रास्वपा महाधिवेशन : बन्दसत्र दिउँसो २ः०० बजेदेखि
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ः०० बजेदेखि सुरु हुने भएको छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको रास्वपाले जनाएको छ । रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ । केहीबेर अघिदेखि महाधिवेशन परिचयपत्र वितरण कार्य सुरु भएको छ । महाधिवेशन प्रतिनिधिहरूको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने काम गर्न बढी समय लागेकाले महाधिवेशनको बन्दसत्र पछि सरेको बताइएको छ । कार्ड वितरणपछि पूर्ववत् तालिकाअनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले प्रस्तुत गर्ने आयोगको प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले प्रस्तुत गर्नुहुने आर्थिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल गरिने कार्यतालिकामा उल्लेख छ । त्यसैगरी, पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले विधानमाथिको संशोधन प्रस्ताव, महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन र उपसभापति डा स्वर्णिम वाग्लेले पार्टीको अर्थ तथा राजनीतिक प्रस्ताव अलगअलग रूपमा प्रस्तुत गर्नेछन् । बन्दसत्रका क्रममा पार्टीका पदाधिकारीहरूबाट प्रस्तुत हुने उल्लिखित प्रस्ताव पास भएपछि पार्टी सभापति रवि लामिछानेले पेस गर्नुहुने राजनीतिक प्रतिवेदनमाथि बन्दसत्रमा छलफल हुने रास्वपाले जनाएको छ । यसैबीच, पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणासहित आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने प्रस्ताव गर्ने छ । त्यसपछि आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यतालिका रहेको छ । आइतबार दिउँसो भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन हुँदैछ ।
एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एमालेले आज संसदीय दल तथा सचिवालय बैठक बोलाएको छ । पार्टीका तर्फबाट संसद् र सरकारसँग सम्बन्धित समसामयिक राजनीतिक विषयमा छलफल गर्न दुवै बैठक आह्वान गरिएको हो । एमाले संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बस्नेछ । बैठकमा संसद्को चालु अधिवेशन, विधेयकहरू, सरकारका कामकारबाही तथा दलका आगामी रणनीतिका विषयमा छलफल हुनेछ । संसदीय दलको बैठक सम्पन्न भएपछि एमालेले साँझ ६ बजे सचिवालय बैठक पनि बोलाएको छ । सचिवालय बैठक पार्टी अध्यक्ष केपी ओलीको गुन्डु निवासमा बस्ने जनाइएको छ । सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठनका गतिविधि, आगामी कार्यक्रमबारे समीक्षा र आवश्यक निर्णय हुने स्रोतले जनाएको छ ।
रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिदै
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ । परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ । रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ । प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ । बन्दसत्र भरतपुरको उद्योग सङ्घ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।