‘६ ज’मार्फत जनताको मन जित्ने एमालेको संकल्प
काठमाडौं । नेकपा एमालेले जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन तथा आगामी स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गर्दै मिसन जागरण अभियान सञ्चालन गर्ने भएको छ । अभियानका लागि पार्टीले ६ ज नीति अघि सारेको छ भने संगठन विस्तारदेखि डिजिटल प्रचारसम्मका रणनीति समेटिएको ३१ पृष्ठ लामो अवधारणापत्र तयारसमेत गरेको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले अभियानको मूल आधार ६ जको नीति हुने बताए । एमालेले अघि सारेको छ जमा जनतामा जाऔं, जनताका कुरा सुनौं, जनप्रिय बनौं, जनसंगठन परिचालन गरौं, जबजलाई आत्मसात गरौं र जनमत सर्वेक्षणका आधारमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य तथा सक्षम नेतृत्व तयार गरौं भन्ने रहेको उनले जानकारी दिए । पार्टीले अभियानमार्फत जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने, संगठनलाई थप सक्रिय बनाउने र निर्वाचन केन्द्रित तयारीलाई व्यवस्थित ढंगले अघि बढाउने रणनीति लिएको छ । एमालेले विशेषगरी डिजिटल संगठन निर्माण र प्रभावकारी प्रचारलाई प्राथमिकतामा राखेको प्रचार प्रमुख आचार्यले जानकारी दिए । आचार्यका अनुसार सामाजिक सञ्जालको अधिकतम प्रयोग गर्न कार्यकर्तालाई निर्देशन दिइएको छ भने अल्गोरिदम र पर्सेप्सन म्यानेजमेन्टमा विशेष ध्यान दिन पनि भनिएको छ । अभियान सफल बनाउन पार्टीका सबै केन्द्रीय सदस्यलाई स्थानीय तहको जिम्मेवारी तोकिएको छ । केन्द्रीय सदस्य नपुगेका स्थानमा अन्य नेताहरूलाई समेत खटाइएको छ । जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा सक्रिय छन् वा छैनन् भन्ने विषयमा नियमित अनुगमनको व्यवस्था गरिएको पार्टीले जनाएको छ । पार्टी नेतृत्वले केन्द्रबाट खटिने नेताहरूलाई होटलमा बस्नुभन्दा जनताकै घरमा बस्न र उनीहरूसँग प्रत्यक्ष संवाद गर्न आग्रहसमेत गरेको छ । यसले जनताको वास्तविक भावना बुझ्न र पार्टीप्रति विश्वास पुनः स्थापित गर्न मद्दत पुग्ने एमालेको अपेक्षा रहेको छ । आचार्यका अनुसार मिसन जागरण अभियान स्थानीय तह तथा प्रदेश निर्वाचन सम्पन्न नहुँदासम्म निरन्तर सञ्चालन हुनेछ । अभियानका लागि तयार गरिएको अवधारणापत्रमा गत निर्वाचनको समीक्षा, पार्टीले भोग्नुपरेको पराजयका कारण, कार्यकर्ता तथा जनतामा देखिएको निराशा र त्यसबाट उत्पन्न राजनीतिक प्रभावको विश्लेषण गरिएको छ । दस्तावेजमा २०७४ सालको निर्वाचनपछि वाम गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी नेकपा गठनबाट उत्साहित बनेको जनमत टिकाउन नसक्दा र पछि एमाले विभाजन हुँदा निराश बढेको निष्कर्ष निकालिएको छ । त्यसको प्रभावस्वरूप मतदाता क्रमशः वैकल्पिक राजनीतिक शक्तितर्फ आकर्षित भएको एमालेको विश्लेषण छ । अवधारणापत्रमा भनिएको छ, २०७४ को आम निर्वाचन र नेकपाको गठनबाट उत्साहित बनेको जनमत नेकपाको विघटन र एमालेको विभाजनबाट निराश हुँदै क्रमशः वैकल्पिक शक्तितर्फ आकर्षित भएको हो । दस्तावेजले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उदयलाई पनि नेपालको अस्थिर राजनीतिक परिस्थिति र भूराजनीतिक प्रभावसँग जोडेर व्याख्या गरेको छ । एमालेले आफू नेतृत्वमा रहेका सरकारहरूले गरेका कामको प्रभावकारी प्रचार हुन नसक्दा त्यसको राजनीतिक लाभ लिन नसकेको निष्कर्ष पनि निकालेको छ । पार्टीका उपलब्धि र नीतिगत काम जनस्तरसम्म पर्याप्त रूपमा नपुग्दा निर्वाचनमा नकारात्मक असर परेको दस्तावेजमा उल्लेख छ । आचार्यका अनुसार अभियानको जिम्मेवारी पाएका नेताहरू वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट हुन, निर्वाचनमा भएको हारका कारण बुझ्न र भावी रणनीतिबारे समान धारणा बनाउन सकून् भन्ने उद्देश्यले विस्तृत तथा सरल भाषामा अवधारणापत्र तयार गरिएको हो । उनले विगतका राजनीतिक उतारचढाव, निर्वाचनपछिको राजनीतिक मूल्यांकन, पार्टी कमजोर हुनुका कारण, देशी–विदेशी प्रभाव, एमालेविरुद्ध सामाजिक सञ्जाल र अल्गोरिदमको प्रयोगजस्ता विषय दस्तावेजमा समेटिएको बताए । ‘एमालेले अब गर्नुपर्ने डिजिटल तयारी, त्यसको प्रभावकारी प्रयोग, जनतासँगको सम्बन्ध सुधार, संगठन सुदृढीकरण र कमिटी प्रणाली सञ्चालनका विधिहरू समेत स्पष्ट रूपमा उल्लेख गरेर मिसन जागरणको दस्तावेज तयार गरेका छौं,’ आचार्यले भने । एमालेले मिसन जागरण अभियानलाई आगामी निर्वाचनको तयारी मात्र नभई जनतासँगको सम्बन्ध पुनस्र्थापना गर्ने दीर्घकालीन राजनीतिक अभियानका रूपमा अघि बढाउने जनाएको छ ।
