मधेशी मैदानमा पूर्वप्रधानमन्त्रीदेखि भावी प्रधानमन्त्रीसम्म, कसकसका लागि खुल्ला सिंहदरबारको ढोका ?

काठमाडौं । आगामी २१ फागुनमा हुने निर्वाचनमा मधेश क्षेत्र राजनीतिको केन्द्रबिन्दु बनेको छ । यहाँ पुराना राजनीतिक हस्ती, युवा नेता, दलका शीर्ष नेताहरू र भावी प्रधानमन्त्रीका दाबेदार आमनेसामने छन् । सर्लाही, सप्तरी, धनुषा र रौतहट लगायतका जिल्ला निर्वाचन २०८२ को इपिसेन्टर जस्तै भएका छन् । यी जिल्लाको निर्वाचन परिणामले केवल एक नेताको हारजितको मात्रै अर्थ राख्दैनन् । ती जिल्लाको परिणामले देशको आगामी राजनीतिक समीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने आँकलनसमेत गरिएको छ । यस प्रदेशबाट देशकै राजनीतिक खेलाडी माधवकुमार नेपाल, काठमाडौंबाट मधेश झरेका गगनकुमार थापा र अहिलेसम्म प्रतिनिधि सभाको मुखसम्म देख्न नपाएका नारायणकाजी श्रेष्ठ समेतले मधेशमा आफ्नो भाग्य खोजिरहेका छन् । मधेशका रैथाने नेता अनिल झा, महिन्द्रराय यादव, राजेन्द्र महतो , उपेन्द्र यादव समेतले प्रतिनिधि सभा प्रवेशका लागि मधेशका जनतासँग भोट मागिरहेका छन् ।   महाभीडन्तमा पूर्वसहकर्मी सर्लाही ४ मा कांग्रेस सभापति गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता अमरेशकुमार सिंह आमनेसामने छन् । लामो समयका सहकर्मी थापा र सिंह ह यसपटक एकले अर्कोको बाटो छेक्नेगरी लागेका छन्। यसकारण सर्लाही ४ यसपालि चुनावी हटसिटको रूपमा चिनिएको छ । लामो समयदेखि कांग्रेसवाटै निर्वाचन जित्दै आफ्नो सिंहदरवार यात्रा सहज बनाउँदै आएका सिंह २०७९ को आम निर्वाचनपछि कांग्रेसबाट बिरक्तिएका नेता हुन् । विद्यार्थी राजनितिबाट उदाएका थापा र २०६३ मा सम्पन्न सरकार र माओवादी शान्ति प्रक्रियासँगै राजनीतिक रजतपटमा उदाएका सिंहको संसदीय अनुभव उस्तैउस्तै देखिन्छ । थापाजस्तै सिंहको संसद यात्रा २०६४ को पहिलो संविधान सभाबाटै भएको हो । दुवै समानुपातिक सांसदको रूमा सिंहदरबार प्रवेश गरेका हुन् । २०७० को आमचुनावमा सिंह सर्लाहीबाट र थापा काठमाडौबाट प्रत्यक्ष निर्वाचित भए । दुवैजना तीन÷तीन पटक प्रत्यक्षबाट र एकएक पटक समानुपातिकबाट सिंहदरवारको यात्रा तय गरिसकेका छन् । २०७९ को आम निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि सिंह स्वतन्त्र उम्मेदवार भएर प्रतिस्पर्धामा उत्रिएका थिए । उनले नेपाली कांग्रेसका नागेन्द्र कुमारलाई १ हजार ७६४ मतले पराजित गरेका थिए । उक्त निर्वाचनमा सिंहले २० हजार १७ मत ल्याएका थिए भने नागेन्द्रले १८ हजार २५३ मत ल्याएका थिए । उक्त निर्वाचनको समानुपातिकतर्फ १६ हजार २३ मत ल्याएर कांग्रेस पहिलो भएको थियो । जनमत पार्टी १२ हजार ५९५ मतसहित दोस्रो हुँदा ९ हजार ४७१ मतसहित एमाले तेस्रो भएको थियो । थापा र यादवबाहेक यस क्षेत्रमा अन्य दलका पनि उम्मेदवार मैदानमा छन् । यस निर्वाचनमा एमालेले उम्मेदवारको