कामना सेवा विकास बैंकको असोज २४ गते बुक क्लोज, विशेष साधारणसभामा जाँदै
काठमाडौं । कामना सेवा विकास बैंकको अगामी असोज २४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन बैंकको बुक क्लोज गर्न लागेको हो । कम्पनी अगामी कात्तिक १ गते विशेष साधारणसभामा जाँदै छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । उक्त हकप्रद सेयर पारित गर्ने प्रयोजनको लागि बैंकले कात्तिक १ गते विशेष साधारणसभा बोलाएको हाे। हाल बैंकको चुक्तापुँजी २ अर्ब ६ करोड २७ लाख रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन बैंकले चुक्तापुँजी बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्छ । कामना र सेवा हालसालै मर्जरमा गएका हुन् ।
सिनर्जी फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने, चुक्ता पूँजी ८० करोड पर्याउने
काठमाडौं । सिनर्जी फाइनान्सले ७० प्रतिशत (१ः०.७० को अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी ८० करोड रुपैयाँ पर्याउने प्रयोजनको लागि हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । उक्त निणर्य असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि गर्ने निर्देशन बमोजिम सो निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४१ रुपैयाँ रहेको छ ।
एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १को सेयर मूल्य समायोजन, प्रतिकित्ता १२ रुपैयाँ मात्र
काठमाडौं । सोमबार एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १को सेयर मूल्य समायोजन भएको छ । नेप्सेले फण्डको २१.०५ प्रतिशत नगद लाभांश पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको यस म्यूचल फण्डको सेयर मूल्य प्रतिकित्ता १२.४४ रुपैयाँ तोकिएको छ ।