शिक्षा स्वास्थ्य समितिको सभापतिमा ओजस्वी शेरचन निर्वाचित

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की डा. ओजस्वी शेरचन निर्वाचित भएकी छन् ।  शुक्रबार सम्पन्न निर्वाचनमा नेकपा एमालेका उम्मेदवार गुरु बराललाई पराजित गर्दै शेरचन सभापतिमा विजयी भएकी हुन् । बराललाई नेपाली कांग्रेस र नेकपाको समर्थन रहे पनि आवश्यक मत जुटाउन नसक्दा उनी अल्पमतमा परेका हुन् । निर्वाचन परिणाम सार्वजनिक भएपछि बरालले विजयी शेरचनलाई बधाई दिएका छन् । समितिको बैठक ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको थियो ।

संसदीय समितिमा एमाले र नेकपालाई मतदान गर्न कांग्रेसको उर्दी

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समितिमा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लाई सघाउन उर्दी जारी गरेको छ । कांग्रेसले आज हुने निर्वाचनका लागि सांसदहरुलाई उर्दी जारी गर्दै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा नेकपा (एमाले)का उमेदवार गुरु बरालका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ ।  यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति (संयुक्त) सभापतिमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उमेदवार मदनकुमारी शाहका पक्षमा मतदान गर्न निर्देशन दिइएको हो ।  प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पद भने प्रतिपक्षलाई दिइने परम्परालाई रास्वपाले नेपाली कांग्रेसलाई दिने निर्णय गरेको थियो । नेकपा, एमाले र नेकपाले पनि सार्वजनिक लेखा समितिमा कांग्रेसलाई सघाउने निर्णय गरेका  थिए  । सो निर्णयपछि कांग्रेस एमाले र नेकपालाई मतदान गर्न तयार भएको हो ।  यस्तै, कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरेको समितिले सांसदहरूलाई छलफलका निम्ति बोलाएको छ । शुक्रबार दिउँसो ३ बजे दलको नेताबारे छलफल गर्न सांसदहरूलाई बोलाइएको सहमहामन्त्री प्रकाश स्नेहीले जानकारी दिए ।   

संसदीय दलको नेता चयन गर्न कांग्रेस सक्रिय, आज सांसदहरूसँग निर्णायक छलफल

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि गठन गरिएको समितिले प्रतिनिधि सभाका सांसदहरूसँग शुक्रवार (आज) छलफल गर्ने भएको छ । समितिका संयोजक प्रकाश स्नेहीका अनुसार आज अपरान्ह ३ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा पार्टीका सबै सांसदहरूसँग छलफल तय गरिएको छ । संसदीय दलको नेता चयन प्रक्रियालाई अघि बढाउने उद्देश्यले उक्त बैठक आयोजना गरिएको सहमहामन्त्री समेत रहेका स्नेहीले जानकारी दिए ।  कांग्रेसले दलको नेता निर्वाचन गर्न नसक्दा संवैधानिक परिषदसमेत अपूर्ण रहेको छ ।