रूपमा अमनिष यादवलाई अघि सारेको छ । यादव पूर्वसांसद शिवपुजन यादवका छोरा हुन् । यादवको यस क्षेत्रमा आफ्नै पकेट मत रहेको मधेशका जानकार धिरेन्द्र साहले बताए । यसरी पुराना नेता र शीर्ष दलका सभापतिबीचको आमनेसामने प्रतिस्पर्धाले सर्लाही ४ मा  मतदाताको उच्च उत्साह सिर्जना गरेको साहले जानकारी दिए । उनका अनुसार यहाँको मत वितरणले मधेशको आगामी राजनीतिक दिशा निर्धारण गर्न सक्छ । सप्तरी २ : सहकर्मीलाई चुनौती सप्तरी निर्वाचन क्षेत्र नम्वर २ ले यसपालि राजनीतिक प्रतिस्पर्धाको अर्को रूप देखाउने पक्का भएको छ । यस क्षेत्रका प्रमुख उम्मेदवारहरू जनमत पार्टीका अध्यक्ष सिके राउत र स्वाभिमान पार्टीका सतिशकुमार सिंह हुन् । राउत र सिंह निर्वाचन पहिलेसम्म एउटै दलका नेता थिए । राउत जनमत पार्टीका अध्यक्ष र सिंह सोही पार्टीबाटै मधेश प्रदेशको मुख्यमन्त्री थिए । जसपा नेपालका उमेशकुमार यादव र कांग्रेसका रामकुमार यादवसहित एमालेका मोहम्मद जियाउल रहमान पनि यसै क्षेत्रका उम्मेदवार हुन् । यस क्षेत्रमा जनमुक्तिका राउतलाई आफ्नै सहकर्मीले चुनौती दिएका कारण सप्तरी २ को निर्वाचन रोचक मोडमा प्रवेश गरेको छ । गत निर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएका राउतका लागि यो निर्वाचन व्यक्तिगत र पार्टी दुवै दृष्टिले चुनौतीपूर्ण हुनेछ । साहका अनुसार दुई पूर्वसहकर्मीको प्रतिस्पर्धाका कारण मतदाता विभाजित हुन सक्ने सम्भावना छ ।  जसले अन्तिम नतिजामा अप्रत्याशित मोड ल्याउन सक्ने मधेशका जानकार साहले बताए। धनुषा ३ : निवर्तमान सांसद र पार्टी प्रभाव धनुषा ३ मा तीनैजना निवर्तमान सांसद आमनेसामने छन् । यहाँ उम्मेदवारहरू कांग्रेसका पूर्वउपसभापति तथा पूर्वमन्त्री विमलेन्द्र निधि, एमालेका पूर्वमन्त्री जुली महतो र रास्वपाका प्रवक्ता मनीष झा मैदानमा छन् । विधायक र सांसदको अनुभव भएका निधि, महतो र झा तीनैजनाको परिचय यहाँका मतदातामाझ व्यापक छ । विघटित संसदमा निधि र झा समानुपातिकतर्फबाट सांसद थिए भने महतो प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसपालि रास्वपाको प्रवेशले धनुषा ३ मा मधेशको राजनीतिमा थप उत्साह थपेको छ । गत आम निर्वाचनलाई फर्केर हेर्दा यस निर्वाचन क्षेत्रमा कांग्रेस बलियो शक्तिको रूपमा रहेको देखिन्छ ।  गत निर्वाचनमा प्रत्यक्षमा एमालेकी महतोले जित निकालेपनि समानुपातिक मतमा कांग्रेसको प्रभावशाली लिड रहेको देखिन्छ । यस क्षेत्रमा समानुपातिक तर्फ कांग्रेसले २५ हजार १९५ मत प्राप्त गरेको थियो । एमालेले दोस्रो हुँदै १७ हजार ८७४ मत ल्याएको थियो । रास्वपाले १ हजार ८२९ मत ल्याएर आठौं स्थान प्राप्त गरेको थियो । स्थानीय मतदातासमेत रहेका विश्लेषक साहका अनुसार यहाँको निर्वाचन मतदाताको विवेकशील निर्णयमा आधारित हुने अपेक्षा छ । पुराना सांसद र युवा नेताबीचको प्रतिस्पर्धाले यहाँको राजनीति मतदाता केन्द्रित रहने साहले बताए । रौतहटमा नेपाल र झाको भीडन्त रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव नेपाल र कांग्रेसका अनिल झाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका पूर्वमहासचिव समेत रहेका र एमालेबाटै प्रधानमन्त्री समेत भएका नेपाल पछिल्लो समय नेकपा माओवादी केन्द्रसँग एकता गर्दै रौतहटबाट सिंहदरबारको टिकट पक्का गर्ने दाउमा छन् । उनी यसभन्दा अगाडि नेपाललाई काउन्टर गर्ने झा पनि नेपाल सद्भावना पार्टी, राजपा नेपाल हुँदै मनोनयनभन्दा केही समय पहिले कांग्रेस प्रवेश गरेर टिकट पाएका नेता हुन् । मधेशको समग्र राजनीतिक परिदृश्य मधेश क्षेत्रको निर्वाचनले पुराना नेता र नयाँ नेतृत्व, पार्टी, शीर्ष नेताहरू र भावी प्रधानमन्त्रीका दाबेदारहरूलाई आमनेसामने ल्याएको छ । सर्लाही, सप्तरी, धनुषा र रौतहट क्षेत्रमा यसपटक भेट्रान उम्मेदवारहरू मैदानमा छन् । नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्वमन्त्री राजेन्द्र महतोले पनि यसै प्रदेशबाट आफ्नो राजनीतिक भविष्य खोज्दैछन् । विशेषतः सर्लाही ४ र सर्लाही २ मा पुराना र नयाँ नेतृत्वको भीडन्तले मतदातामा उत्साह बढाएको मधेशका अर्का जानकार डा. शिवशंकर यादवले जानकारी दिए । सप्तरी २ र धनुषा ३ मा सहकर्मी तथा निवर्तमान सांसदबीचको द्वन्द्वले प्रतिस्पर्धालाई अझ रोचक बनाएको उनको दाबी छ । डा. यादवका अनुसार मधेश क्षेत्रको परिणामले आगामी संघीय सरकार गठनमा महत्वपूर्ण असर पार्ने सम्भावना छ ।

प्रधानमन्त्री कार्की र नर्वेली राजदूत म्योसबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नर्वेली राजदूत ड्याग्नी म्योसको शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सम्पन्न भेटमा दुईपक्षीय आपसी हितका विषयमा कुराकानी भएको थियो । उक्त अवसरमा राजदूत म्योसले नेपालका प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्कीलाई पाउँदा खुसी व्यक्त गर्दै उनको नेतृत्वमा आगामी निर्वाचन निर्बाध सम्पन्न हुने विश्वास व्यक्त गरे ।  नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, जलवायु, दिगो विकास लगायत क्षेत्रमा नर्वेले सघाउँदै आएको स्मरण गराउँदै उनले आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गरे । प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा आफू सरकारमा आउनुपरेको बताइन् । उनले मुलुक सामान्य अवस्थामा फर्किएसँगै चुनावमा होमिएको बताइन् ।  नर्वेसहित अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त विश्वास र समर्थनका लागि उनले धन्यवाद पनि दिइन् । प्रधानमन्त्री कार्कीसँग राजदूत म्योसको यो पहिलो भेट हो ।

विजय र भगवतीको टक्करमा रास्वपाको फरक रणनीति, यस्तो छ सुनसरी-३ को चुनावी विश्लेषण

