एनएडीईपी लघुवित्तले ३० प्रतिशत आईपीओ निष्काशन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । एनएडीईपी लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार मात्रै यस संस्थालाई अंकित मूल्य १००को ४ लाख ८० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले दिएको अनुमति अनुसार संस्थाले चार करोड ८० लाख रुपैयाँकाे आइपीओ निष्कासन गर्ने भएको छ । सो मात्राको आईपीओ निष्कासन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड रहेको छ ।

शुक्रबार मात्रै ९ कम्पनीको २ करोड ९० लाख सेयर सूचिकृत, सबैभन्दा बढी हकप्रद

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न ९ वटा बैंक तथा वित्तीय संस्थाको २ करोड ९० लाख ५२ हजार ५३ कित्ता सेयर सूचिकृत भएका छन् । उक्त विभिन्न कम्पनीको बोनस र हकप्रद गरी शुक्रबार(एकैदिन) मात्र सो मात्राको सेयर सूचिकृत भएको हो । त्यसमध्ये सबैभन्दा बढी हकप्रद सेयर थपिएका छन् । २ कम्पनीको गरी २ करोड २१ लाख ८३ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत भएका छन् । हकप्रद सेयर सूचिकृत गर्नेमा पोखरा फाइनान्स र प्रभु बैंक लि. रहेका छन् । त्यस्तै, कूल सूचिकृत सेयर मध्ये विभिन्न ७ कम्पनीको ६८ लाख ६९ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएका छन् । जसमध्ये सबैभन्दा बढी शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको २७ लाख ५७ हजार २३१ कित्ता बोनस सेयर रहेको छ ।

मार्जिन ट्रेडिङ कार्यविधि पास, जेठदेखि कारोबार सुबिधा, बढ्ला त सेयर बजार ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ कार्यविधि पास गरेको छ । बिहीबार धितोपत्र बोर्ड सञ्चालक समितिले कार्यविधि पारित गरेको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । कार्यविधि पास भएसँगै आगामी जेठ महिनाभत्रै योग्यता पुगेका ब्रोकरहरुले मार्जिन कारोबार गर्न सक्ने भएका छन् । उक्त कार्यविधि तत्काल कार्यान्यनमा ल्याउन बाेर्डले जेठ ३ गते नै नेप्सेलाई निर्देशन दिएको छ । बाेर्डको निर्देशन बमोजिम नेप्सेले छिट्टै उक्त कार्यविधि कार्यान्वयनमा ल्याउने र सोबाट धितोपत्रको दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डको विश्वास छ । दक्षिण एसियाका कतिपय मुलुकहरुमा समेत कार्यान्वयनमा आइनसकेको यो सुविधाबाट दोस्रो बजारको तरलतामा अभिबृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद बिक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुनगई धितोपत्र कारोवार बढी गतिशिल हुन मद्दत पुग्ने बोर्डको अपेक्षा रहेको छ । मार्जिन ट्रेडिङको सुबिधाले सेयर बजारको विकास र स्थायीत्वमा सहयोग पुग्ने अनुमान गरिएको छ । तर मार्जिन कारोबार सम्बन्धी निर्देशन अनुसार थोरै ब्रोकर कम्पनीले मात्रै यो सुबिधा दिन सक्ने सेयर ब्रोकरहरुको भनाई छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुप लगानीकर्तालाई मार्जिन कारोवार सुविधा उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले बोर्डले मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन २०७४ र कार्यविधि २०७५ जारी गरेको बोर्डले जनाएको छ ।