विदेशिएका नेपाली फर्किने वातावरण बनाउन सबै पक्ष सक्रिय हुनुपर्छ : सभामुख अर्याल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्गबीच कार्यगत एकता र गतिशीलता आवश्यक रहेको बताएका छन् । ६८औँ संसद् दिवसको अवसरमा मङ्गलबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूलाई आग्रह गरे । नेपाल बस्नलायक मुलुक बन्यो, अब स्वदेश फर्किनुपर्छ भन्ने वातावरण सिर्जना गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताए । वैदेशिक रोजगारी र अन्य सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्किने आधार तयार गर्न नागरिकले झक्झक्याइरहनुपर्ने उल्लेख गरे । विकास र सुशासनको मार्गमा अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मात्र मुलुकलाई द्रुतमार्गबाट विकासको दिशामा अगाडि बढाउन सकिने उनको तर्क छ । ‘आगामी दिनमा जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र निर्माण गर्ने विषयमा, सुशासन कायम गर्ने विषयमा तथा भ्रष्टाचारको अन्त्य गर्ने विषयमा यहाँहरूले हामीलाई निरन्तर झक्झक्याइरहनुपर्छ,’ उनले भने । सभामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘स्पिड र स्पिरिट’ (गति र भावना) मिलेमा मात्र जनताको चाहनाअनुसार परिणाममुखी काम गर्न सकिने उल्लेख गरे । संविधानको अक्षरशः पालना गर्दै कानुनी राज्यको अवधारणामा कुनै आँच नआउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । मुलुकमा प्रिमियम क्लासको राजनीति गर्ने अवसर अघिल्लो पुस्ताले प्रदान गरेको स्मरण गर्दै उनले वर्तमान र भावी पुस्ताको क्षमतालाई कदर गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने बताए।
लुम्बिनीमा देउवा समूहको भेला, संगठन पुनर्जागरणको प्रयास
काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि समानान्तर रूपमा सक्रिय रहेको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले मंगलबार लुम्बिनीमा समापन भेला गर्दैछ । पूर्व सभापति देउवाको नाममा संगठित कांग्रेसको एक समूहले सातै प्रदेशमा सञ्चालन गरेको प्रदेशस्तरीय भेलाको श्रृंखला मंगलबार लुम्बिनी प्रदेशमा सम्पन्न गर्न लागेको हो । दाङको लमहीमा हुने यो भेला उक्त समूहको अन्तिम प्रदेशस्तरीय कार्यक्रम हो । विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको ध्रुवीकरण कम गर्दै संगठनलाई पुनः एकताबद्ध बनाउने उद्देश्यले देशव्यापी प्रदेश भेला सञ्चालन गरेको समूहले लुम्बिनी भेलालाई निष्कर्षात्मक कार्यक्रमका रूपमा लिएको छ । यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको लुम्बिनी प्रदेश भेला आज सम्पन्न हुन लागेको हो । कांग्रेस नेता दामोदर भुसालका अनुसार समूहले सातै प्रदेशमा भेला आयोजना गर्ने निर्णय तीन प्रमुख उद्देश्यका साथ गरेको थियो । उनका अनुसार पहिलो, पार्टीभित्र बृहत् एकताको वातावरण निर्माण गर्ने, दोस्रो विशेष महाधिवेशनका क्रममा संगठनको मूल प्रवाहबाट बाहिरिएका वा निराश बनेका नेता–कार्यकर्तालाई पुनः सक्रिय बनाउने, र तेस्रो, मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे साझा समीक्षा गर्दै आगामी रणनीति तय गर्ने । प्रदेश कार्यक्रम संयोजक गेहेन्द्र गिरीका अनुसार लुम्बिनीको भेलासँगै सातै प्रदेशमा तय गरिएका कार्यक्रम सम्पन्न हुनेछन् । उनका अनुसार भेलामा विशेष महाधिवेशनको पक्षमा नदेखिएका तथा पछिल्लो समय संगठनात्मक गतिविधिबाट टाढिएका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा उक्त समूहले गरेको छ । समूहका संरक्षक मानिएका पूर्व सभापति शेरबहादुर देउवा हाल विदेशमा उपचाररत रहेकाले कार्यक्रमको नेतृत्व उपसभापति पूर्णबहादुर खड्काले गरिरहेका छन् । भेलामा नेता गुरु बराल, निवर्तमान सहमहामन्त्री किशोरसिंह राठौरलगायतका नेताले पार्टीको आन्तरिक अवस्था, संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे धारणा राख्ने कार्यक्रम रहेको छ । लुम्बिनीमा प्रभाव कमजोर बन्दै गएको संकेत कुनै समय लुम्बिनी प्रदेश देउवा समूहको सबैभन्दा उर्वर क्षेत्र मानिन्थ्यो । अहिले भने लुम्बिनी प्रदेशमा यो समूहको संगठनात्मक प्रभाव अघिल्ला वर्षहरूको तुलनामा कमजोर देखिएको छ। एक समय देउवा समूहसँग रहेका प्रदेशका प्रभावशाली नेताहरू क्रमशः संस्थापन पक्षतर्फ ढल्किएका छन् । कुनै समय देउवाकी दाहिने हात मानिएकी नेत्री पुष्पा भुसालले देउवाको साथ छोडेर विशेष महाधिवेशनबाट उपसभापति बनेकी छन् । त्यसैगरी देउवाका सारथी नै भनिने बालकृष्ण खाण पछिल्लो समय सभापति गगन थापाको नजिक देखिएका छन् । विनोद चौधरी, देवेन्द्रराज कँडेललगायतका नेताले पनि संस्थापन पक्षलाई नै साथ दिइरहेका छन् । यसले लुम्बिनीमा देउवा समूहको पुरानो शक्ति संरचनामा परिवर्तन आएको देखिन्छ। यही कारण आजको भेला केवल नियमित संगठनात्मक कार्यक्रम मात्र नभई विशेष महाधिवेशनपछि निराश र निष्क्रिय बनेका कार्यकर्तालाई पुनः सक्रिय बनाउने तथा समूहको राजनीतिक सन्देश स्पष्ट पार्ने प्रयासका रूपमा पनि हेरिएको नेताहरूले बताएका छन् । आगामी रणनीतितर्फ केन्द्रित सातै प्रदेशका भेला सम्पन्न भएसँगै समूहले अब ती भेलाबाट प्राप्त सुझाव, संगठनात्मक अवस्थाको समीक्षा तथा पार्टीभित्र आफ्नो भूमिकाबारे थप रणनीति तय गर्ने तयारी गरेको एक नेताले बताए । कांग्रेसभित्र एकताको सन्देश प्रवाह गर्ने र संगठनमा देखिएको विभाजनको मनोविज्ञान अन्त्य गर्ने उद्देश्य व्यक्त गरे पनि, प्रदेशका प्रभावशाली नेताहरूको संस्थापनतर्फको झुकावले यो समूहको आगामी राजनीतिक दिशालाई चुनौतीपूर्ण बनाएको विश्लेषण भइरहेको छ ।
विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको छ : सांसद विष्ट
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद नरबहादुर विष्टले वर्तमान सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीप्रति आपत्ति प्रकट गरेका छन् । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद विष्टले सरकार सुशासनको नारा दिएर फासीवादतर्फ उन्मुख भएको र संविधानमाथि नै खतरा पैदा गरेको आरोप लगाएका हुन् । बैठकको शुरुमा धान दिवसको शुभकामना दिँदै सांसद विष्टले पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेको एक मार्मिक गीतको प्रसङ्ग उल्लेख गरे । उक्त गीतले सहकारी ठगी, गरिबको रगत र वैदेशिक ऋणको चपेटामा परेको मुलुकको यथार्थ चित्रण गरेको भन्दै उनले सरकारको पृष्ठभूमि नै विवादास्पद रहेको बताए । सांसद विष्टले हालै सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन र सो पार्टीका आन्तरिक दस्ताबेजहरूको चर्चा गर्दै रास्वपाभित्र वैचारिक द्वन्द्व देखिएको टिप्पणी गरे । उनले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै रास्वपाको कडा आलोचना समेत गरे । सरकारको कुटनीतिक असफलताका बारेमा चर्चा गर्दै उनले राहदानी (एमआरपी) प्रकरणमा जर्मनीले नेपाली दुतावासलाई बोलाएर गालीगलौज गर्नले नेपालको कुटनीतिक छवि धमिलिएको बताए । उनले भने, ‘अर्थमन्त्रीको दस्ताबेजमा प्रदेश सभा खारेजीको कुरा छ भने पार्टी सभापतिको दस्ताबेजमा पुनर्संरचनाको कुरा छ । ४१०० प्रतिनिधिमध्ये सीमित व्यक्तिले मात्र मतदान गर्न पाएको चर्चा सुनिन्छ, के यो पार्टी विभाजनको सङ्केत होइन ।’ प्रधानमन्त्री कार्यालयको कार्यशैलीलाई ‘हिटलरको ग्यास च्याम्बर’ सँग तुलना गर्दै संवैधानिक अङ्गका प्रमुखहरू र मानवअधिकार आयोगका सदस्यहरूलाई बोलाएर धम्क्याउने काम भएको आरोप लगाए । रक्षामन्त्री समेत रहनुभएका प्रधानमन्त्रीलाई भेट्न गएका प्रधानसेनापतिले घण्टौँ कुर्नुपर्ने अवस्था आएको भन्दै उनले सरकारको कार्यशैली रहस्यमय रहेको बताए । विश्वविद्यालयहरूमा उपकुलपति नियुक्तिमा बार्गेनिङ भइरहेको र शिक्षा तथा स्वास्थ्य क्षेत्र अस्तव्यस्त रहेको उल्लेख गर्दै सांसद विष्टले सुशासनको नारा केवल भ्रम मात्र भएको दाबी गरे । २०७२ को संविधानलाई निकम्मा बनाउने र देशलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र भइरहेको भन्दै उनले सम्पूर्ण नागरिकलाई सचेत रहन आग्रह गरे । संविधानको रक्षाका लागि आफूहरू सदैव दृढ रहने प्रतिवद्धता व्यक्त गर्दै सांसद विष्टले सरकारलाई राजनीतिक र कुटनीतिक संवादमार्फत मुलुकका समस्या समाधान गर्न सुझाव दिए ।