काठमाडौं । विजय गच्छदारको सुनसरी-३ मा प्रतिनिधि सभाको निर्वाचनमा टिकट अनिश्चितजस्तै थियो । किनभने नेपाली कांग्रेसमा शक्तिको सत्ता फेरिएको थियो । गच्छदार राजनीतिमा निर्वतमान सभापति शेरबहादुर पक्षधर थिए । उनी पूर्वउपसभापति समेत थिए ।  कांग्रेसको विशेष महाधिवेशनले नेतृत्व फेरिसकेको छ । गगन थापा सभापति बनेर टिकट बाँडेका छन् । टिकट पाइसकेर धेरै उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् । विजय गच्छदारले सुनसरी–३ बाट उम्मेदवारी दिँदै आएका थिए । आफ्नो गढ मानिएको ठाउँमा उनलाई जान सधैं हतारो हुन्थ्यो । यसपालि पनि त्यस्तै भयो जहाँ उनलाई उम्मेदवारी दर्ता गर्नु थियो ।  यसपटक भने गच्छदार अलमलमा परेका थिए, टिकट पाउने हुँ कि नपाउने भनेर । किनभने उनलाई पार्टीभित्र शक्तिक्षीण भएको महसुस भएको थियो । उनी सधैं राज्य र पार्टीको शक्तिमा थिए । पार्टीले पनि सुनसरी ३ नम्बर क्षेत्रमा दुई जनाको नाममा टिकट वितरण गर्‍यो ।  विजयकुमार गच्छदार र नगर सभापति वेदनारायण गच्छदारले टिकट पाए । दुवै जना टिकट लिएर निर्वाचन क्षेत्र पुगे । निर्वाचन आयोगमा केही समय उम्मेदवारी दर्ता हुन सकेन । वेदनारायण गच्छदार दुहबी नगरपालिकाका मेयरसमेत हुन् । गच्छदारले अन्तिम पटक भएको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरे । उनको आग्रहपछि विजयकुमार मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगे । विजय गच्छदार गत प्रतिनिधि सभाको निर्वाचनमा एमालेकी उम्मेदवार भगवती चौधरीसँग पराजित बनेका थिए । उनले ३५ हजार ६०० मत पाएका थिए । गत निर्वाचनमा उनले चुनावी इतिहासमा पहिलोपटक हार बेहोरेका थिए । छैठौं पटक जित हासिल गरेपछि गच्छदारले सातौं पटकमा निर्वाचनको परिणाममा फेल खाएका हुन् ।  यसपटक भने उनै गच्छदार एमालेकी उम्मेदवारसँग बदला लिने तयारीमा छन् । जसले गर्दा राज्य शक्तिबाट च्युत भए पनि पार्टीबाट शक्ति गुमाएनन् । कुनै समय सुनसरीमा कांग्रेस भन्नु नै गच्छदार थिए । गच्छदारले आफ्नो शक्ति र मत चिन्न नसक्दा जनताको पराजित बन्न पुगेका थिए । अन्तिम पटकको चुनावी लडाइँमा लागेका उनी आफ्नो पक्ष मत ल्याउने छन् । उनी इतिहास दोहोर्‍याउने दाउमा छन् । गच्छदारको सत्ता तोड्ने चौधरी नेकपा एमालेकी उम्मेदवार भगवती चौधरी यसपटक पुनः जित हासिल गर्न कस्सिएकी छन् । गत निर्वाचनमा उनी ४० हजार ७८८ मत प्राप्त गरी विजयी भएकी थिइन् । उनले गच्छदारलाई निर्वाचनमा हराइनन् मात्र उनको सुनसरीमा देखिने सत्ताको शक्तिलाई समेत हराएकी थिइन् ।  ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेको छ । चौधरीलाई आदिवासी समुदायको सूचीमा राखिएको छ । सोही ठाउँबाट उनले साहसी महिलाको रूपमा विजयी झण्डा फहराउँदै र हात हल्लाउँदै संसदमा छिरिन् ।  