सिटी एक्स्प्रेस फाइनान्सको १६७ प्रतिशत हकप्रद पारित, संचालकमा दुई जना निर्वाचित
काठमाडौं । सिटी एक्स्प्रेस फाइनान्स कम्पनी लिमिटेडको प्रस्तावित १६७ प्रतिशत हकप्रद सेयर पारित भएको छ । हालै सम्पन्न संस्थाको १२औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १ः१.६७ दरले हकप्रद जारी गर्ने प्रस्तावलाई पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । १६५ प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३९ करोड रुपैयाँ पुग्ने छ । नेपाल राष्ट्र बैंकले तोकेको समय सिमा भित्र चुक्ता पूँजी ८० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्न लागिएको अध्यक्ष चन्द्र टण्डनले जानकारी गराएका छन् । साथै, सभाले संस्थापक समूहको तर्फबाट दुई जना संचालक अजेश कोइराला र ऋषिराम पौडेल निर्वाचित गरेको छ ।
अचानक किन घट्यो त मंगलबारको सेयर कारोबार ? यस्ताे छ कारण
काठमाडौं । ग्राहक पहिचान विवरण ( केवाइसी) का कारण मंगलबार सेयर कारोबारमा भारी गिरावट आएको छ । दिनभरको बजारमा जम्मा १४ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २८ करोड रुपैयाँ घटी हो । सोमबार कुल ४२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । केवाइसीका कारणले मंगलबारको सेयर कारोबारमा गिरावट आएको एक ब्रोकरले बताए । फोनका भरमा केवाइसी अद्यावधिक गर्न सकिने भएपछि ग्राहकले चासो नदेखाउदा कारोबार गर्न नपाएको उनको भनाई छ । सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुको केवाइसी अद्यावधिक नगर्नेलाई कारोबार गर्न रोक लगाएको छ । “धितोपत्र बोर्डले आजदेखि केवाइसी अनिवार्य गरेपछि यस्तो समस्या आएको हाे” ती ब्रोकरले भने । मंगलबारदेखि लागु हुने गरी अद्यावधिक गर्न बोर्डको निर्देशन बमोजिम ब्रोकर कार्यालयले आफ्ना नियमित कारोबार गर्ने लगानीकर्ताको कारोबार रोकेका थिए । जसले गर्दा सेयर कारोबारमा भारी गिरावट देखिएको हो । सो दिनको बजारमा जम्मा १४३ कम्पनीको ३ लाख १९ हजार कित्ता सेयर कारोबार भएको छ । जबकी अन्य दिनमा १६० भन्दा बढी कम्पनीको सेयर किनबेच हुने गरेको थियो । मंगलबार सबैभन्दा बढी मिर्मिरे माईक्रोफाइनान्स डेभलपमेन्ट बैंकको ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । धितोपत्र बोर्डले साढे ४ करोड रुपैयाँ बराबरको ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न दिएपछि मिर्मिरेको बढी सेयर कारोबार भएको हो । मिर्मिरेको ३ हजार २९४ रुपैयाँको सेयर १०० रुपैयाँमा पाइने भएपछि बढी सेयर खरिद भएको अनुमान गरिएको छ ।
३५ प्रतिशत हकप्रद पछि सिद्धार्थ इन्स्योरेन्सको सेयर मूल्य समायोजन
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको ३५ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले कम्पनीको सो मात्राको सेयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५२.५९ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १०२३.८० रुपैयाँ रहेको थियो । हाल कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ ।