आज पनि सकेन कांग्रेसले संसदीय दलको नेता चयन गर्न
काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शुक्रबार बसेको बैठकमा नेतृत्व चयनबारे प्रारम्भिक छलफल भएको निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले जानकारी दिए । दलको नेताका लागि अर्जुननरसिंह केसी र भीष्मराज आङ्देम्बे प्रमुख दाबेदारका रूपमा देखिएका छन् । साथै मोहन आचार्यदेखि निस्कल राईसम्मका नेताहरूको नाम पनि चर्चामा रहेको छ । ‘सम्भवतः भोलि सहमतिका साथ दलको नेता चयन हुन्छ,’ सोलुखुम्बुका सांसद प्रकाशसिंह कार्कीले भने । उनका अनुसार स्पष्ट मापदण्डसहित भोलि कांग्रेसले दलको नेता पाउनेछ । प्रतिनिधि सभामा कांग्रेसका ३८ सांसद रहेका छन् । पार्टीले सकेसम्म सर्वसम्मत रूपमा दलको नेता चयन गर्ने प्रयास गरिरहेको कार्कीले जानकारी दिए । सहमति जुट्न नसके निर्वाचन प्रक्रियामार्फत टुंगो लगाइने कार्कीले जानकारी दिए । सहमहामन्त्री रसाइलीका अनुसार सहमतिको प्रयासलाई निरन्तरता दिँदै भोलि पुनः दाबेदारहरूसँग छलफल गरिनेछ । उनले भने, ‘नेता चयन प्रक्रिया सुरु भइसकेको छ, तर आज टुंगो लागेन । भोलि फेरि छलफल गरेर सहमति खोज्ने प्रयास गर्छौं ।
ओलीका विश्वासपात्र ढकाल पूर्वराष्ट्रपति भण्डारीको कार्यालयमा
काठमाडौं । नेकपा एमालेका सचिव भानुभक्त ढकाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उनको सम्पर्क कार्यालयमा पुगेका छन् । ढकालसहित विभिन्न जनसंगठनका शीर्ष नेताहरूको टोली पूर्वराष्ट्रपति भण्डारीसँग भेट गर्न नयाँ बानेश्वर पुगेका हुन् । ढकाललाई पार्टी अध्यक्ष केपी शर्मा ओलीका नजिकका नेता मानिन्छ । उनी एमालेका तत्कालीन महासचिव तथा पति मदन भण्डारी स्मृतिको स्मृति दिवस मनाउने विषयमा छलफल गर्न नयाँ बानेश्वरस्थित भण्डारीको कार्यालय पुगेको भण्डारीको सचिवालयले जनाएको छ । मदन भण्डारीको ३२ वर्ष पहिले दासढुङ्गामा गाडी दुर्घटनामा परी निधन भएको थियो । उनी एमालेले अँगालेको जनताको बहुदलीय जनवादका प्रतिपादक हुन् ।
संसदीय समितिहरूले पाए पूर्णता, अधिकांशमा रास्वपाको वर्चस्व
काठमाडौं । संघीय संसद् अन्तर्गतका संसदीय समितिहरूले पूर्णता पाएका छन् । शुक्रबार १२ वटा संसदीय समितिको सभापति चयन भएसँगै समितिहरूले पूर्णता पाएका हुन् । शुक्रबार १० वटा समितिमा सर्वसम्मत रूपमा सभापति चयन भएको घोषणा गरीएको हो । दुई वटा समितिले भने मतदान प्रक्रियाबाट नेतृत्व टुंग्याएका छन् । सर्वसम्मत रूपमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापति आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापति आकृति अवस्थी निर्वाचित भए । संसदीय सुनुवाइ समिति सभापतिमा बोधनारायण श्रेष्ठ, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा सुम्निमा उदास तथा अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी सर्वसम्मत चयन भएका छन् । यी सबैै निर्वाचित सभापतिहरु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु हुन् । सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । रास्वपाको समर्थन प्राप्त गरेका खड्काको एकल उम्मेदवारी परेको थियो । बाँकी दुई समितिमा भने प्रतिस्पर्धा भएको थियो । राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिका लागि रास्वपाका गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीकी मदनकुमारी शाह गरिमा बीच प्रतिस्पर्धा भएकोमा रास्वपाको बहुमतका आधारमा कार्की निर्वाचित भएका हुन् । प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा भएको थियो । यसमा पनि रास्वपाकै बहुमतका कारण शेरचन विजयी भइन् ।