चौधरीले संसदमा मात्र पाइला राखिनन् । पहिलोपटक बालुवाटारमा मन्त्रीको हैसियतले आफ्नो उपस्थिति जनाइन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत भइन् । आफ्नो कार्यकालमा सामाजिक न्याय, समावेशीकरण र संरक्षणका क्षेत्रमा उल्लेखनीय नीतिगत पहल गरेको चौधरीको भनाइ छ । उनले महिला उद्यमशीलता, सामाजिक न्याय र सुशासनका सवालमा छोटो कार्यकालमा सार्वजनिक स्थानमा राम्रो काम गरेको दाबी गर्दै आएकी छन् । एमालेकी उम्मेदवार भगवती चौधरी ।  चौधरी अर्थतन्त्र, सामाजिक विकास र अन्तर्राष्ट्रिय समन्वयमा अनुभव हासिल गरेकी उनी युवाहरू तथा महिलाहरूको स्वरोजगार र आत्मनिर्भरताको सवालमा निरन्तर क्रियाशील रहँदै आएकी छन् । राजनीतिलाई पेसा–व्यवसायभन्दा पनि समाजसेवा र नीति निर्माणमा काम गर्ने थलो बनाइनु पर्ने नेतृ चौधरी बेला–बेलामा बताउने गर्छिन् । असफल नेताहरूको मत तान्ने रणनीतिमा रास्वपा सोही क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोककुमार चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । यसपटक उनी सोही क्षेत्रमा विगतमा विजयी भएकाहरू असफल भएको भन्दै आएका छन् । उक्त क्षेत्रलाई सबैभन्दा बढी रोचक मानिएको छ ।  जेनजी आन्दोलनपछि नेपालको राजनीति परिदृश्य बदलिएको छ । नयाँ–नयाँ राजनीतिक दलको उदय भएकाले आफ्नो स्थान बलियो बनाउन खोजेका छन् । गत निर्वाचनमा ठूला दलले गठबन्धन गरेका थिए । यसपटक सबै दलले आफ्नो उम्मेदवार उठाएका छन् । गठबन्धन नगरेका कारण पनि आगामी निर्वाचनमा आफ्नो पक्षमा परिणाम हासिल गर्ने गरेर हौसिएका छन् । सुनसरी ३ का मतदातासँग मत माग्दै रास्वपाका उम्मेदवार अशोककुमार चौधरी ।  चुनावी एजेण्डामा नयाँ-नयाँ मुद्दा र अनुहार देखिएका छन् । निर्वाचनमा युवा उम्मेदवारको संख्या बढी छ । पछिल्लो समय मुलुकमा रास्वपाको माहोल राम्रो बन्दै गएको देखिन्छ । राम्रो माहोल बनिरहेका बेला रास्वपाका उम्मेदवार अशोककुमार आफ्नो पक्षमा मत परिणाम ल्याउन खोजिरहेका छन् । गत निर्वाचनमा रास्वपाका उम्मेदवारले ६ हजार चार सय ५३ मत प्राप्त गरेका थिए । चौधरी असन्तुष्ट मतदाताहरूको मत आफूतिर तान्ने पक्षमा छन् । गच्छदार र चौधरीसँग रुष्ट बनेका मतदाताहरूलाई घण्टीमा मत हाल्न लगाएर चौधरी विजयीको पथमा लम्किने दाउमा छन् । कस्तो छ पार्टीको माहोल ? नेपाली कांग्रेस दुहबी नगर कार्य समितिका सभापति वेदनारायण गच्छदारले यसपटक नेपाली कांग्रेसको उम्मेदवारले सहजै विजयी हासिल गर्ने दाबी गरेका छन् । ०४८ सालदेखि निर्वाचित भएको उम्मेदवार यस क्षेत्रमा उम्मेदवार रहेकाले विजयी हुनेमा कांग्रेस ढुक्क रहेको उनी बताउँछन् । एमालेको मत पनि धेरै बिग्रेकाले कांग्रेसले मत बढाउन सक्ने गच्छदारले विश्वास व्यक्त गरे । गत निर्वाचनमा विजयी भएको उम्मेदवारले यस क्षेत्रमा केही नगरेकाले मतदाताहरू सचेत भइसकेको उनले बताए । उनी भन्छन्, ‘यसपालि रास्वपाले मत बढाउँछ । तर, हामीलाई असर पर्दैन । दुवै ठूला–ठूला दलको मत काट्ने छ ।’ नेपाली कांग्रेस रूपान्तरित भएर निर्वाचनमा गएकाले जित सुनिश्चित रहेको उनको बुझाइ छ । विकासप्रेमी र अनुभवी राजनीतिज्ञ रहेकाले यस क्षेत्रका लागि योग्य उम्मेदवार पार्टीले उठाएको उनको ठहर छ ।  ३ नम्बर क्षेत्रका मतदाता कपिल घिमिरे यस क्षेत्रमा निर्वाचन कडा प्रतिस्पर्धा हुने देखिएको बताउँछन् । एमालेकी उम्मेदवार भगवती चौधरीलाई हेभीवेटको रूपमा लिएको उनले बताए । ‘उनले राम्रो काम गरेकाले पनि एमालेकी उम्मेदवारको विजयी हुने सम्भावना रहेको छ,’ घिमिरेले भने, ‘नेपाली कांग्रेसका विजय गच्छदार अर्का उम्मेदवार भए पनि सर्वसाधारणप्रति राम्रो धारणा बनेको छैन ।’ घिमिरेले काम र कार्यक्रमको आधारमा भगवती चौधरी क्षमतावान भएको उनको विश्लेषण छ । रास्वपाले एमालेको मत नकाट्ने उनले विश्वास व्यक्त गरे । रास्वपाले कांग्रेसको मत काट्ने उनको तर्क छ ।  रास्वपा समर्थित स्थानीय हीरामणि घिमिरेले पार्टीको संगठन विस्तार गरिरहेको बताए । ‘गत निर्वाचनमा उम्मेदवारीको मनोनयन गर्दा ५ जना थिए अहिले सयौंको भीड छ,’ उनले भने । रास्वपाप्रति स्थानीय मतदाता सकारात्मक रहेको घिमिरेले बताए । यस क्षेत्रको मतदाताले परिवर्तन खोजेको उनले उल्लेख गरे । रास्वपाकै ठूल्ठूला राजनीति दलका उम्मेदवारलाई मतदाता प्रश्न गर्न सक्ने भइसकेको उनको भनाइ छ । ३ नम्बर क्षेत्रमा चौधरी समुदायको बाहुल्यता रहेकाले ठूला दलका उम्मेदवारले प्रभावमा पार्न नसकेमा रास्वपाकै उम्मेदवारले सहजै जित हासिल गर्न सक्ने घिमिरेले बताए ।  सुनसरी ३ नम्बर क्षेत्रमा २३ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल कम्युनिष्ट पार्टीबाट दुर्गेश कुमार चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट घनश्याम गुरुङ्, जनता समाजवादी पार्टी नेपालबाट बद्रीप्रसाद यादव, जनमत पार्टी राम नारायण थारु, नेपाल मजदुर किसान पार्टीबाट प्रकृति बासी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौड्याल, मंगोल नेशनल अर्गनाइजेशनबाट दिप बहादुर तामाङ्ग, समावेशी समाजवादी पार्टी नेपाल किशोर कुमार विश्वास, श्रम संस्कृति पार्टीबाट रामप्रसाद सदा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट आसुतोष ढुङ्गेल चुनावी मैदानमा छन् ।  यस्तै, सार्वभौम नागरिक पार्टीबाट कृष्ण कुमार चौधरी,  उज्यालो नेपाल पार्टीबाट जागेश्वर यादव,  नागरिक उन्मुक्ति पार्टीबाट बासुदेव साहु तेली, आम जनता पार्टीबाट रोहन कुमार शाह, स्वतन्त्र उम्मेदवार कासनी थरुनी,  स्वतन्त्र उम्मेदवार कुमारी उराव, स्वतन्त्र उम्मेदवार चीतनारायण चौधरी, स्वतन्त्र उम्मेदवार राजन कुमार गौतम, स्वतन्त्र उम्मेदवार श्याम कुमार मुडियारी र स्वतन्त्र उम्मेदवार सुमन कुमार चौधरी रहेका छन् । जिल्ला निर्वाचन आयोग सुनसरीका अनुसार ३ नम्बर क्षेत्रमा कुल १ लाख ३४ हजार ३०२ मतदाता रहेका छन् । सोही क्षेत्रमा ४४ मतदान स्थल र १ सय ४६ मतदान केन्द्र रहेका छन् ।