भारत-नेपाल सीमापार रेल परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक
काठमाडौं । भाररत र नेपालबीच सञ्चालनमा रहेका सीमापार रेलमार्ग परियोजनाको प्रगति समीक्षा तथा रेल क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौंमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ । जेठ २८ र २९ गते काठमाडौंमा आयोजित बैठकमा भारत-नेपालबीचको १०औं परियोजना निर्देशक समिति (प्रोजेक्ट स्टेयरिङ कमिटी-पीएससी) र ८औं संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप-जेडब्ल्युजी) का बैठक सम्पन्न भएका हुन् । बैठकमा सञ्चालनमा रहेका भारत-नेपाल सीमापार रेल सम्पर्क परियोजनाको कार्यान्वयन अवस्था, निर्माण प्रगति तथा आगामी कार्ययोजनाबारे विस्तृत समीक्षा गरिएको थियो । यसका साथै रेल क्षेत्रको समग्र द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा दुवै पक्षबीच छलफल भएको थियो । दुवै देशका प्रतिनिधिमण्डलले सीमापार रेल सञ्जाल विस्तारले नेपाल-भारतबीचको व्यापार, आवागमन, पर्यटन तथा जनस्तरको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका थिए । बैठकमा रेल पूर्वाधार विकास, प्राविधिक सहकार्य र भविष्यका सम्भावित परियोजनाबारे समेत विचार–विमर्श भएको जनाइएको छ । नेपाल र भारतबीच जयनगर-कुर्था-बिजलपुरा रेलमार्ग सञ्चालनमा आइसकेको छ भने थप सीमापार रेल सम्पर्क परियोजनाहरू कार्यान्वयनको विभिन्न चरणमा रहेका छन् । यस्ता परियोजनाले दुई देशबीचको भौतिक पूर्वाधार सञ्जाल विस्तारसँगै आर्थिक साझेदारीलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
कांग्रेसले ६ लाख ८७ हजार क्रियाशील सदस्यको विवरण गर्यो अनुमोदन
काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गरी सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत पौने सात लाख सदस्यको विवरण डिजिटल प्रणालीमा प्रविष्टि गरेको छ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले डिजिटल प्रणालीमा प्रविष्ट भएका ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यहरूको विवरणलाई अनुमोदन गर्दै यो अभियान सफल भएको निष्कर्ष निकालेको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार डिजिटल प्रणालीमा रहेका कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये जेठ २८ गते राति १२ बजेसम्म वडा तहमार्फत अद्यावधिक सम्पन्न भएका र डिजिटल प्रणालीमार्फत स्वयं फाराम भरी वडामा अनुमोदनको प्रक्रियामा रहेकाहरूको विवरण प्रविष्टि भइसकेको छ । यसरी प्रविष्ट भएकामध्ये ५ लाख ३८ हजार ६२२ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन् भने बाँकी १ लाख ४९ हजार ३०९ जनाको स्वयं अद्यावधिक फाराम वडा तहमार्फत प्रक्रियामै रहेको छ । डिजिटल प्रणालीमा अनलाइनमार्फत प्रविष्ट भएका यस्ता फारामहरू आगामी असार ५ गतेभित्र अनुमोदन गरिसक्न समितिले वडा तहहरूलाई कडा निर्देशन दिएको छ । तोकिएको समयसीमाभित्र वडा तहबाट अनुमोदन नभएमा विधानबमोजिम योग्यता पुगेका सदस्यहरूलाई केन्द्रले नै स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाउने निर्णय समेत गरिएको छ । यसैगरी, इन्टरनेटको पहुँच कम भएका उच्च हिमाली तथा विकट पहाडी क्षेत्रका केही पालिका, र अद्यावधिक कार्यमा ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा असार ७ गतेसम्मको समय थप गरिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि असार १० गतेसम्मको अवधि तोकिएको छ भने फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने कार्यलाई आगामी असार २० गतेसम्म निरन्तरता दिइने कांग्रेसले जनाएको छ । यी हुन् सदस्यता व्यवस्थापन केन्द्रीय समितिले गरेका १४ निर्णय: