्र भएको स्पष्ट गरेको छ । पार्टीका अनुसार डिजिटल प्रणालीमा जोसुकैले सदस्यताका लागि आवेदन दिन सक्ने भए पनि आवेदन गर्नु र सदस्यता स्वीकृत हुनु फरक प्रक्रिया हुन् । विज्ञप्तिमा सदस्यता आवेदन, प्रमाणीकरण र अन्तिम स्वीकृति छुट्टाछुट्टै प्रशासनिक तथा प्राविधिक चरण भएको उल्लेख गर्दै प्रारम्भिक आवेदनलाई स्वतः सदस्यता स्वीकृत भएको मान्न नमिल्ने जनाइएको छ । रास्वपाले उमेर, नागरिकता तथा अन्य आवश्यक कागजात सम्बन्धित तहबाट प्रमाणीकरण भएपछि मात्रै विधान र कार्यविधिअनुसार सदस्यता प्रदान गरिने जनाएको छ । प्रारम्भिक चरणमा १८ वर्ष नपुगेका केही व्यक्तिले पनि आवेदन दिएको देखिए पनि उनीहरूलाई सदस्यता नदिइने स्पष्ट पारिएको छ । विज्ञप्तिमा पार्टीले विधिको शासन, संविधानको सर्वोच्चता, सुशासन, पारदर्शिता तथा प्रचलित कानुनको पूर्ण पालना गर्न सदैव प्रतिबद्ध रहेको पुनः दोहोर्याएको छ ।
देश फिल्मी संवाद र ‘ह्याङओभर’बाट चल्दैन : सांसद शर्मा
काठमाडौं । नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकार र सत्तारुढ दलको कार्यशैलीप्रति टिप्पणी गर्दै देश लोकप्रियतावाद र फिल्मी शैलीले नचल्ने बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद शर्माले मुलुकका समसामयिक समस्या समाधानमा सरकार गम्भीर नभएको आरोप लगाए । बैठकमा विशेष समय लिएर बोल्दै सांसद शर्माले देशमा १ देखि ५ वर्ष उमेर समूहका २ लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भइरहेको तथ्याङ्क प्रश्तुत गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ लक्षित गर्दै प्रश्न गरे, 'आफ्नो महाधिवेशनमा दिनहुँ ८ क्विन्टल मासु भक्षण गरिरहँदा रास्वपाका नेता र मन्त्रीहरूले ती कुपोषित बालबालिकाको अनुहार सम्झे कि सम्झेनन् ?' किसानका समस्याप्रति सरकार उदासीन रहेको उल्लेख गर्दै उनले गत चैत महिनामा बर्डफ्लुले क्षति व्यहोरेका कुखुरापालक किसानले हालसम्म पनि क्षतिपूर्ति नपाएको विषयमा सरकारको ध्यानाकर्षण गराए । काठमाडौं आइपुगेका सुस्ताबासीको सन्दर्भ उठाउँदै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे, ‘प्रधानमन्त्रीले तिनलाई मिचाहा भन्ने कि मिचिएका नेपाली? यसबारे स्पष्ट पारिदिनुपर्यो ।’ सरकारले ल्याउन लागेको सवारी तथा यातायात सम्बन्धी विधेयकको विषयमा पनि सांसद शर्माले कडा आपत्ति जनाए । उक्त विधेयक कुनै दक्षिण भारतीय (मद्रासी) चलचित्रबाट प्रभावित भएर ल्याइएको टिप्पणी गर्दै उनले यसमा रहेका कठोर जरिवानाका प्रावधानहरू सच्याउन माग गरे । ‘देश फिल्म र फिल्मी संवादले चल्दैन, न त ताली र गालीले नै चल्छ’ शर्माले भने, ‘सरकार यस्तो ‘ह्याङओभर’बाट जति सक्दो चाँडो मुक्त हुनुपर्छ ।’ समय निरपेक्ष कानुन निर्माण गरेर नागरिकलाई दुःख दिन नहुनेमा जोड दिए ।
रास्वपाको नयाँ नेतृत्वले सम्हाल्यो जिम्मेवारी, बनस्थलीमा सपथग्रहण जारी
काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सपथग्रहण कार्यक्रम सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा जारी कार्यक्रममा महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिन थालेका हुन् । सपथसँगै नयाँ नेतृत्वले औपचारिक रूपमा पार्टीको जिम्मेवारी सम्हाल्ने एक नेताले बताए । चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई आज सपथ गराइँदै छ । सपथग्रहणपछि नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गर्ने तथा पार्टीलाई आगामी राजनीतिक कार्यदिशाअनुसार अघि बढाउने तयारी रहेको जनाइएको छ । सपथग्रहण कार्यक्रममा पार्टीका शीर्ष नेता, केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको छ । पार्टी सभापति रवि लामिछानेले महाधिवेशन हलमै सपथ लिएका थिए । सपथग्रहण कार्यक्रम अहिले पनि जारी छ ।