रास्वपाको जनमत असाधारण र लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको जनमत असाधारण र लोभलाग्दो रहेको बताएका छन् । रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नयाँ राजनीतिक शक्तिले प्राप्त गरेको जनमतलाई जोगाएर संस्थागत गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे । विगतमा पनि यस्तै जनमत पाएका केही राजनीतिक दल नेतृत्वको कमजोरीका कारण टिक्न नसकेको उनको भनाइ थियो । 'रास्वपाले प्राप्त गरेको जनमत असाधारण छ, लोभलाग्दो छ । विगतमा पनि केही दलले यस्तै जनमत तीन–चार पटक प्राप्त गरे। तर, त्यो जनमत दुर्घटनामा पर्यो,' उनले भने । थापाले जनमत दुर्घटनामा पर्नुको मुख्य कारण नेतृत्वमा देखिएको उन्माद भएको टिप्पणी गरे । 'कुनै पार्टीले जनमत प्राप्त गर्‍यो, तर पार्टीका नेताको उन्मादका कारण त्यो दुर्घटनामा पर्यो । ती पार्टीले आफूलाई सम्हाल्न सकेनन्। उनीहरू मात्रै असफल भएनन्, जनताले दिएको विश्वास र पसिना पनि खेर गयो,' उनले भने । कांग्रेस र रास्वपाबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुने उल्लेख गर्दै थापाले प्रतिस्पर्धा विचार, नीति र कार्यसम्पादनका आधारमा हुनुपर्ने बताए । 'नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो। हामी तपाईंहरूभन्दा अग्लो बन्न चाहन्छौं। तर, तपाईंहरूलाई फोहोर देखाएर होइन, आफूलाई सफा बनाएर अग्लो हुन चाहन्छौं', उनले भने । थापाले लोकतान्त्रिक संस्कृतिअनुसार सहकार्य र प्रतिस्पर्धा दुवै आवश्यक रहेको उल्लेख गर्दै आवश्यक पर्दा सहयोग र आवश्यक पर्दा खबरदारी गर्ने कांग्रेसको नीति रहने बताए । 'सहयोग गर्ने ठाउँमा सहयोग गर्छौं । आलोचना गर्नुपर्ने ठाउँमा आलोचना गर्छौं। औंला उठाउनुपर्ने ठाउँमा औंला उठाउँछौं,' उनले भने ।

एमालेको प्रश्न : रास्वपाको राजनीतिक सिद्धान्त र वैचारिक दिशा के हो ?

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई आफ्नो राजनीतिक सिद्धान्त र वैचारिक दिशा स्पष्ट गर्न आग्रह गरेका छन् ।  रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले अब आन्दोलनलाई संस्थागत राजनीतिक संगठनमा रूपान्तरण गर्नुपर्ने बेला आएको बताए । उनले रास्वपाले राष्ट्रिय राजनीतिमा आफू कहाँ उभिने भन्ने विषय स्पष्ट पार्नुपर्ने धारणा राखे । 'राष्ट्रिय राजनीतिमा रास्वपा कहाँ उभिन्छ रु यसको राजनीतिक सिद्धान्त के हो रु पार्टी केन्द्रमा उभिन्छ, वामपन्थी धारमा जान्छ, दक्षिणतर्फ ढल्किन्छ वा 'सेन्टर टु राइट' को बाटो रोज्छ ? यी प्रश्नहरूको उत्तर सिंगो देशले खोजिरहेको छ,' ज्ञवालीले भने । उनले निर्वाचनबाट प्राप्त जनादेशलाई सुदृढ लोकतन्त्र निर्माणमा रूपान्तरण गर्नु अहिलेको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जनादेशको रक्षा सबै राजनीतिक दलको साझा दायित्व भएको बताए। 'मत दिने र मत नदिने दुवै जनताको अनुहारमा उज्यालो ल्याउने गरी राजनीति अघि बढ्नुपर्छ', उनले भने। ज्ञवालीले नेपालको भूराजनीतिक अवस्थाप्रति पनि ध्यानाकर्षण गराउँदै छिमेकी मुलुकहरूबीचको सन्तुलित कूटनीति कायम राख्नु आवश्यक रहेको बताए । उनले रास्वपा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्रीको भारत भ्रमणपछि नेपालको भूराजनीतिक अवस्था कस्तो दिशातर्फ जान्छ भन्ने विषय चासोको रहेको उल्लेख गरे । 'नेपालजस्तो मुलुकका लागि भूराजनीतिक दबाब थेग्न सहज हुँदैन । सरकारका केही प्रारम्भिक निर्णयले केही दबाब सिर्जना गरेका छन् । ती विषय अपवादमै सीमित रहून् भन्ने हाम्रो अपेक्षा छ', ज्ञवालीले भने । 

रास्वपा र नेकपाबीच धेरै समानता छन् : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र माओवादी केन्द्रबीच धेरै समानता रहेको बताएका छन्। चितवनको भरतपुरमा जारी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले यस्तो बताएका हुन् । दुवै राजनीतिक शक्तिले स्थापित राजनीतिक निरन्तरतामा क्रमभंग गर्दै नयाँ वैकल्पिक शक्तिका रूपमा उदय भएको उनको भनाइ छ । उनले माओवादी केन्द्रले सशस्त्र जनयुद्ध र राजनीतिक आन्दोलनमार्फत पुरानो राजनीतिक संरचनामा परिवर्तनको एजेन्डा अघि सारेको स्मरण गर्दै रास्वपाले पनि परम्परागत दलप्रतिको जनअसन्तुष्टिलाई सम्बोधन गर्दै नयाँ राजनीतिक शक्तिका रूपमा स्थान बनाएको उल्लेख गरे । ‘माओवादी र रास्वपाबीच धेरै समानता छन्, दुवैले स्थापित राजनीतिक निरन्तरतामा क्रमभंग गरेका छन्,’ उनले भने । पुनले लोकतन्त्रलाई सुदृढ बनाउन नयाँ र पुराना सबै राजनीतिक शक्तिबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको धारणा व्यक्त गरे। उनले जनताका आकांक्षा, सुशासन, पारदर्शिता र विकासका मुद्दालाई केन्द्रमा राखेर अघि बढ्न रास्वपालाई सुझाव पनि दिए । रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएर शुभकामना मन्तव्य राखिरहेका छन् ।